नेपाल टेलिकमले सुन्धारा क्षेत्रमा बन्द गर्‍यो तामाको तारबाट प्रवाह हुने सेवा, फाइबरमा रुपान्तरण

बिजमाण्डू
२०८० चैत्र २२ गते १६:३१ | Apr 4, 2024
नेपाल टेलिकमले सुन्धारा क्षेत्रमा बन्द गर्‍यो तामाको तारबाट प्रवाह हुने सेवा, फाइबरमा रुपान्तरण

काठमाडौं। नेपाल टेलिकमले दूरसञ्चार कार्यालय सुन्धाराको क्षेत्राधिकार भित्रपर्ने सम्पूर्ण स्थानहरुमा सञ्चालित पुरानो कपर प्रविधिमा आधारित आधारभूत टेलिफोन (पीएसटीए) सेवालाई फाइबर टू दी होम (एफटीटीएच) प्रविधिमा स्तरोन्नति गरेको छ। बिहीबार सुन्धारामा आयोजित एक कार्यक्रममा निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले कपर प्रविधिको टेलिफोन सेवाको स्वीच अफ गरी सो सेवा बन्द गरेकी छिन्।

Tata
GBIME
Nepal Life

कपर प्रविधिबाट वितरित टेलिफोन तथा एडीएसएल लाइनहरु पूर्ण रुपमा आधुनिक फाइबर प्रविधि नेटवर्कमा रुपान्तरण गरिएसँगै कपर नेटवर्क बन्द गरिएको टेलिकमले जनाएको छ। 

निमित्त प्रबन्ध निर्देशक अर्यालले टेलिकम क्षेत्रमा प्रविधि रुपान्तरण आवश्यक रहेकोले त्यसैको निरन्तरता तथा समयको मागअनुरुप पुरानो कपर प्रविधिलाई आधुनिक फाइबर प्रविधिमा रुपान्तरण गरिएकोमा खुसी व्यक्त गरिन्।

अत्याधुनिक प्रविधिको एनटी फाइबरमार्फत एउटै तारबाट तीव्र गतिको इन्टरनेट, टेलिफोन र टेलिभिजन सेवा समेत प्राप्त गर्न सक्ने भएकोले यो सेवा ग्राहकहरुका लागि फलदायी हुने विश्वास कम्पनीको छ।