भारतले भन्यो-‘अझै एक वर्ष प्लाई बोर्ड निकासीमा बीआईएस प्रावधान चाहिँदैन’

अनन्तराज न्यौपाने
२०८० चैत्र १ गते १५:४० | Mar 14, 2024
भारतले भन्यो-‘अझै एक वर्ष प्लाई बोर्ड निकासीमा बीआईएस प्रावधान चाहिँदैन’

विराटनगर। भारत सरकारले नेपालबाट निकासी हुने प्लाई बोर्डमा ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड(बीआईएस) प्रावधान एक वर्षसम्म नचाहिने स्पस्ट पारेको छ। भारत सरकारले मंगलबार राजपत्रमा सूचना प्रकाशित गर्दै प्लाई बोर्डमा बीआईएस नचाहिने स्पस्ट पारेको हो।

Tata
GBIME
Nepal Life

भारतमा निर्यात हुने प्लाईका ३ वटा मुख्य वस्तुमा भारत सरकारले प्लाई बोर्डलाई मात्र १ वर्षका लागि सहजता दिएको हो। अन्य २ वस्तुमा प्लाईउड र प्लाईका ढोका हुन्। भारतले प्लाईउड र प्लाईका ढोकाको आयातमा भने बीआईएसको प्रावधानलाई जारी नै राखेको छ। प्लाई बोर्डमा बीआईएस नचाहिने सूचना जारी भएपनि तीन नाकाबाट हुने निकासीमा भने अवरोध कायमै छ।

प्लाई बोर्ड निकासी हुने नेपालका मुख्य ३ नाका कृष्णनगर, भैरहवा र नेपालगञ्जबाट निकासी अवरूद्ध भएको हो। भैरहवाको भुसाल प्लाईका सञ्चालक अमृत भुसालले भारत सरकारले राजपत्रमा सूचना जारी गरे पनि नाकाका भारतीय भन्सारले माथिबाट केही जानकारी नआएको भन्दै जाँचपास गर्न मानिरहेका छैनन्।

‘नेपालबाट निकासी हुने प्लाईका उत्पादनमा ६० प्रतिशत हिस्सा प्लाईउडको छ, यसको निकासी अझै अवरूद्ध छ’, भुसालले बिजमाण्डूसँग भने, ‘त्यस्तै २० प्रतिशत हिस्सा प्लाईका ढोकाको छ । यसको निर्यात पनि अवरूद्ध छ। बाँकी २० प्रतिशत हिस्सा प्लाई बोर्डको हो। यसको निर्यातमा बीआइएस मापदण्ड नलाग्ने भनेर भारत सरकारले राजपत्रमा सूचना प्रकाशित गरिसकेको छ। तर पनि निर्यात सुचारु हुन सकेको छैन।’

नेपाल प्लाईउड उत्पादक संघका पूर्व अध्यक्ष एवम् नेपालगन्जस्थित शिखर प्लाईका सञ्चालक चम्पालाल बोथडाले भारतको केन्द्रीय सरकारअन्तर्गत रहेको उद्योग संवर्धन तथा आन्तरिक व्यापार विभागले फागुन २९ मा प्रकाशित गरेको राजपत्रमा त्यहाँ आयात हुने प्लाई बोर्डलाई २०२५ फेब्रुअरी सम्म बीआईएसको प्रमाणपत्र आवश्यक नपर्ने उल्लेख गरिएको बताए।

उद्योगी बोथडाले भने, ‘भारत सरकारले राजपत्रमा सूचना प्रकाशित गरेपनि पारिका भन्सारका अधिकारीले माथि सोधेर मात्र जाँचपास गर्ने भनिरहेका छन्। निर्यात हुन सकेको छैन।’ नेपाल प्लाईउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरेले भारत सरकारले फागुन २९ मा प्रकाशित गरेको राजपत्रको परिपत्र सम्बन्धित भन्सार कार्यालयमा नआइपुगेको हुँदा निर्यात खुल्न नसकेको बताए।

अध्यक्ष घिमिरेले भने, ‘हामीले पारिका भन्सारमा गएर कुरा गरेका छौँ। त्यहाँका अधिकारीले परिपत्र आएपछि मात्र जाँचपासको क्रम सुरु हुने जबाफ दिएका छन्।’ घिमिरेले भारत सरकारले केही दिनभित्रै प्लाईउड र प्लाईका ढोकामा पनि बीआईएस नलाग्ने सूचना जारी गर्ने विश्वास व्यक्त गरे।

‘हामी भारतीय अधिकारीहरूसित लगातार संवादमा छौँ’, उनले सुनाए, ‘नेपालका उद्योग र यहाँका उत्पादनप्रति उहाँहरू सकारात्मक हुनुहुन्छ। आगामी २ हप्ताभित्रै प्लाईउड र प्लाईका ढोकाको पनि निर्यात खुल्ने कुरामा हामी ढुक्क छौँ।।’

पूर्वका मुख्य दुई नाका विराटनगर र काँकडभिट्टाबाट भने प्लाईका तीन वटै उत्पादनको निर्यात रोकिएको छैन। दुबै ठाउँका सीमावर्ती भारतीय भन्सारले सूक्ष्म, साना तथा मझौला उद्योगका उत्पादनलाई बिआईएस नचाहिने भन्दै जाँचपास गरिरहेका छन्।
संघका कोशी प्रदेश अध्यक्ष सीताराम अग्रवालले काँकडभिट्टा र विराटनगर नाकाबाट निर्यातमा समस्या नभएको स्पष्ट पारे।

नेपाल सरकारले प्लाइउडको निर्यातमा नगद अनुदान दिने निर्णय गरेपछि उद्योगीले गत आर्थिक वर्षदेखि निर्यातलाई आक्रामक बनाएका थिए। चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा ४ अर्ब २१ करोड १४ लाख रुपैयाँ बराबरको प्लाइउड भारततर्फ निर्यात गरिसकेका छन्। भन्सार विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब १६ करोड २३ लाख बराबरको मात्र निर्यात गरिएको थियो।

गत आर्थिक वर्ष २०७९–८० मा ४ अर्ब ७० करोड ५२ लाख, २०७८–७९ मा ३५ करोड २३ लाख र २०७७–७८ मा १ करोड ४६ लाखको प्लाइउड निर्यात भएको विभागले जनाएको छ। केन्द्रीय अध्यक्ष घिमिरेले अवरोध नभएमा चालु आर्थिक वर्षमा ८ अर्बभन्दा बढीको प्लाइउड निर्यात हुने दाबी गरे।

नेपालमा प्लाइउडका ७५ वटा उद्योग छन् । सबैभन्दा बढी कोशी प्रदेशमा ३४ वटा छन्। प्लाईउडको उत्पादनमा ७० देखि ७५ प्रतिशत स्वदेशी कच्चा पदार्थको प्रयोग भइरहेको उद्योगीको दाबी छ।