
काठमाडौं। नेपाल यू १९ फुटबल टोली भारतसँग पराजित भएको छ। त्रिपुरेश्वस्थित दशरथ रंगशालामा आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा भारतले नेपाललाई पेनाल्टी सुटआउटमा ३-२ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो।
खेलको २६ औँ मिनेटमा साहिल खुर्सिदको गोलमा भारतले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले पछि रहेको नेपालका लागि दोस्रो हाफमा समीर तामाङले खेल बराबरीमा ल्याए। प्रेसर गेममा उनले ७४ औँ मिनेटमा उत्कृष्ट गोल गरेका थिए।

निर्धारित समय १-१ गोलको बराबरीमा रोकिँदा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टी सुटआउटमा पाँचमध्ये दुई गोल गर्दा भारतले ३ गोल गर्दै फाइनल यात्रा सुरक्षित गर्यो।
आजै सम्पन्न पहिलो सेमिफाइनलमा भुटानलाई हराउँदै पाकिस्तानले फाइनलमा स्थान सुरक्षित गरेको थियो। निर्धारित समयमा गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमै पुगेको थियो। र, पाकिस्तानले सडन डेथमा ६-५ गोलअन्तरले जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्यो।

अब, प्रतियोगिताको फाइनलमा भारत र पाकिस्तान भिड्नेछन्। भारतले समूह चरणमा बंगलादेशमाथि ३-० र भुटानमाथि २-१ गोलको जित निकालेको थियो। पाकिस्तानसँग १-० गोलको हार बेहोरेको नेपालले माल्दिभ्समाथि ४-१ गोलको जित निकालेको थियो।
