बीमा क्षेत्रमा एनएफआरएस-१७ लागू गर्ने तयारी, प्राधिकरण सरोकारवालासँगको छलफलमा

बिजमाण्डू
२०८० पुष २५ गते १४:४९ | Jan 10, 2024
बीमा क्षेत्रमा एनएफआरएस-१७ लागू गर्ने तयारी, प्राधिकरण सरोकारवालासँगको छलफलमा


काठमाडौं। नेपाल बीमा प्राधिकरणले ‘नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस)-१७ इन्स्योरेन्स कन्ट्रयाक्ट्स’ लागू गर्ने तयारी गरेको छ ।

Tata
GBIME

अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मान (आईएफआरएस) अनुसार प्राधिकरणले एनएफआरएस–१७ लागू गर्न आवश्यक तयारी अगाडि बढाएको छ।

आगामी आर्थिक वर्षदेखि लागू गर्ने गरी प्राधिकरणले छलफल थालेको छ। एनएफआरएस–१७ लागू गरेपछि आउने चुनौती र सम्बोधन गर्नुपर्ने विषयमा प्राधिकरणले आइतबार बीमक लगायतसँग छलफल गरेको थियो ।

प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रमा एनएफआरएस-१७ लागू गर्नका लागि वातावरण बनाउन र क्षमता अभिवृद्धि गर्नका लागि प्राधिकरण, लेखामान बोर्ड नेपाल र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आ-आफ्नो जिम्मेवारी छुट्याइ काम गरिरहेको बताए।

‘सम्बद्ध नियामक निकायहरू आ-आफ्नो जिम्मेवारी एकिन गरी अगाडि बढेमा यस वर्ष नसकिए पनि अर्को वर्ष पूर्णरूपमा एनएफआरएस-१७ लागू गर्न सकिन्छ, त्यसका लागि वातावरण बनाउनुपर्छ। प्राधिकरण र बीमा कम्पनीहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ,‘ उनले भने।

एनएफआरएस-१७ लागू गरेपछि नेपालको बीमा क्षेत्रप्रति अन्तर्राष्ट्रिय विश्वास अझ बढ्ने र पुनर्बीमा गर्न तथा दाबी भुक्तानी पाउन सहज हुने उनको दाबी छ।

उनले आरबीसी र ओर्सा कार्यान्वयन गर्न लागेको जानकारी दिए। यसबाट एनएफआरएस-१७ लागू गर्न सहयोग पुग्ने उनको भनाइ छ।

एनएफआरएस-१७ लागू हुँदा कर लगायत अन्य नीति कस्तो हुने सम्बन्धमा सम्बद्ध सरकारी निकायहरूको साझा बुझाई हुनुपर्ने अध्यक्ष सिलवालले बताए।

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले एनएफआरएस-१७ लागू गर्न सम्बन्धित निकायको सहभागितामा गठित उच्चस्तरीय समितिअन्तर्गतको प्राविधिक उपसमितिले प्रारम्भिक प्रतिवेदन बुझाएको जानकारी दिए।

लेखामान बोर्ड नेपालका अध्यक्ष प्रकाशजंग थापाले अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मानको मूल प्रावधानमा असर नपर्ने गरी एनएफआरएस-१७ लागू गर्दा आइपर्ने समस्या समाधान गर्न बोर्ड तयार रहेको बताए।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष सुजन काफ्लेले एनएफआरएस-१७ लागू गर्न पूर्वाधारमा लगानी गर्नुपर्ने र साझा सफ्टवेयर बनाउनुपर्ने आवश्यकता औंल्याए।

नेपाल बीमक संघका अध्यक्ष चंकी क्षत्री र नेपाल जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेलले बीमा क्षेत्रमा एनएफआरएस-१७ लागू गर्न लगानीका दृष्टिले ठूलो चुनौती रहे पनि पूर्वाधार, सूचना प्रविधि र जनशक्ति लगायत विषयमा मार्गचित्र बनाएर अगाडि बढ्नुपर्ने बताए।