विकास साझेदारले भने- नेपालमा लगानीको वातावरण छ, दलहरु एक ठाउँमा उभिनु प्रशंसनीय

बिजमाण्डू
२०८१ बैशाख १७ गते १६:३७ | Apr 29, 2024
विकास साझेदारले भने- नेपालमा लगानीको वातावरण छ, दलहरु एक ठाउँमा उभिनु प्रशंसनीय

काठमाडौं। विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको बताएका छन्।

Tata
GBIME
Nepal Life

लगानी सम्मेलनमा सहभागी विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सहित विकास साझेदार संस्थाका प्रतिनिधिले सोमबार अर्थमन्त्री वर्षमान पुनसँग साइडलाइट वार्ताका क्रममा लगानीको वातावरण बनेको बताएको मन्त्रीको सचिवालयले जनाएको छ।

त्यस क्रममा उनीहरुले सरकारले हालैमात्र कानुनी र प्रक्रियागत सुधारका लागि चालेका कदमले लगनीको वातावरण बनेको बताए। लगानीकर्तालाई विश्वासमा लिन अध्यादेशमार्फत आइतबार भूमि, जग्गा प्राप्ति लगायत विभिन्न ८ वटा कानुन संशोधन गरिएको थियो।

विकास साझेदार संस्थाका प्रतिनिधिले राजनीतिक दलबाट व्यक्त धारणाको पनि खुलेरै प्रशंसा गरे। विकासका सन्दर्भमा सत्तारुढ र प्रतिपक्षी दलको समान धारणा देखिएको भन्दै उनीहरुले प्रशंसा गरेका हुन्।

सम्मेलनको पहिलो दिन सत्तारुढ र प्रतिपक्षी दलका नेताले नेपाल लगानीको आकर्षक गन्तव्य भएको र लगानीकर्ताले झेल्ने समस्या समाधानका एक ठाउँमा उभिने बताएका थिए। उनीहरुले कुनै कानुनी अड्चन देखिए सुधार गर्ने आश्वासन पनि दिएका थिए।

दलहरुमा देखिएको विकास र लगानीप्रतिको ऐक्यबद्धताले लगानीकर्तामा उत्साह थपिएको विकास साझेदार संस्थाका प्रतिनिधिको भनाइ थियो।