कुटपिटको विरोधमा चिकित्सकहरुको प्रदर्शन, दोषीमाथि कारबाहीको माग, भने- विदेश जान बाध्य नपार

बिजमाण्डू
२०८० असोज १० गते १३:४० | Sep 27, 2023
कुटपिटको विरोधमा चिकित्सकहरुको प्रदर्शन, दोषीमाथि कारबाहीको माग, भने- विदेश जान बाध्य नपार


काठमाडौं। चिकित्सकहरुले एकपछि अर्को अस्पतालमा आक्रमणका घटना हुन थालेपछि त्यसको विरोधमा प्रदर्शन गरेका छन्। उनीहरुले बुधबार माइतीघरमा विभिन्न प्लेकार्डसहित प्रदर्शन गरेका हुन्।

Tata
GBIME
NLIC

उनीहरुले पेशागत सुरक्षाको माग गरेका छन्। प्रदर्शनमा सहभागी चिकित्सकको प्रश्‍न छ- कार्यस्थलमै कुटपिट हुने स्थितिमा कसरी काम गर्न सकिन्छ? उनीहरुले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ कार्यान्वयनको माग राखेका छन्।

आक्रमणमा संलग्नहरुमाथि कानुनी कारबाही गरिनुपर्ने चिकित्सकहरुको माग छ। उनीहरुले आफूहरु सरकारसँग वार्ता गरेर सहमति गर्नेभन्दा घटनाका दोषीमाथि कारबाही हुनुपर्ने पक्षमा रहेको बताएका छन्।

दोषीलाई कारबाही गरी सुरक्षाको प्रत्याभूति नदिलाए विदेश जान बाध्य हुने चिकित्सकहरुको भनाइ छ। उनीहरुले ‘विदेश जान बाध्य नपार’, ‘असुरक्षा र त्रासमा उपचार कसरी गर्ने?’ ‘कामेको हातले उपचार सम्भव छैन’ लगायत नारा समेत लगाएका छन्।

पछिल्लो २ सातामा विभिन्न तीन अस्पतालमा चिकित्सकमाथि आक्रमण भएको छ। भदौ २६ गते हेटौंडास्थित सन्चो अस्पतालका डा. विकास थापा र डा. प्रशान्त बिडारी, असोज ७ गते राति लमजुङ अस्पतालका डा. सन्दीप अधिकारी र ८ गते  पोखरास्थित मणिपाल शिक्षण अस्पतालका डा. अनिल शाहमाथि कुटपिट भएको हो।

कुटपिटमा संलग्नहरु भने बिरामीका आफन्त हुन्। उपचारमा लापरबाही गरेको आरोपमा चिकित्सकहरुमाथि कुटपिट भएको हो। विभिन्न अस्पतालमा भएको घटनाको विरोधमा चिकित्सकहरुले मंगलबार पनि प्रदर्शन गरेका थिए।