
काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसमा सरकारको कामलाई लिएर चर्को आक्रोश देखिएको छ। त्यो आक्रोश सोमबार सुरु भएको कांग्रेसको केन्द्रीय समिति बैठकमा पोखिएको छ।
कांग्रेसका केन्द्रीय सदस्यहरुले एक वर्षअघि भएको सहमति अनुसार कुनै पनि क्षेत्रमा अपेक्षित काम नभएको भन्दै सरकारको नेतृत्व फेर्न माग गरेका छन्।
उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा व्याप्त निराशा चिर्ने गरी काम नगरेको बरु एक पछि अर्को कमजोरी गरिरहेको भन्दै अब सरकारको नेतृत्व कांग्रेसले लिनुपर्ने बताएका हुन्।
पहिलो दिनको बैठकमा कोषाध्यक्ष उमेश श्रेष्ठ तथा केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, बलबहादुर केसी, कृष्णचन्द्र नेपाली पोखरेल, पुष्पा भुसाल, डा. गोपाल दहित, योगेन्द्र चौधरी, नैनसिह महर, मदनकृष्ण श्रेष्ठ र भरतकुमार शाहले आ-आफ्नो धारणा राखेकामा अधिकांशले सरकारको कार्यशैलीप्रति असन्तुष्टि पोखे।
उनीहरुले सरकारको कामको समीक्षा गरेर नेतृत्व फेर्न कांग्रेसले अब ढिला गर्न नहुने बताए। उनीहरुले ओलीको भूमिकाप्रतिश आशंका गर्दै एक वर्षअघिको सहमति अनुसार सत्ता हस्तान्तरण हुन्छ भनेर निर्धक्क नहुने पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराए। ओलीले वाम धुर्वीकरण बढाउन थालेकाले कांग्रेस अब सरकार नेतृत्व परिवर्तन गर्नतिर लाग्नुपर्ने उनीहरुको सुझाव छ।
संस्थापनइतरका नेता डा. शेखर कोइरालाले आफू पहिलेबाटै कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने पक्षमा रहेको बताए। सरकारको नेतृत्व कांग्रेसले एमालेलाई दिएकामा नै कोइरालाले असन्तुष्टि पोखे। ‘के कारणले कांग्रेसले एमालेलाई सत्ताको नेतृत्व दियो?’ कोइरालाले प्रश्न गरे।
केन्द्रीय सदस्य नैनसिंह महरले गठबन्धन दुर्घटनातिर गइसकेको भन्दै यसको जवाफ सभापति देउवाले दिनुपर्ने बताए। ‘सबैभन्दा ठूलो दल भएर पनि सरकारमा कांग्रेसको भूमिका खुम्च्याइएको छ। सरकारको नेतृत्वकर्ताबाटै कांग्रेसको अवमूल्यन भएको छ,’ महरले भने, ‘प्रधानमन्त्रीले वाम ध्रुवीकरण गर्ने प्रयास भित्रभित्रै थालेका छन्। यस्तो बेला कांग्रेस अब चुप लागेर बस्न हुँदैन।’

बैठकमा यस्ता प्रस्ताव
बैठकमा उपसभापति पूर्णबहादुर खड्काले पार्टीले चलाएको १०० दिने अभियान प्रतिवेदन र केन्द्रीय नीति तथा अनुसन्धान प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधनको प्रस्ताव पेस गरे।
बैठकमा चार भ्रातृ संगठनको महाधिवेशनको मिति प्रस्ताव गरिएको छ। नेपाल किसान संघ, थारु संघ, लोकतान्त्रिक खेलकुद संघ र तरुण दलको महाधिवेशनको मिति प्रस्ताव गरिएको हो।
महाधिवेशन गर्न दिएको चैत मसान्तसम्मको म्याद गुज्रिएपछि महामन्त्री गगन थापाले किसान संघको भदौ ३, थारु संघको असोज २५, लोकतान्त्रिक खेलकुद संघको भदौ २० र २१ गते र तरुण दलको मंसिर २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव निर्देशन समितिमार्फत प्रस्तुत गरेका हुन्।
महामन्त्री थापाले क्रियाशील सदस्यता नवीकरणको रिपोर्ट पेस गर्दै अहिलेसम्म ५ जिल्लाको मात्र सदस्यता नवीकरण केन्द्रमा आएको जानकारी दिए।
सभापति देउवाले गत कात्तिक १४ गते महामन्त्री थापाको संयोजकत्वमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली स्नेही सदस्य रहेको समिति गठन गरेका थिए।
समितिले चैत मसान्त, वैशाख १५, वैशाख मसान्त हुँदै जेठ मसान्तसम्मको डेडलाइन गुजारेर पनि क्रियाशील सदस्यताको नवीकरण टुंगो लगाउन नसकेको हो। महामन्त्री थापाले बारा, डोल्पा र मुस्ताङमा सदस्यता नवीकरणको फाराम नै नपुगेको बताए।
कार्यसमिति बैठक मंगलबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ।