द्रुत बस सेवाले पहिलो दिन नै ट्राफिक भद्रगोल, डेडिकेटेड लेन अरुलाई नदिँदा अस्तव्यस्त

बिजमाण्डू
२०८० असोज ४ गते ११:५१ | Sep 21, 2023
द्रुत बस सेवाले पहिलो दिन नै ट्राफिक भद्रगोल, डेडिकेटेड लेन अरुलाई नदिँदा अस्तव्यस्त


काठमाडौं। द्रुत बस सेवाका कारण ट्राफिक व्यवस्थापन भद्रगोल बन्न पुगेको छ। द्रुत सेवा दिने बसका लागि छुट्याइएको लेनमा अरु अरु बस गुड्न नदिइएपछि ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुन पुगेको हो।

Tata
GBIME
NLIC

सूर्यविनायक-रत्‍नपार्क रुटमा द्रुत सेवा दिने बसका लागि छुट्याइएको लेनमा अरु सवारीसाधन चल्न नदिन सडकमा पर्याप्त मात्रामा ट्राफिक परिचालन गरिएका छन्। उनीहरुले रातो रंग पोतिएका लेनमा द्रुत सेवा दिने २५ वटा बस बाहेक सवारीसाधन चलाउन नदिएपछि ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको हो।

खासगरी ठिमीदेखि कोटेश्‍वरसम्म ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समेत ट्राफिक जामका साक्षी बनेका छन्। उनको गाडी लोकन्थली चोकमा निकैबेर जाममा परेको थियो।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बुधबार द्रुत बस सेवा उद्‍घाटन गरेका थिए। यात्रुका लागि भने यो सेवा बिहिबार सुरु गरिएको हो।

यात्रुलाई गन्तव्यमा चाँडो पुर्‍याउनका लागि भनेर केही बस सञ्चालन गरिनुलाई ठूलो उपलब्धिको रुपमा प्रचार गर्न वाग्मती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल पनि रिबन काट्नका लागि हेटौंडाबाट धाएर रत्‍नपार्क पुगेका थिए।

द्रुत बस सर्वसाधारण यात्रुका लागि सुरु गरिएकै दिन देखिएको भद्रगोलले सरकारको यो सेवा पहिलो गासमै ढुंगासरह हुन पुगेको छ। द्रुत सेवा दिने बसमा चढेका यात्रुले पनि ट्राफिक जाम सहनुपरेको छ।

एम्बुलेन्स र दमकललाई समेत अलग्गै लेन नरहेको अवस्थामा द्रुत सेवा दिने २५ बसका लागि रातो रंग पोतेर डेडिकेटेड लेनको व्यवस्था गरी त्यसमा अरु सवारीसाधन चल्न नदिइएपछि यसको चर्को विरोध भएको छ।

विनायोजना सस्तो प्रचारका लागि हचुवामा द्रुत बस सेवा सुरु गरी यात्रुले ट्राफिक जाममा उकुसमुकुस हुनुपर्ने अवस्था सिर्जना गरेको भन्दै सरकारको आलोचना भएको हो।