जनकपुरका ‘अम्बानी’ जसको ऋण अर्को बैंकमा सर्दा भएको थियो हर्षबढाइँ

सुदर्शन सापकोटा
२०८० चैत्र ६ गते ०९:३० | Mar 19, 2024
जनकपुरका ‘अम्बानी’ जसको ऋण अर्को बैंकमा सर्दा भएको थियो हर्षबढाइँ

काठमाडौं । तीन वर्ष अगाडि जनकपुरको एउटा राम्रो रेष्टुरेन्टमा बैंकरहरुले जमेर पार्टी गरे। अक्सर ‘विकेन्ड’ मा बैंकरहरुको पार्टी हुने गर्थ्यो नै, तर त्यो पार्टी विशेष थियो। सिटिजन्स बैंकका कर्मचारीले गरेको पार्टी थियो त्यो। लगत्तै एभरेष्ट बैंकका कर्मचारीहरुले पनि पार्टी गरे। खुसी मनाए।

Tata
GBIME
Nepal Life

एउटा बैंकको ‘बिजनेस’ अर्कोले खोस्दा सम्बन्धित ब्राञ्च म्यानेजर र त्यहाँका आरएम (ऋण शाखाका कर्मचारी) दु:खी हुन्छन्। तर, त्यहाँ उल्टो भयो। भएको बिजनेस अर्कोले लगिँदा ठूलो हर्षबढाइँ भयो।

कारण थियो – उनीहरुलाई केही समयदेखि तनावमा पार्ने ऋण अर्को बैंकमा सरेको थियो।  सिटिजन्स बैंक इन्टरनेशनलबाट हिमालयन बैंक र एभरेष्टबाट कुमारी बैंकमा ऋण सरेको थियो।

ऋण अरु कसैको नभएर स्थानीय बजारमा ‘अम्बानी’ भनेर चिनिएका दिनेशकुमार महतोको थियो।

***

महतोले लामो समय मुम्बईमा ‘मेकानिक’ को काम गरे। बिजुलीको काम गर्न जान्ने भएकाले उनी फर्किएर विराटनगर अन्नपुर्ण केवलमा काम गर्न थाले। त्यसपछि उनी जनकपुर फर्किए।

जनकपुरस्थित एभरेष्ट बैंकका शाखा प्रबन्धकसँग महतोको भेटघाट भयो। अनि सुरु भयो उनको उद्योगीको यात्रा।

ती शाखा प्रबन्धक ‘ह्याङ्‍कीप्याङ्‍की’ मा राम्रैसँग बद्‍नाम छन्। शाखा प्रबन्धकले व्यवसायका लागि ‘प्लान’ कसरी बनाउने, ब्यालेन्सिट कसरी मिलाउने, बैंकसँग कसरी ‘एप्रोच’ गर्ने, कसरी आफ्नो व्यवसायको महत्व देखाउने भनेर राम्रोसँग ‘कोचिङ’ लिए।

लामो योजनापछि उनैले महतोलाई ऋण दिलाए। त्यसमा हेडक्वाटरमा रहेका गिरिश कोहोलीले पनि सघाए। उनी संयुक्त लगानीको पञ्जाव नेशनल बैंक (पीएनबी) बाट खटिएका कर्मचारी थिए। कोभिड-१९ का बेलामा स्वीकृति नलिइ यात्रा गरेको बहानामा उनलाई  फिर्ता पठाइएको थियो। तर, भित्र भने महतोको गडबडवाला ऋणमा सघाएको आरोपमा फिर्ता पठाएको भन्ने चर्चा छ।

एभरेष्ट बैंकबाट महतोको ऋण यात्रा सुरु हुन्छ। त्यसपछि उनी पुग्छन् सिटिजन्स बैंक। ‘टार्गेट’ बोकेर गएका ब्रान्च म्यानेजरहरु महतोको आतिथ्यतामा यस्तरी मोहित हुन्छन् कि उनले मागेभन्दा बढी ऋण सजिलै दिलाइदिन्छन्। 

सम्बन्धित समाचार : न राम्रो धितो, न व्यावसायिक क्षमता, आखिर बैंकले कसरी दिन्छन् अढाई अर्ब ऋण?

उनले ढल्केवरमा २०७२ सालतिर करिश्मा इलेक्ट्रिकल्स नामको पसल सुरु गरेका थिए।  बिजुलीको पसल चलाउँदा चलाउँदै उनले २०७५ सालमा अल्फा वायर नामको उद्योगमा हात हालेका थिए। 

उनले ऋण व्यापार बढाएर होइन्, उद्योग थपेर बढाउन थाले। ढल्केवरमा राजमार्गभन्दा धेरै नै भित्र बसाई खोलाको बगरमा उनको एक बिघा जग्गामा अल्फा वायर छ।

अल्फा वायर चलाउन थालेपछि त्यही खोलाकै बगरमा रहेको अर्को एभरेष्ट उद्योग उनले सर्राफ समूहसँग खरिद गरे। एभरेष्टसँगै उनले रिलायन्स केबल लिए भने २०७७ सालमा देवी इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स फेब्रिकेसन कम्पनी पनि बनाए।

उनीसँग करिश्मा इलेक्ट्रोनिक्स मात्रै छैन्, तीनकुने हार्डवेयर, मिथिला हार्डवेयर पनि छ। त्यसैगरी महोत्तरीमा अजाद पेट्रोलपम्प र बर्दिवासमा कलश पेट्रोल पम्प पनि उनले नै चलाउँछन्।

ज्योति फस्यो कि फसाइयो?

