फाइभजी प्रयोगकर्ता विश्वमा साढे १७ करोड बढे, भूराजनीतिक स्वार्थले नेपालमा परीक्षण नै सुस्त

बिजमाण्डू
२०८० भदौ २० गते १२:४५ | Sep 6, 2023
फाइभजी प्रयोगकर्ता विश्वमा साढे १७ करोड बढे, भूराजनीतिक स्वार्थले नेपालमा परीक्षण नै सुस्त

काठमाडौं। फाइभजी प्रयोगकर्ता विश्‍वमा १७ करोड ५० लाखले बढेका छन्। सन् २०२३ को दोस्रो त्रैमासमा फाइभजीको ग्राहक संख्या साढे १७ करोडले वृद्धि भएको हो। उक्त वृद्धिपछि विश्‍वमा फाइभजी प्रयोगकर्ताको संख्या १ अर्ब ३० करोड पुगेको स्वीडीस् दूरसञ्चार उपकरण निर्माता एरिक्सनले जनाएको छ।

Tata
GBIME

एरिक्सनले मंगलबार मोबिलिटी रिपोर्ट सार्वजनिक गर्दै विश्‍वका २६० दूरसञ्चार अपरेटरले फाइभजीको व्यावसायिक सेवा सुरुवात गरेको जनाएको छ। करिब ३५ अपरेटरले फाइभजी स्ट्यान्डएलोन (एसए) नेटवर्क लन्च गरिसकेका छन्।

त्यसैगरी फोरजी सब्सक्रिप्सन १ करोड १० लाखले बढेको छ। एरिक्सनका अनुसार फोरजीको ग्राहक संख्या ५ अर्ब २० करोड पुगेको छ। फोरजीको हिस्सा ६२ प्रतिशत छ।

एरिक्सनले गत जुनमा फाइभजी सब्सक्रिप्सन संख्या विश्वभर नै बढ्दै गएको र सन् २०२३ सम्ममा यो संख्या १ अर्ब ५० करोड पुग्ने आकलन गरेको थियो।

सन् २०२३ को दोस्रो त्रैमासमा ग्लोबल मोबाइल सब्सक्रिप्सन ८ अर्ब ३० करोड पुगेको छ। यो अवधिमा सब्सक्रिप्सन ४ करोडले बढेको छ। भारतबाट सबैभन्दा बढी प्रयोगकर्ता थपिएका छन्। भारतबाट ७० लाख, चीनमा ५० लाख र अमेरिकामा ३० लाख बढेको एरिक्सनले जनाएको छ।

एरिक्सनका अनुसार यो अवधिमा ग्लोबल मोबाइल पेनिट्रेसन १०५ प्रतिशत छ। मोबाइल ब्रोडब्यान्ड सब्सक्रिप्सन संख्या १० करोडले बढेर ७ अर्ब ४० करोड पुगेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५ प्रतिशतको वृद्धि हो। कुल मोबाइल सब्सक्रिप्सनको तुलनामा मोबाइल ब्रोडब्यान्डको हिस्सा ८८ प्रतिशत छ।

एरिक्सनका अनुसार २०२३ को पहिलो र दोस्रो त्रैमासमा मोबाइल नेटवर्क डेटा ट्राफिक करिब ६ प्रतिशतले बढेको छ।

नेपालमा भने सरकारी स्वामित्वको नेपाल टेलिकम अझै फाइभजी परीक्षणको चरणमा छ। परीक्षण पनि निकै सुस्त भएकाले उपभोक्ताले प्रविधिको उक्त चरणको प्रत्यक्ष अनुभव गर्न पाएका छैनन्। भू-राजनीतिक दबाबका कारण परीक्षणलाई तीव्रता नदिइएको हो। चिनियाँ प्रविधि तथा कम्पनी हुवावे नछाडे ‘रेड लाइन’ मा राख्‍ने अमेरिकाको चेतावनीपछि टेलिकमको फाइभजी परीक्षण सुस्त भएको हो।

नियामक नेपाल दूरसञ्चार प्राधिकरण फाइभजीको सुस्त परीक्षणप्रति सन्तुष्ट छैन। उपभोक्ताले पनि परीक्षण चाँडो सकेर सेवा बिस्तारका लागि आवाज उठाउँदै आएका छन्।