जनकपुरका ‘अम्बानी’माथि सम्पत्ति शुद्धीकरणको छानबिन, बैंकहरुबाट मागियो विवरण, ज्योतिले झुक्यायो

सुदर्शन सापकोटा
२०८१ बैशाख २ गते १५:४३ | Apr 14, 2024
जनकपुरका ‘अम्बानी’माथि सम्पत्ति शुद्धीकरणको छानबिन, बैंकहरुबाट मागियो विवरण, ज्योतिले झुक्यायो

काठमाडौं। बैंकहरुबाट ऋण लगेर त्यसको चरम दूरुपयोग भएको पाइएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जनकपुरमा ‘अम्बानी’ भनेर चिनिने दिनेशकुमार महतोमाथि अनुसन्धान सुरु गरेको छ।

Tata
GBIME
Nepal Life

महतोले ऋण चलाएका तीन वटा बैंकसँग विभागले सम्पूर्ण विवरणका साथै ‘बैंक स्टेटमेन्ट’ मागेको छ। महतोले कुमारी बैंक, हिमालयन बैंक र ज्योति विकास बैंकबाट ऋण चलाएर त्यसको चरम दूरुपयोग गरेको समाचार बिजमाण्डूले लेखेको थियो।

केही दिनअघि महतो विभाग पुगेका थिए। उनले त्यहाँ प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीलाई भेटेका थिए। प्रहरी संगठनभित्र पकड जमाएका महतो विभागले अनुसन्धान सुरु गरेको सुइँको पाएपछि पङ्गेनीलाई भेट‍्न गएका हुन्।

विभागमा प्रहरीका तर्फबाट पनि अनुसन्धान अधिकृत हुन्छन्। अहिले प्रहरीतर्फको नेतृत्व पङ्गेनीले गरिरहेका छन्।  

विभागले तीन वटा बैंकलाई पत्र लेख्दै विवरण माग गरेकामा दुई वटाले उपलब्ध गराएका छन्। तीनमध्ये हिमालयन र कुमारी बैंकले सबै विवरण उपलब्ध गराएका छन् भने ज्योति विकास बैंकले आफ्नोमा महतोको कुनै ऋण नरहेको जवाफ पठाएको छ।

हिमालयन र कुमारी बैंकले भने बैंक स्टेटमेन्ट, कम्पनीको कारोबारसहित मोटो फाइल पठाएका छन्। विभागले कसको (प्रमुख कार्यकारी अधिकृत) पालामा कति ऋण दिएको, त्यो ऋण स्वीकृत गर्दा क-कसको भूमिका थियो लगायत प्रश्‍नसहित विवरण मागेको थियो।

ज्योति विकास बैंकले महतोले ऋण नलिएको भने पनि बिजलपुरामा रहेको हंस कृषि फर्म प्रालिलाई ऋण दिएको छ। यसको सम्पूर्ण कारोबार महतोले नै हेर्छन्। ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले जनकपुरका ‘अम्बानी’ अर्थात महतोसँग डिल गरेका थिए।

हिमालयन र कुमारी बैंकले दिएको ऋण समस्यामा रहेको अवस्थामा महतोलाई ज्योति विकासले सोझै दिन मिल्दैनथ्यो। कर्जा सूचना केन्द्रमा ऋण समस्यामा रहेको देखिँदा देखिँदै पैसा दिँदा बैंक व्यवस्थापनमाथि बैंकिङ कसुर ऐन आकर्षित हुन्थ्यो।

त्यसैले बैंक व्यवस्थापनकै सल्लाहमा महतोले चलाउने गरी उनकी दाईकी छोरीको नाममा कम्पनी किनाइएको थियो। त्यही किन्ने बेलामा ज्योतिले ऋण दिएको हो। महतोका दाई भङ्गाहा नगरपालिकामा वडाध्यक्ष छन्।

‘उहाँ (दिनेशकुमार) को नाममा त केही मात्र कम्पनी छन्, धेरै त उहाँले अरुको नाममा राख्नु हुन्छ। तर हिसाबकिताब, बैंकको चेक भने उहाँसँगै हुन्छ,’ महतोसँग काम गरेका एक कर्मचारीले भने, ‘कृषि फर्म उहाँको भतिजीको नाममा छ। अरु कम्पनी पनि छन्, केहीबाहेक सबै आफन्तहरुकै नाममा छ। तर चलाउने उहाँले नै हो।’

त्यो कृषि फर्ममा १३ करोड रुपैयाँ लगानी गरेकामा ज्योति विकास बैंकको १० करोड रुपैयाँ डुबेको थियो। त्यहाँ माछा पालिएका छन्। अन्य उत्पादन केही पनि छैन। 

ढल्केवरमा बसाई खोलासँगै जोडिएको एभरेष्ट वायर इन्डष्ट्रिजका नाममा हिमालयन बैंक एक्लैको ५७ करोड रुपैयाँ डुबेको छ। १० करोड रुपैयाँभन्दा कम मूल्यमा सर्राफ समूहसँग महतोले एभरेष्ट वायर किनेका थिए। उनले कुमारी बैंकबाट पनि झण्डै एक अर्ब ८० करोड रुपैयाँ हाराहारी ऋण चलाएका छन्। कुमारीले भने सबै ऋणको शतप्रतिशत नोक्सानी व्यवस्थापन गरिसकेको छ।

महतोको एभरेष्ट बैंकमा पनि ऋण छ। उनले ३ करोडको गाडी किन्न ऋण लिएका थिए। त्यो ऋण केही अघिसम्म नियमित थिएन। त्यसपछि एभरेष्ट बैंकले उनले चढेको गाडी खोस्न प्रहरीलाई पत्राचार गरेको थियो। त्यो थाहा पाएपछि महतोले त्यहाँको ऋण किस्ता तिरेर नियमित गराएका छन्।