नेपाललाई वेस्ट इण्डिज ‘ए’को १६१ रनको लक्ष्य, अन्तिम दुई ओभरमै बन्यो ४१ रन

बिजमाण्डू
२०८१ बैशाख १६ गते १४:०४ | Apr 28, 2024
नेपाललाई वेस्ट इण्डिज ‘ए’को १६१ रनको लक्ष्य, अन्तिम दुई ओभरमै बन्यो ४१ रन
वेस्ट इण्डिज ‘ए’विरुद्ध फिल्डिङमा नेपाल। तस्बिर : क्यान।

काठमाडौं। वेस्ट इण्डिज ‘ए’ले नेपालसामू १ सय ६१ रनको चुनौती प्रस्तुत गरेको छ। ५ खेलको टी-२० सिरिज अन्तर्गत दोस्रो खेलमा टस जितेर ब्याटिङमा उत्रिएको वेस्ट इण्डिज ‘ए’ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनाएको हो।

Tata
GBIME
Nepal Life

टस जितेर ब्याटिङमा उत्रिएको वेस्ट इण्डिजले औसत सुरुवात गरे पनि गुडाकेश मोटिइको विस्फोटक ब्याटिङले अन्तिम दुई ओभरमै ४१ रन बनाउन सफल भयो। १९ औँ ओभरमा आकाश चन्दले १९ रन र अन्तिम ओभरमा दीपेन्द्रसिंह ऐरीले २२ रन खर्चिए।

सुरुवाती ब्याटिङमा उत्रिएको वेस्ट इण्डिज ‘ए’का दुवै ओपनरलाई सागर ढकालले सामान्य स्कोरमा आउट गराउँदा नेपालले सुरुबाटै मोमेन्टम आफ्नो पक्षमा ल्याउन सफल भएको थियो। उनले पहिलो विकेटका रुपमा ६ रन बनाएका एलिक एथानेजलाई २.२ ओभरमा कुशल मल्लबाट क्याचआउट गराएका थिए। त्यस्तै २.५ ओभरमा ११ रन बनाएका जोन्सन चार्ल्सलाई बोल्ड आउट गरेका थिए।

त्यसपछि आएका आन्द्रे फ्लेचरले सर्वाधिक ४३ रन बनाए। यसक्रममा उनले ३६ बलमा ३ छक्का प्रहार गरे। उनलाई दीपेन्द्रसिंह ऐरीले लोकेश बमबाट क्याचआउट गराएका थिए। त्यस्तै, कप्तान रोस्टन चेजले २३ तथा केसी कार्टीले १० रन बनाए।

१७.५ ओभरमा आन्द्रे फ्लेचरको विकेट गुम्दा ११५-७ को अवस्थामा रहेको वेस्ट इण्डिजको स्कोर गुडाकेशले उकासे। उनी ८ बल फेस गर्दा ४ वटा छक्का र दुईवटा चौका प्रहार गर्दै ३३ रनमा अविजित रहे।

वेस्ट इण्डिज टोलीविरुद्ध कसिलो बलिङ गर्ने क्रममा नेपालका सागर ढकाल र कुशल भुर्तेलले समान २ विकेट लिँदा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए।

नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ। सिरिजको पहिलो खेलमा नेपालले ४ विकेटको जित निकालेको थियो।