
काठमाडौं। नेपाल वायुसेवा निगमलाई ९ एन-एकेडब्लु कलसाइनको जहाज एक सातादेखि ग्राउण्डेड हुँदा १० करोड रुपैयाँभन्दा बढी नोक्सानी भएको छ।
जहाजको इन्जिन बोरोस्कोपमा ‘नियमित चेकजाँच’ गर्दा प्राविधिक समस्या आएपछि एक सातायता निगमको उडान तालिका नै बिथोलिन पुगेको छ।
‘काठमाडौं-दिल्लीतर्फ हुँदै आएको बिहानको उडान नै एक सातायता हटाइएको छ। हङकङ र दुबाईतर्फको उडान पनि पटक पटक रद्द गर्ने काम भइरहेको छ,’ निगमका एक उच्च अधिकृतले भने,’यता मर्मत संभारको ठेक्का लिएको इजरायल एयरस्पेस इण्डस्ट्रिज ‘आईएआई’ले कुनै काम गर्न सकेको छैन।’
जहाज ग्राउण्डेड भइ उडान तालिका बिथोलिएर आम्दानी गुमिरहँदा निगम व्यवस्थापन भने आफ्ना कर्मचारीलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणविरुद्ध उक्साउने भूमिकामा सीमित छ।
‘व्यवस्थापन अहिले खोसिएको ग्राउण्ड ह्याण्डलिङ फिर्ता गराउनका लागि कर्मचारीका ट्रेढ युनियनलाई उक्साउनतिर लागेको छ,’ निगमका अर्का कर्मचारीले भने, ‘इजरायली कम्पनीले जहाज मर्मत नगरेको विषयमा ध्यानै छैन।’
न्यारोबडी जहाजबाट प्रति उडान एक करोड रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको थियो। जहाज ग्राउण्डेड भएपनि त्यसमा राखिएको इन्जिनको भाडाबापत दैनिक सात लाख रुपैयाँ खर्च भइरहेको छ।