सूचना प्रविधिमा लगानी बढाउँदै साइबर स्पेसलाई सुरक्षित बनाउन सरकार दृढ छ : मन्त्री शर्मा

बिजमाण्डू
२०८१ बैशाख २० गते ०८:०९ | May 2, 2024
सूचना प्रविधिमा लगानी बढाउँदै साइबर स्पेसलाई सुरक्षित बनाउन सरकार दृढ छ : मन्त्री शर्मा

काठमाडौं । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस। ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नाराका साथ आज देशभर यो दिवस मनाइँदैछ।

Tata
GBIME
Nepal Life

यो अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधि प्रयोगको विस्तार तीव्र गतिमा भइरहेको भन्दै राज्यले नागरिकलाई उपलब्ध गराउने सेवाहरु सूचना प्रविधिमैत्री हुँदै गइरहेका बताएकी छिन्।

शुभकामना सन्देशमा उनले हाल विभिन्न सार्वजनिक सेवामा विद्युतीय प्रणालीको उपयोग बढेको र दैनिक जीवनमा प्रयोग हुने आधारभूत सेवादेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वका कार्यहरुमा विद्युतीय प्रणालीको उपयोग बढेको बताएकी हुन्।

‘डिजिटल भुक्तानी प्रणालीको विकास र उपयोगलाई अझै तीब्र र प्रभावकारी बनाउन सरकारले आधारभूत डिजिटल पूर्वाधारको रुपमा देशभर दूरसञ्चार सेवाको पहुँच विस्तारलाई जोड दिएको छ,’ उनले सन्देशमा भनेकी छिन्।

सूचना प्रविधिको क्षेत्रमा लगानी वृद्धि गर्ने गर्दै आवश्यक नीति, कानुन र पूर्वाधार विकासका लागि सरकार दृढतापूर्वक अघि बढेको उनको भनाइ छ।

साइबर स्पेसलाई सुरक्षित र व्यवस्थित गर्ने उद्देश्यले पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरिएको उनले उल्लेख गरेकी छन्। यस्तै, राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना भएको र सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक तर्जुमाको काम भइरहेको पनि बताइन्। समयअनुकूल बनाउन हाल दूरसञ्चार ऐनको पुनरावलोकन गर्ने काम पनि भइरहेको उनले जानकारी दिएकी छन्।

‘सूचना तथा सञ्चार प्रविधि नीति, २०७२, दूरसञ्चार नीति, २०६० र ब्रोडब्याण्ड नीति, २०७१ लाई पुनरावलोकन गरि एकीकृत नीति तर्जुमा गर्ने कार्य भइरहेको छ,’ सन्देशमा उल्लेख छ।

सञ्चार तथा सूचना प्रविधिको प्रयोगबाट नै मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिन्छ भन्ने कुरामा सरकार दृढ भएको उनले बताएकी छिन्।

‘तीब्र विकास र उच्च आर्थिक वृद्धिका लागि धेरै भन्दा धेरै सूचना प्रविधिको उपयोग गरी आर्थिक तथा सामाजिक क्षेत्रमा रूपान्तरण गर्ने विश्वासका साथ सुरु गरिएको डिजिटल नेपाल फ्रेमवर्क २०७६ लाई आवश्यक परिमार्जन गरेर हरेक क्षेत्रलाई डिजिटलाइजेसन गर्दै डिजिटल रुपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्ने सरकारको स्पष्ट लक्ष्य रहेको छ,’ उनको सन्देशमा उल्लेख छ।