
काठमाडौं। आफ्नो पहिलो खेलमै जित निकालेका ललितपुर सिटी एफसी र पोखरा थण्डर्स आज आमनेसामने हुँदैछन्। नेपाल सुपर लिग (एनएसएल)मा आज ललितपुर र पोखरा साँझ साढे ५ बजे दशरथ रंगशालामा लगातार दोस्रो जितको खोजीमा उत्रनेछन्।
चर्च ब्वाइज युनाइटेडलाई शहीद स्मारक ‘ए’ डिभिजन लिगमा च्याम्पियन बनाएका अनन्त तामाङ ललितपुरको पनि कप्तान हुन्। धेरै राष्ट्रिय खेलाडी र उत्कृष्ट विदेशी खेलाडी समेटेको ललितपुर सिटीले आफ्नो पहिलो खेलमा बुटवल लुम्बिनी एफसीलाई २-० गोलले हराएको थियो।
लुम्बिनीलाई हराउँदा ललितपुरका दिनेश हेन्जन र अनन्त तामाङले गोल गरेका थिए। ललितपुरका प्रभाव पार्न सक्ने नेपाली खेलाडीमा अनन्त तामाङ, दिनेश हेन्जन, शेसेहाङ आङदेम्बे, सनिस श्रेष्ठ लगायत छन् भने विदेशी खेलाडीमा इमोह इजिकेइल, जेफ्रे मार्सेल, पापा केबेलगायतका खेलाडी छन्।
पोखरा थण्डर्सले शनिवार आफ्नो पहिलो खेल एफसी चितवनसँग खेलेको थियो। कडा प्रतिस्पर्धा भएको उक्त खेलमा मोसेस ट्वुमले निर्णायक गोल गर्दै पोखरालाई जित दिलाएका थिए।
दिनेश राजवंशीको कप्तानीमा रहेको पोखरामा आयुष घलान, सुरज जिउ ठकुरी जस्ता नेपाली र मोसेस टूम, जोए अडिओ, स्टेफेन कोजो जस्ता विदेशी खेलाडी छन्। पोखराका विदेशी खेलाडी नेपालमा यसअघि पनि खेलिरहेकाले टिम सेट भएको दाबी पोखराका प्रशिक्षक नवीन न्यौपानेको छ।
पाँच सय टिकट फ्री!
आजको खेललाई भनेर ललितपुर सिटी एफसीले ५ सय म्याच टिकट फ्री दिने भएको छ। ललितपुरले सामाजिक सञ्जालमा पोस्ट राख्दै ‘फस्ट कम फर्स्ट सर्भ बेसिस’मा आफ्ना फ्यानहरुलाई टिकट दिने जनाएको छ। टिकट त्रिपुरेश्वरस्थित घान्द्रुक थकाली किचन र पेपे पिज्जाबाट लिन सकिने ललितपुर सिटीले जनाएको छ।
दोस्रो चरण चलिरहँदा स्तरीय खेल भए पनि दर्शकको संख्या भने रंगशालामा पातलो नै देखिएको छ। युट्युबमा भने खेलहरु लाइभ हेर्नेको संख्या १० हजारदेखि १५ हजारको बीचमा हुने गरेको छ।
खेलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्दै आएको छ।
हालसम्मको नतिजा
काठमाडौं रेजर्स १-० स्पोर्टिङ इलाम
गोल गर्ने खेलाडी: राजीव लोप्चन (काठमाडौं रेजर्स)
ललितपुर सिटी एफसी २-० बुटवल लुम्बिनी एफसी
गोल गर्ने खेलाडी: अनन्त तामाङ, दिनेश हेन्जन
पोखरा थण्डर्स १-० एफसी चितवन
गोल गर्ने खेलाडी : मोसेस ट्वुम (पोखरा थण्डर्स)
वीरगंज युनाइटेड एफसी १-२ धनगढी एफसी
गोल गर्ने खेलाडी: हान्स कोफ (वीरगञ्ज), फोडे फुफाना र अहमद हिजाजी (धनगढी)
झापा एफसी ०-१ स्पोर्टिङ इलाम
गोल गर्ने खेलाडी: अमथ एनडो (स्पोर्टिङ इलाम)
काठमाडौं रेजर्स १-० एफसी चितवन
गोल गर्ने खेलाडी: जुनियर एनगुने (काठमाडौं), विमल घर्ति मगर (एफसी चितवन)
आजको खेल: ललितपुर सिटी एफसी भर्सेस पोखरा थण्डर्स