नेपाल सुपर लिगको पहिलो चरण : खेल स्तरीय तर रंगशालामा दर्शकको पातलो उपस्थिति

मुकुन्द घिमिरे
२०८० मंसिर १२ गते १४:५९ | Nov 28, 2023
नेपाल सुपर लिगको पहिलो चरण : खेल स्तरीय तर रंगशालामा दर्शकको पातलो उपस्थिति


काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) मा पहिलो चरणका खेल सकिएका छन्। लिगमा सहभागी ९ वटै टोलीले आफ्नो पहिलो खेल खेलिसकेका छन्।

Tata
GBIME
Nepal Life

पहिलो चरणको अन्तिम खेल सोमबार स्पोर्टिङ इलाम र झापा एफसीबीच भयो। इलामले डेब्यू टोली झापा एफसीलाई १-० गोलले हरायो। इलामका प्रशिक्षक मेघराज केसी जितसँगै खेलको स्तर सुधारिएका कारण खुशी देखिए।

‘कोचको भूमिका बाहेक पनि मैले खेल हेरेर आनन्द लिएँ। स्तरीय खेल हेर्न पाइयो,’ उनले पोस्टम्याच कन्फ्रेन्समा भने, ‘मन नै आनन्द हुने किसिमको खेल थियो। सबै टोलीको खेल उस्तै टफ छ।’

पहिलो चरणमा इलाम र झापा एफसीको जस्तै स्तरीय खेल ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी तथा पोखरा थण्डर्स र एफसी चितवनले प्रदर्शन गरेका थिए।

पहिलो चरणमा दुईवटा कुरा भने खड्किएको देखिन्छ। रंगशालामा दर्शक अभाव देखिएको छ।

उद्‍घाटन खेलमा दर्शकको उपस्थिति केही बाक्लो थियो। त्यसदिन वाङदेन लामा, ट्विनी गर्ल्स (प्रिज्मा र प्रिन्सी खतिवडा) र शुशान्त केसीले प्रस्तुति दिएका थिए।

तर त्यस बाहेकका दिनमा भने दर्शकको उपस्थिति निकै पातलो देखिएको छ। लिगका डाइरेक्टर श्रेयान्स कार्कीले पोस्ट म्याच प्रेजेन्टेसनमा राम्रो सुरुवात भएको भन्दै दर्शकलाई रंगशाला आउन आग्रह गरे।

‘हामी धेरै अगाडि जानुपर्ने छ। म यहाँ फुटबलको स्तर हेरिरहेको छु। हरेक खेल प्रतिस्पर्धात्मक हुँदै गइरहेका छन्,’ उनले भने, ‘तर, हामी फ्यान मिस गरिरहेका छौं। हामीलाई अझै इनर्जी चाहिएको छ।’

एफसी चितवन र पोखराबीचको खेल

दर्शक तान्न नेपाल स्पोर्ट्स म्यानेजमेन्टले केही नयाँ पहल पनि गरेको छ। लिगका अधिकांश खेल साँझ राखिएको छ। टिकट शुल्क साधारणतर्फ २०० र भीआईपीतर्फ ५०० रुपैयाँ छ। अन्य लिगमा भन्दा फरक रंगशालामा यसपालि डिजिटल पेरिमिटर राखिएको छ। त्यस्तै गोल हुनासाथ, हाफटाइम र खेल सकिएपछि चियर लिडर्सहरु स्टेजमा आउने गर्छन्। खाजा रंगशालाभित्रै किनेर खाने व्यवस्था गरिएको छ।

त्यस्तै खड्किएको अर्को पाटो हो, गोलकिपरमा स्वदेशी खेलाडी कम हुनु। ९ टोलीमध्ये पाँच वटाले विदेशी खेलाडीलाई पहिलो रोजाइको गोलकिपर राखेका छन्। गोलकिपरमा विदेशी खेलाडीको वर्चस्वलाई लिएर चिन्ता गर्न थालिएको छ।

नेपाली टोलीमा हाल पहिलो रोजाइका गोलकिपर किरण चेम्जोङ हुन्। करियरको उत्तरार्धमा हुँदा उनको उत्तराधिकारीको खोजी भइरहेको छ। चितवनलाई लिड गरिरहेका अनुभवी गोलकिपर विशाल श्रेष्ठ, इलामलाई लिड गरिरहेका विकेश कुथु चेम्जोङको उमेर हाराहारीकै खेलाडी हुन्।

वीरगञ्जका कप्तान दीप कार्की र काठमाडौंका अभिषेक बरालले पनि पहिलो खेलमा पहिलो रोजाइको गोलकिपरको भूमिका निभाए। यीबाहेक अन्य पाँच टोलीमा विदेशी खेलाडीले पहिलो रोजाइको गोलकिपरका रुपमा खेलिरहेका छन्। यसले राष्ट्रिय टोलीमा पहिलो रोजाइको नयाँ गोलकिपर एनएसएलले दिन नसक्ने देखिन्छ।

वीरगंज युनाइटेड र धनगढी एफसीबीचको खेल

इलामको गोलकिपर कुथुले झापा एफसीले युवा गोलकिपर अनिष देउलालाई सोमबारको खेलमा सब्सिच्युट खेलाडीका रुपमा राखेकामा नराम्रो लागेको बताए। ‘युवा गोलकिपरलाई ठाउँ नदिएकामा मज्जा लागिरहेको छैन,’ उनले भने।

पहिलो चरणको नतिजा

काठमाडौं रेजर्स १-० स्पोर्टिङ इलाम

गोल गर्ने खेलाडी: राजीव लोप्चन (काठमाडौं रेजर्स)

ललितपुर सिटी एफसी २-० बुटवल लुम्बिनी एफसी

गोल गर्ने खेलाडी: अनन्त तामाङ, दिनेश हेन्जन

पोखरा थण्डर्स १-० एफसी चितवन

गोल गर्ने खेलाडी : मोसेस ट्वुम (पोखरा थण्डर्स)

वीरगञ्ज युनाइटेड एफसी १-२ धनगढी एफसी

गोल गर्ने खेलाडी: हान्स कोफ (वीरगञ्ज), फोडे फुफाना र अहमद हिजाजी (धनगढी)

झापा एफसी ०-१ स्पोर्टिङ इलाम

गोल गर्ने खेलाडी: अमथ एनडो (स्पोर्टिङ इलाम)

आजको खेल: काठमाडौं रेजर्सविरुद्ध एफसी चितवन