एभरेष्ट बैंक र नेपाल क्लियरिङ हाउसबीच क्रस बोर्डर डिजिटल भुक्तानीका लागि सम्झौता

बिजमाण्डू
२०८० चैत्र २ गते १४:२७ | Mar 15, 2024
एभरेष्ट बैंक र नेपाल क्लियरिङ हाउसबीच क्रस बोर्डर डिजिटल भुक्तानीका लागि सम्झौता

काठमाडौं। एभरेष्ट बैंक र नेपाल क्लियरिङ हाउसबीच क्रस बोर्डर डिजिटल भुक्तानीका लागि सम्झौता भएको छ।

Tata
GBIME
Nepal Life

बिहीबार समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरी महत्वपूर्ण साझेदारीलाई औपचारिक रूप दिइएको हो। यसबाट नेपाल र भारतबीच यात्रा गर्ने व्यवसायी, विद्यार्थी र पर्यटकहरू लगायतका लागि डिजिटल कारोबार सुव्यवस्थित हुने लक्ष्य लिइएको छ।

एमओयू हस्ताक्षर कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान सहभागी थिए।

बैंकले यस रणनीतिक साझेदारीले दुई देशबीचको भुक्तानीलाई थप सहज बनाउँदै लैजाने आशा व्यक्त गरेको छ। बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी बैंकका ग्राहकहरूले नेपाल र भारतमा कारोबार सहज र तत्काल गर्न सक्नेछन्। यो दुवै देशबीचको वित्तीय कनेक्टिभिटीका लागि महत्वपूर्ण रहेको बताइएको छ।

यस सम्झौताले विशेष गरी हजारौं विद्यार्थीहरू, लाखौं पर्यटक, तीर्थयात्रीहरू र भारतमा चिकित्सा उपचारका लागि जाने व्यक्तिहरूलाई विशेष लाभ पुर्‍याउने बैंकले विश्वास व्यक्त गरेको छ। बैंकले यस सम्झौताले दुई देशबीच हुने वित्तीय कारोबारका कठिनाइहरू हटाउने र सहजता सुनिश्चित गर्ने लक्ष्य राखेको छ।

एभरेष्ट बैंकले भारतीय नागरिकहरूबाट क्यूआर पेमेन्टहरू स्वीकृत गर्न थालिसकेको छ। जसले भारतबाट नेपालमा यात्रा गर्दा भारतीय नागरिकहरूले फोनपे, भिम एप, वा गुगल पे एपहरु जस्ता प्रसिद्ध प्लेटफर्महरू प्रयोग गरी भुक्तानी गर्न सक्नेछन्।

बैंक र नेपाल क्लियरिङ हाउसबीचको सहकार्यले डिजिटल पेमेन्ट परिदृश्यलाई वृद्धि गर्ने दिशामा एक महत्वपूर्ण कदमको प्रतिनिधित्व गर्दछ। जसले व्यक्ति र व्यवसायहरूलाई परिष्कृत सुविधा र पहुँचका साथ समान रूपमा सशक्त बनाउने अपेक्षा गरिएको छ।

बैंकले देशभर रहेका १२८ शाखा, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६४ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट तथा एसएमएस बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ। बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।