फाइभजीलाई ‘मनिटाइज’ गर्न भारतलाई धौधौ, के नेपाल ठूलो लगानी उठाउन तयार छ?

उन्नत सापकोटा
२०८० भदौ २९ गते ०६:३० | Sep 15, 2023
फाइभजीलाई ‘मनिटाइज’ गर्न भारतलाई धौधौ, के नेपाल ठूलो लगानी उठाउन तयार छ?

काठमाडौं। फाइभजीमा लगानी र यसबाट प्राप्‍त प्रतिफलमा ठूलो अन्तर देखिएको छ। विश्‍वभर नै आक्रामकरुपमा अर्बौं लगानी भइरहेको पाँचौं पुस्ताको प्रविधिले प्रतिफलमा भने टेलिकम अपरेटरलाई त्यति आशा जगाएको छैन।

Tata
GBIME
Nepal Life

भारतमा फाइभजी सेवा सुरु भएको करिब १ वर्ष भएको छ। तर टेलिकम अपरेटरले फाइभजीलाई अझै पनि ‘मनिटाइज’ गर्न सकिरहेका छैनन्। अर्थात् भारतीय टेलिकम अपरेटरले फाइभजीमा गरिरहेको लगानीबाट प्रतिफल आर्जन गर्न सकिरहेका छैनन्।

फाइभजीका लागि चाहिने अत्याधुनिक पूर्वाधारमा सन् २०२५ सम्म भारतका टेलिकम अपरेटरले १९ अर्ब ५० करोड अमेरिकी डलर खर्चिने अनुमान ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसन्स् (जीएसएमए) को प्रतिवेदनमा उल्लेख छ।

भारतमा फाइभजी एफडब्लूए (फिक्स्ड वायरलेस एसेस) भर्खरै लन्च भएको छ। यसबाट पनि दूरसञ्चार उद्योगमा आशाको किरण देखा पर्न सकेको छैन। यो प्रविधिले प्रतिफल उठाउनेमा अहिलेबाटै आशंका गर्न थालिएको छ।  

भारतमा बहुसंख्यक मोबाइल प्रयोगकर्ताले फाइभजीलाई खासै चासो दिइरहेका छैनन्। फोरजी सेवाबाटै आवश्यक डेटा स्पिड पाइरहेकोले फाइभजीप्रति खासै चासो नरहेको भारतीय संचारमाध्यमले जनाएका छन्। भारतमा कुल स्मार्टफोनको १५ प्रतिशत मात्रै फाइभजी इनेबल भएको छ।

यसका बाबजुद भारतका शीर्ष टेलिकम अपरेटर रिलायन्स जिओ र भारती एयरटेल फाइभजीलाई विभिन्न शहरहरुमा आक्रामकरुपले सेवा विस्तारमा लागेका छन्। ग्रामीण भेगहरुमा पनि उच्च गतिको फाइभजी सुरु गर्ने उनीहरुको तयारी छ।

एयरटेलले आफ्नो एफडब्लूए सेवा एक्सस्ट्रिम एयरफाइबर दिल्ली र मुम्बईमा लन्च गरिसकेको छ। जिओले असोज २ गते फाइभजी एफडब्लूए सेवा सुरु गर्ने तालिका सार्वजनिक गरिसकेको छ। अहिले दुवै अपरेटरले फिक्स्ड ब्रोडब्यान्डअन्तर्गत फाइबर टु द होम सेवा दिइरहेका छन्।

जिओले प्रतिदिन १ लाख ५० हजार घरमा एफडब्बूए सेवा दिने महत्वाकांक्षी योजना बनाएको छ। जुन अहिलेको तुलनामा १० गुणा बढी हो। जिओले अहिले प्रतिदिन १५ हजार घरमा मात्रै फाइबर जडान गरिरहेको छ। आगामी तीन वर्षमा २० करोड घरहरुमा एफटीटीएच/एफडब्लूए बिस्तार गर्ने उसको लक्ष्य छ।

२०२२ को मे सम्ममा ४६ देशका विभिन्न ८५ अपरेटरले फाइभजी एफडब्लूए सेवा लन्च गरिसकेका छन्। एफडब्लूएको कस्टमर प्रिमाइस इक्‍विपमेन्ट (सीपीई) लाई करिब १६० अमेरिकी डलर पर्छ। एफटीटीएचको प्रतिघर लागत करिब ९० डलर पर्छ। मूल्यका हिसाबले फाइभजी एफडब्लूए महँगो देखिन्छ।

