अनलाइन सपिङ थप सुरक्षित बनाउन ईसेवाको स्क्रो सुविधा, कसरी प्रयोग गर्ने ?

बिजमाण्डू
२०८० साउन २२ गते १८:०५ | Aug 7, 2023
अनलाइन सपिङ थप सुरक्षित बनाउन ईसेवाको स्क्रो सुविधा, कसरी प्रयोग गर्ने ?


काठमाडौं। अनलाइन सपिङलाई थप सुरक्षित बनाउन ईसेवाले ‘स्क्रो’ सुविधा ल्याएको छ। अग्रिम भुक्तानी गरेपनि भनेजस्तो सामग्री नहुने, सामग्री समयमै डेलिभरी नहुने तथा बिक्रेता सम्पर्कविहीन हुने जस्ता समस्या झेल्दै आबएका उपभोक्तालाई लक्षित गर्दै ईसेवाले नयाँ फिचर सार्वजनिक गरेको हो। यसबाट उपभोक्ताले ढुक्कसँग सपिङ गर्न सक्ने कम्पनीको दाबी छ।

Tata
GBIME

ईसेवाको मोबाइल एपमै उपलब्ध स्क्रो फिचरले प्रयोगकर्तालाई आफ्नो रकम सुरक्षित राख्न र लेनदेन प्रक्रियामा सुनिश्चितता प्रदान गर्न मद्दत गर्ने छ।

के हो स्क्रो सुविधा?

स्क्रोले अनलाइन लेनदेनमा एक तटस्थ तेस्रो पक्षका रूपमा काम गर्छ। यसले खरिदकर्ता र बिक्रेताबीच सुरक्षितरुपमा रकम आदानप्रदान सुनिश्चित गर्ने ईसेवाको भनाइ छ। सम्भावित जोखिमलाई कम गरी अनलाइन सपिङका लागि सुरक्षित वातावरणलाई बढावा दिने कम्पनीको दाबी छ।

यो सुविधाअन्तर्गत कुनै पनि लेनदेन समय प्रेषक (पठाउने व्यक्ति) ले प्राप्तकर्ता (पाउने व्यक्ति) लाई पठाएको रकम प्रेषक आफैंले आफ्नो खातामा ‘होल्ड’ गरेर राख्न मिल्छ। प्राप्तकर्ताले आफ्नो दायित्व पूरा गरेपछि बल्ल प्रेषकले होल्डमा राखेको रकम प्राप्तकर्ताले पाउन मिल्ने गर्न मिल्छ।

यो प्रयोगकर्ताले ‘सेन्ड मनी’ भन्ने फिचरभित्र प्रयोग गर्न सक्छन्। उदाहरणका लागि तपाईंले एक अनलाइन स्टोरबाट सामग्री खरिद गर्दै हुनुहुन्छ। त्यसका लागि अग्रिम भुक्तानी गर्नुपर्ने अवस्था छ तर तपाईंले त्यो स्टोरलाई विश्वास गर्न सक्नुभएको छैन। यस्तोमा तपाईंले त्यो स्टोरले भने बमोजिम रकम पठाएपनि उसले पाएको हुँदैन। तपाईंले पठाएको भएको रकम तपाईंकै खातामा होल्डमा हुन्छ। सामग्री पाएपछि बल्ल रकम जारी (रिलिज) गर्न सकिने ईसेवाले जनाएको छ। यो सुविधाले अपरिचित वा अज्ञात व्यक्तिलाई भुक्तानीका लागि पैसा पठाउने जोखिम कम गर्न मद्दत पुग्छ।

अनलाइन सपिङ गर्दा ग्राहक ठगिने प्रवृत्ति बढेका बेला यो सेवा निकै उपयोगी हुने ईसेवाको जिकिर छ।

स्क्रो सुविधा कहाँ उपलब्ध छ?

स्क्रो सुविधा ईसेवाको ‘सेन्ड मनी’ भन्ने विकल्पमा नै उपलब्ध छ। यसले व्यवस्थित कोष स्थानान्तरण सुनिश्चित गर्छ। अज्ञात प्रयोगकर्तालाई भुक्तानी गर्दा आफ्नो रकमको पनि सुनिश्चितता यो सुविधामार्फत गर्न सकिने ईसेवाले जनाएको छ।

यसले कसरी काम गर्छ?

स्क्रो सुविधा प्रयोगका लागि निम्न प्रक्रिया अपनाउनुपर्छ।

१. ईसेवाको एपमार्फत आफ्नो खाता लग–इन गर्ने।

२. होम स्क्रिनमै देखिने ‘सेन्ड मनी’ विकल्प रोज्ने।

३. प्राप्तकर्ताको विवरण र पठाउने रकम भर्ने।

४. सोही पृष्ठमा देखिने स्क्रो सेवा अन गर्नुे।

यसो गरेपछि सेवाबापतको शुल्क लाग्ने भन्दै नोटिफेकेसन आउने र त्यसलाई ‘मान्य छ’ भन्ने विकल्प रोज्नुपर्ने ईसेवाले जनाएको छ।

५. आवश्यकता अनुसार थप विवरण भर्नुपर्ने हुन्छ। सम्पूर्ण विवरण भरेर पुष्टि गर्ने।

यदि तपाईंले ईसेवामार्फत पहिलोपटक कसैलाई रकम पठाउँदै हुनुहुन्छ र यो सुविधा प्रयोग नगर्ने विकल्प रोज्नुभएको छ भने तपाईंलाई स्क्रो सुविधा प्रयोग गर्न सूचित गरिने ईसेवाले जनाएको छ। प्रयोगकर्तासँग यो सेवा प्रयोग नगर्ने विकल्प पनि छ।

६. ‘कन्फर्म’ बटन रोज्ने।

स्क्रो सुविधा प्रयोग गर्न मान्य हुनुभएपछि तपाईंलाई सेवाको प्रयोगमा लागू हुने सम्बन्धित शुल्कका साथ पुष्टिकरण पृष्ठ देखाइन्छ।

रकम पठाउने व्यक्तिले सेवा पाइसकेपछि होल्डमा बसेको रकम रिलिज गर्न मिल्छ। रिलिज गरेसँगै प्रेषकले पठाएको रकम प्राप्तकर्ताको वालेटमा स्थानान्तरण हुने र सेवा शुल्क भने प्रापकको वालेटबाट काटिने ईसेवाले जनाएको छ।

तपाईंले यी प्रकारका लेनदेन आफैं व्यवस्थापन गर्न सक्नुहुन्छ। रकम जारी गर्ने, अनुरोध गर्ने वा लेनदेनमा कुनै विवाद भएमा उजुरी फाइल पनि गर्न सकिन्छ। भनेको जस्तो सामग्री र सेवा नपाएमा प्रेषक र प्रापक दुवैले उजुरी दर्ता गर्ने व्यवस्था रहेको ईसेवाले जनाएको छ। यसरी गुनासो वा उजुरी ईसेवाको एपमै भएको ‘कम्प्लेन’ अर्थात् गुनासो विकल्पमा गएर गर्न सकिन्छ। गुनासो गरेपछि ईसेवाले दुवै पक्षको कुरा बुझेर सही व्यक्तिलाई भुक्तानी रकम पठाउने काम गर्छ।