फागुनमा घरजग्गा कारोबार स्थिर, राजस्व भने २५ करोडले बढेर ४ अर्बनजिक

बिजमाण्डू
२०८० चैत्र १ गते १४:५१ | Mar 14, 2024
फागुनमा घरजग्गा कारोबार स्थिर, राजस्व भने २५ करोडले बढेर ४ अर्बनजिक

काठमाडौं। घरजग्गा किनबेच संख्या फागुनमा स्थिर देखिएको छ। फागुनमा माघ महिनाकै कराबरी संख्यामा कारोबार भएको हो।

Tata
GBIME
Nepal Life

माघमा ४९ हजार २९० रहेको लिखत पारित फागुनमा ४९ हजार २८७ कायम भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ।

गत वर्ष २०७९/८० को फागुनमा तुलनामा भने लिखत पारित संख्या करिब साढे ८ हजार बढी हो। पोहोर फागुनमा ४० हजार ७३४ लिखत पारित भएको थियो।

कारोबार संख्या नबढेपनि राजस्व भने करिब २५ करोड रुपैयाँले बढेको छ। माघमा ३ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन भएकोमा फागुनमा ३ अर्ब ९५ करोड रुपैयाँ उठेको विभागको तथ्यांकले देखाउँछ। यो रकम पोहोर फागुनको तुलनामा ३९ करोड रुपैयाँ बढी हो।

यसपालि पुसको तुलनामा माघमा राजस्व ५० करोड ७५ लाख रुपैयाँ बढी उठेको थियो। चालु आर्थिक वर्ष माघ सबैभन्दा धेरै लिखत पारित भएको महिना हो।

फागुनमा जनकपुरलाई उछिन्दै पुन: इनरुवा मालपोत सबैभन्दा धेरै लिखत पारित गर्ने कार्यालय बनेको छ। इनरुवा मालपोतबाट २,००६ लिखत पारित भएको छ।

त्यसपछि जनकपुरबाट १९९७, भद्रपुरबाट १८५०, बेलबारीबाट १६४३, राजविराजबाट १३६५, जलेश्वरबाट १२८४ र मलंगवाबाट १११४ लिखत पारित भएको छ। यस्तै, सिरहाबाट १०८६, तौलिहवाबाट १०३५ र विराटनगरबाट १००७ लिखत पारित भएको तथ्यांक छ।

माघमा जनकपुरधाम मालपोत कार्यालयले २ हजार ९२ लिखत पारित गरेको थियो।

यस्तै, काठमाडौं उपत्यकाको हकमा भक्तपुर मालपोतले सबैभन्दा धेरै लिखत पारित गरेको छ। भक्तपुरबाट फागुनमा ९७१ लिखत पारित भएको छ। माघमा पनि भक्तपुरबाट सर्वाधिक ९९५ लिखत पारित भएको थियो।

फागुनमा लगनखेलबाट ९३१, कलंकीबाट ७०७, चाबहिलबाट ४५१, साँखुबाट ४०२, डिल्लीबजारबाट २११ र टोखाबाट १९१ लिखत पारित भएको विभागको तथ्यांक छ।

माघमा लगनखेलले ९२७, कलंकीले ६६७, चाबहिलले ४४७, साँखुले ४०८, मनमैजुले ३०९, डिल्लीबजारले २०५ र टोखाले १७६ लिखत पारित गरेका थिए।

राजस्वका हिसाबले फागुनमा पनि लगनखेल मालपोत सबैभन्दा अगाडि छ। घरजग्गा किनबेचबाट लगनखेलले फागुनमा ३५ करोड ७७ लाख रुपैयाँ राजस्व उठाएको छ। चाबहिलले २५ करोड ८२ लाख, भक्तपुरले २५ करोड ४४ लाख, कलंकीले २४ करोड २९ लाख र डिल्लीबजारले २१ करोड ३७ लाख रुपैयाँ राजस्व संकलन गरेका छन्।

यस्तै, चितवनले १६ करोड ११ लाख, कास्कीले १२ करोड ६६ लाख र इनरुवाले ११ करोड ६७ लाख रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ।

माघमा पनि लगनखेल मालपोतले सबैभन्दा धेरै ३४ करोड ६७ रुपैयाँ उठाएको थियो। त्यसपछि भक्तपुर मालपोतले २८ करोड ३३ लाख, कलंकीले २१ करोड ८६ लाख, डिल्लीबजारले १९ करोड ३९ लाख र चाबहिलले १८ करोड रुपैयाँ राजस्व संकलन गरेका थिए।