एरिक्सनका अनुसार सन् २०२२ सम्म विश्वका १० करोड घरमा एफडब्लूए जडान भइसकेको छ। यो आंकडा सन् २०२८ सम्म ३० करोड पुग्ने र ८० प्रतिशतले फाइभजी प्रविधि प्रयोग गर्ने अनुमान एरिक्सनको छ।

भारतका टेलिकम अपरेटरले फाइभजीबाट आम्दानीका लागि अझै केही वर्ष कुर्नुपर्ने भन्दै पूर्वाधारमा आक्रामकरुपमा लगानी गरिरहेका छन्।

विश्‍व नै फाइभीजी बिस्तारमा आक्रामकरुपमा अगाडि बढ्दा नेपालले फोरजीमा चित्त बुझाएर बस्ने कुरा हुँदैन।

जानकारहरु नेपालमा अहिले फाइभजीको बजार नै देख्दैनन्। नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भेषराज कँडेल मन्दीको अवस्थामा रहेको अर्थतन्त्रले फाइभजीलाई धान्न नसक्ने बताउँछन्।

‘फाइभजीको बजार तयार हुन त अर्थतन्त्रले ड्राइभ गर्नुपर्‍यो नि। अर्थतन्त्र सुस्त छ। मान्छेले कल गरेको भरमा र सामाजिक सञ्जाल मात्र चलाएर फाइभजी चल्दैन। फाइभजी उपयोग गर्न सक्ने वातावरण नभइ सुरु गरेर मात्र केही अर्थ हुँदैन,’ कँडेलले भने, ‘फोरजी त राम्रोसँग उपयोग भएको छैन भने फाइभजी ल्याएर नयाँ के सिक्ने?’

तर विश्‍व नै फाइभीजी बिस्तारमा आक्रामकरुपमा अगाडि बढ्दा नेपालले फोरजीमा चित्त बुझाएर बस्ने कुरा हुँदैन। भविष्यमा फोरजीका उपकरण नै सहजरुपमा नपाउने अवस्था आउन सक्छ। त्यसैले फाइभजीलाई अहिले पाइलट प्रोजेक्टका रुपमा अगाडि बढाएर अनुभव बटुल्न टेलिकम अपरेटरलाई कँडेलको सुझाव छ।

‘सानो नेटवर्क बनाएर परीक्षण गर्न, त्यसको युजकेस के हुन सक्छ भनेर खोतल्नसम्मलाई ठिक छ। नभए नेपाललाई अहिले फाइभजी कामै छैन। व्यावसायिक तथा औद्योगिक प्रयोजनमा प्रयोग हुने स्थितिमाबाहेक फाइभजीको काम देखिंदैन,’ कँडेलले बिजमाण्डूसँग भने, ‘भारतमा समेत फाइभजीको औद्योगिक युजकेस छैन। जताततै फाइभजीको कुरा छ, हामी किन पछाडि पर्ने भनेर भारत आक्रामक बनेको हो।’ उनी टेलिहेल्थ, एआई र अटोमेसनका विविध विषयका लागि फाइभजी उपयोगी हुने ठान्छन्।

नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक बुद्धि आचार्य नयाँ प्रविधि प्रयोग गर्दै जानुपर्ने बताउँछन्। ‘हामी विश्‍वबजारको रफ्तारमा हिड्न सकेनौं भने भोलि धेरै पछाडि पर्छौं। फाइभजी प्रयोग गर्न अपरेटरहरुले स्पेक्ट्रम तथा पूर्वाधारमा ठूलो खर्च गर्छन्। प्रविधि समयअनुसार आउँछ। त्यस्तो प्रविधिलाई एडप्ट नगर्ने हो भने ब्याक लग हुन्छ। प्रविधिमा गरेको लगानीले पाँच वर्षमा प्रतिफल दिन सक्छ’, आचार्यले भने।

सरकारी स्वामित्वको नेपाल टेलिकम अहिले फाइभजी परीक्षणको चरणमा छ। परीक्षण भने निकै सुस्त छ। भू-राजनीतिक दबाबका कारण परीक्षणलाई तीव्रता नदिइएको हो। चिनियाँ प्रविधि तथा कम्पनी हुवावे नछाडे ‘रेड लाइन’ मा राख्‍ने अमेरिकाको चेतावनीपछि टेलिकमको फाइभजी परीक्षण सुस्त भएको हो।

परीक्षणकै क्रममा रहेकाले यसको बिस्तारमा के कति लगानी लाग्छ भन्ने यकिन आकडा आइसकेको छैन। टेलिकम अपरेटरले फाइभजीको उपयोग कुन प्रयोजनमा गराउने र लगानी कसरी उठाउने भन्ने अध्ययन पनि गरेका छैनन्।