ऋणको सिलसिलामा उनी कुमारी बैंक, हिमालयन बैंक हुँदै ज्योति विकास बैंकसम्म पुग्छन्।

‘महतोसँग यस्तो अद्भुत क्षमता छ, उनले बैंकरलाई चाँडै नै प्रभावित पार्न सक्छन्,’ जनकपुरमा लामो समय बसेका एक बैंकरले सुनाए, ‘आतिथ्यता उस्तै गर्छन्, शक्तिको प्रभावमा पनि उस्तै गरि पार्छन्। त्यसैले नाइ भन्नै सकिँदैन।’

एनआइसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतबाट कपिल ढकाल ज्योति विकास बैंक पुगे – केही समयपछि प्रमुख कार्यकारी अधिकृत हुने आश्वासन सहित।

तत्कालिन डेपुटी प्रमुख कार्यकारी अधि‍कृत ढकाललाई व्यापार व्यवसाय बढाउनु पर्ने थियो भने केही बिग्रिएका ऋणलाई नियमित गराउनु पर्ने थियो।

जनकपुरमा एउटा कृषि फर्मले ऋण नतिरेको धेरै भइसकेको थियो। १० करोड रुपैयाँभन्दा बढी ऋण डुबेको थियो। त्यो ऋणलाई नियमित गराउन भन्दै ढकाल जनकपुर विमानस्थल ल्यान्ड भए। 

त्यहाँ उनको राम्रै खातिरदारी भयो। महतोलाई उनले प्रस्ताव गरे – तपाइँ अरु क्षेत्रमा हुनु हुन्छ, अब कृषितिर पनि आउनुस्।

महतोलाई व्यापार व्यवसायभन्दा पनि चाहिएको पैसा थियो। आँगनमै आएर कसैले पैसा लैजा भन्दा महतोले नाइ भन्ने कुरो भएन।

ढकालले सुझाव दिए – कृषि फर्म डुबेको छ। यसलाई तपाइँ अक्वायर गर्नुस्। त्यसका लागि हामी ऋण दिन्छौं। यो ‘ट्रिक’ ले ऋण पनि बढ्ने र ब्याज पनि नियमित हुन्थ्यो। खराब कर्जामा वर्गीकरण गरेर नोक्सानी व्यवस्थापन गर्नु पर्ने ऋणलाई ढकालको ‘ट्रिक’ ले ‘ग्रिन’ बनाइदियो।

बैंकबाट उनले लिएको ऋण दोस्रो किस्तापछि तिर्न छाडेका  छन्। पोहोर चैतमा गएको ऋण उठ्ने अवस्था छैन। किनभने त्यो व्यवसायका लागि नभइ ‘फुर्माइस’का लागि लिइएको ऋण थियो। स्रोतका अनुसार बैंकको १३ करोड रुपैयाँ ऋण डुबेको छ।

ढल्केवरमा बसाई खोलासँगै जोडिएको एभरेष्ट वायर इन्डष्ट्रिजका नाममा हिमालयन बैंक एक्लैको ५७ करोड डुबेको छ। १० करोड रुपैयाँभन्दा कम मूल्यमा सराफ समूहसँग महतोले एभरेष्ट वायर किनेका थिए। उनले कुमारी बैंकबाट पनि झण्डै एक अर्ब ८० करोड रुपैयाँ हाराहारी ऋण चलाएका छन्। कुमारीले भने सबै ऋणको नोक्शानी ब्यवस्थापन गरिसकेको छ।

प्रोजेक्ट जन्माउन खप्पिस

डेढ/दुई वर्षअघि बैंकहरुमा तरलता अभाव हुँदै गएपछि ऋण लगानी रोकियो। बैंकहरुले नियामकीय प्रावधान अनुसारको कृषिलगायतका क्षेत्रबाहेक अन्यमा ऋण रोक्न थालिसकेका थिए।

महतोले पनि ऋण पाउन छाडे। बैंकका शाखा प्रबन्धकहरुसँग बाक्लै उठबस गर्ने महतोलाई थाहा भयो – कृषि क्षेत्रमा ऋण गइरहेको छ। एभरेष्ट वायर छेवैको खोला तरेपछि उनले एउटा जग्गा देखाए बैंकरलाई। बन्जर जमिनमा उनले व्यवसायिक योजना सुनाउन थाले।

‘यहाँ म हाँस, कुखुरा, माछादेखि अन्नवाली पनि लगाउँछु’ महतोको कुरा सम्झिँदै एक शाखा प्रबन्धकले सुनाए, ‘उनले जलविद्युतमा ऋण दिन्छन् भन्ने थाहा पाएको भए त्यो खोलाको पानीबाट बिजुली निकाल्छु पनि भन्न भ्याउँथे। उनी पैसाका लागि तत्काल परियोजना जन्माउन सक्ने मान्छे हुन्।’

बैंकरलाई प्रभावित पार्न उनले त्यहाँ ऋण मिलाए बापत ‘कट’ (कमिसन)को पनि प्रस्ताव राख्थे। त्यसपछि उनले ‘फलानो बैंकको फलानोलाई मैले नै यति पैसा दिएँ’ भनेर सुनाउन थाल्थे।

महतोले ऋणका लागि प्रभावित गर्न आफ्नो साढे तीन करोड पर्ने गाडीको पछाडिबाट ‘गोल्ड लेभल’ मदिरा झिकेर आफै सर्भ गर्छन्। त्यहाँ लोकल कुखुरा काटिन्छ। माछा तारिन्छ। महतोको भव्य आतिथ्यता नपाउने स्थानीय बैंकर कमै होलान्। काठमाडौंबाट जानेहरुले पनि भव्य आतिथ्यता पाउँछन्। त्यही आतिथ्यता, राजनीतिक उठबसकै कारण केही करोड पनि धितो नराखी अर्बौं ऋण लिन उनी सफल भएका छन्।