पर्सामा चालु आर्थिक वर्षको ९ महिनामा भन्सार छलेर ल्याइएका ५६ करोडका सामान बरामद

बिजमाण्डू
२०८१ बैशाख २ गते १२:१७ | Apr 14, 2024
पर्सामा चालु आर्थिक वर्षको ९ महिनामा भन्सार छलेर ल्याइएका ५६ करोडका सामान बरामद
फाइल फोटो।

वीरगंज। पर्साका प्रशासनले चालु आर्थिक वर्षको ९ महिनामा ५६ करोड १ लाख ६ हजार ९ सय रुपैयाँ बराबरका राजस्व छलेर ल्याइएका सामान बरामद गरेको छ।

Tata
GBIME
Nepal Life

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त र बेग्लाबेग्लै टोलीले उक्त अवधिमा भन्सार छली गरेका तथा बिलबिजकबमोजिम नभएका सामान बरामद गरेको हो। पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले ५६ करोड रुपैयाँभन्दा बढीका अवैध सामान बरामद गरिएको बताए।

उनले भने, ‘जिल्लाको १ सय ७ किलोमिटर क्षेत्र भारतसँग खुला सिमाना जोडिएको छ। सीमित सुरक्षाकर्मीको सहयोगमा चोरी पैठारी नियन्त्रण गरिरहेका छौँ।’

नेपाल प्रहरीले हालसम्म अवैध चोरी तस्करी तथा बिलबिजकभन्दा धेरै सामान ल्याएको भन्दै ३६ करोड ३९ लाख ८९ हजार ९ सय ६९ रुपैयाँ बराबरका सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बलले पनि चोरी तस्करी तथा बिलबिजकअनुसार नभएका १९ करोड ६१ लाख १६ हजार ४० रुपैयाँबराबरका सामान नियन्त्रणमा लिएको छ।

आव २०७८/७९ मा २३ करोड ४९ लाख २१ हजार १ सय ४५ रुपैयाँ मूल्य पर्ने सामान नियन्त्रणमा लिइएको थियो। आव २०७९/८० मा ४८ करोड ९ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ बराबरका सामान बरामद भएको थियो।

प्रमुख जिल्ला अधिकारी भुसालले आपराधिक गतिविधि नियन्त्रणका निम्ति आफ्ना भारतीय समकक्षीसँग पनि मासिक रुपमा बैठक गर्दै आएको बताए। दशगजामा खेतीपाती, पशुहाट कुखुरा फार्म, माछा पोखरीलगायत संरचना निर्माण हुँदा अवाञ्छित गतिविधि नियन्त्रण चुनौतीपूर्ण बनेको उनले बताए।

सीमा सुरक्षा र त्यहाँ हुने अवैध कारोबार रोक्न संयुक्त गस्ती र बजार अनुगमन नियमित रूपमा भइरहका छ। रासस