लाइसेन्स छाप्न ‘ब्ल्याकमेलिङ’ गरेको मद्रास सेक्युरिटी कसरी बाध्य भयो पछाडि हट्न ?

शुक्र गिरी
२०८० चैत्र ३० गते १३:३७ | Apr 12, 2024
लाइसेन्स छाप्न ‘ब्ल्याकमेलिङ’ गरेको मद्रास सेक्युरिटी कसरी बाध्य भयो पछाडि हट्न ?

काठमाडौं। १२ लाख स्मार्ट लाइसेन्स छाप्‍न ४० हजार डलरका लागि ‘ब्ल्याकमेलिङ’ गर्दै आएको मद्रास सेक्युरिटी प्रिन्टर्स अन्तत: पछि हटेको छ।

Tata
GBIME
Nepal Life

यातायात व्यवस्था विभागले कालोसूचीमा राख्ने चेतावनी दिएपछि कम्पनी स्मार्ट लाइसेन्स छपाइका लागि तयार भएको हो।

जर्मन कम्पनीले पुस अन्तिम साता उपलब्ध गराएको स्मार्ट कार्ड पर्सनालाइज्ड गर्न लाइसेन्स छपाइको जिम्मा लिएको मद्रास सेक्युरिटीले विभागले ४० हजार डलर नदिएको भनेर काम गर्न मानेको थिएन।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आफूले जिम्मेवारी सम्हालेको केही दिनमा विभागका महानिर्देशक उद्धवप्रसाद रिजाललाई बोलाएर १२ लाख कार्ड उपलब्ध हुँदा पनि लाइसेन्सको छपाइ नहुनु लाजमर्दो विषय भएको भन्दै कुनै हालतमा काम अगाडि बढाउन निर्देशन दिएका थिए।

त्यसपछि विभागले मद्रास सेक्युरिटी प्रिन्टर्सलाई कालोसूचीमा राख्ने चेतावनी दिएको हो। कालोसूचीमा पर्ने कम्पनीले तोकिएको अवधिसम्म सरकारी ठेक्कामा प्रतिस्पर्धा गर्नै पाउँदैन। विभागको चेतावनीपछि मद्रास सेक्युरिटी प्रिन्टर्सले १२ लाख स्मार्ट कार्ड पर्सनलाइज्ड गरेको छ।

विभागका महानिर्देशक रिजालले कार्ड पर्सनलाइज्ड गर्ने काम सकिएको बताए। ‘मद्रास सेक्युरिटीले १२ लाख नयाँ कार्ड प्रिन्ट हुने गरी पर्सनलाइज्ड गरिदिएको छ,’ उनले भने।

मद्रास सेक्युरिटी प्रिन्टर्स लाइसेन्स छाप्ने ठेक्का पाएको कम्पनी हो। यो कम्पनीसँग विभागले २०७० असोज तेस्रो साता सम्झौता गरेको थियो। त्यसको दुई वर्षपछि कम्पनीले सफ्टवेयर तयार पारेर छपाइ थालेको थियो।

२०७२ मंसिर १४ देखि स्मार्ट लाइसेन्सको वितरण सुरु गरिएको थियो। त्यतिखेर सफ्टवेयर डिजाइन, निर्माण, हार्डवेयर जडान र छपाइका साथै स्मार्ट कार्ड आपूर्तिको पनि जिम्मा पाएको मद्रास सेक्युरिटी प्रिन्टर्स १५ महिनाअघि १२ लाख स्मार्ट कार्ड उपलब्ध गराउन १९ करोडको ठेक्का जर्मन कम्पनी म्युहलबौयर आईडी सर्भिस जीएमबीएचले पाएपछि बिच्किएको थियो। जसका कारण उसले कार्डमा कैफियत जनाएर पर्सनलाइज्ड गर्न अस्वीकार गर्दै आएको थियो।

जर्मन कम्पनीले कार्ड प्रिन्ट गर्न ‘मास्टर कि’ अर्थात आफ्नो इन्टरनल सोर्स कोड र चिपका लागि प्रयोग हुने ‘युनिभर्सल सोर्स कोड’ समेत उपलब्ध गराएपछि मद्रास सेक्युरिटीले पर्सनलाइज्ड गर्न ४० हजार डलर मागेको थियो। युनिभर्सल कोडको ‘एक्सेस’ले संसारको जुनसुकै चिप भएको कार्ड जुनसुकै मेसिनबाट प्रिन्ट गर्न सकिन्छ।

विभागले पर्सनलाइज्ड गरेर परीक्षणका लागि १५० वटा कार्ड जर्मनी पठाएको छ। ‘पहिलो र दोस्रो चरणमा आएको ६/६ लाख कार्डमध्ये ७५/७५ वटा निकालेर हामीले ल्याब टेष्टका लागि जर्मनी पठाएका छौं,’ महानिर्देशक रिजालले भने, ‘५० वटा इनकोडिङ र इनग्रेडिङ गरेर तथा १०० वटा जस्ताको तस्तै पठाइएकामा जर्मनको फल्गा ल्याबमा पुगेको कन्फर्मेसन आएको छ।’

इनग्रेडिङ भनेको कार्डमा अक्षर वा नम्बर लेख्ने वा लेजरिङ गर्ने हो। यस्तै कार्डमा भएको चिप्समा डेटा राख्ने कामलाई इनकोडिङ भनिन्छ। ल्याब टेष्टबाट कार्डको गुणस्तरदेखि कोडिङ तथा डेटाहरु ठिक भए/नभएको यकिन हुन्छ।

महानिर्देशक रिजालले जर्मनीबाट ल्याब टेष्टको रिपोर्ट आएपछि लाइसेन्सको छपाइ थाल्ने बताए। उनका अनुसार अबको १ सातामा ल्याब टेष्टको रिपोर्ट आउँछ।

दैनिक ५ हजार हाराहारी लाइसेन्स छाप्ने विभागको तयारी छ। ‘हामीले वैशाख दोस्रो सातादेखि फुल फेजमा लाइसेन्स प्रिन्ट गर्ने तयारी गरिरहेका छौं,’ उनले भने। स्मार्ट लाइसेन्स पर्खेर बस्ने सेवाग्राहीको संख्या १६ लाख नाघिसकेको छ।