मौद्रिक नीतिपछि नेप्से लगातार राताम्ये, किसान र जाल्पाको सुचना चुहिँदा मूल्य प्रभावित

बिजमाण्डू
२०८० साउन १० गते १५:२९ | Jul 26, 2023
मौद्रिक नीतिपछि नेप्से लगातार राताम्ये, किसान र जाल्पाको सुचना चुहिँदा मूल्य प्रभावित

काठमाडौं। मौद्रिक नीति पछिको तेस्रो कारोबार दिनमा पनि सेयर बजार सूचक नेप्से राताम्ये भएको छ। बुधबार पनि ८ अंक घट्दा नेप्से सूचक पछिल्लो तीन दिनमै ७१ अकं घटिसेकेको छ। सूचक २१५६ विन्दुमा ओर्लिसकेको छ।

Tata
GBIME

बजारको लय विपरित आज पनि किसान लघुवित्तको सेयर मूल्य ७ प्रतिशत बढेको छ। तर, सर्किट लाग्न भने सकेन। नभए आइतबारदेखि लघुवित्तको सेयरमा निरन्तर पोजिटिभ सर्किट लागिरहेको थियो। आज पनि कारोबारको बिचमा मूल्य लगभग १० प्रतिशत बढिसकेको थियो। 

किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तले मंगलबार मर्जरमा जाने सम्झौता गरेका छन्। उक्त सूचनाले नै पछिल्ला दिनयता कम्पनीको सेयर मूल्य उल्लेख्य रुपमा बढ्दैछ। पछिल्लो तीन दिनमा किसान लघुवित्तले २७ प्रतिशतको वृद्धि लिएता पनि जाल्पाको सेयर मूल्य भने १० प्रतिशत खस्किएको छ।

मर्जरअघि नै सुचना चुहिँदा एउटाको घट्ने र अर्कोको बढ्ने भएको हो।

बुधबारको अन्तिम कारोबार अनुसार, किसान लघुवित्त एक हजार २५ रुपैयाँ र जाल्पा सामुदायिक लघुवित्त १४ सय ८९ रुपैयाँमा किनबेच भएका छन्। दिनभरमा सबैभन्दा बढ्ने र घट्ने नै यि दुईवटा सेयर हुन्।

आज यूनिलिभर नेपालको सेयर मूल्यमा पनि फराकिलो गिरावट देखिएको। २५ सय रुपैयाँले आज मूल्य खसेको छ। यो ६.३३ प्रतिशत हो। ३७ हजारमा कम्पनी अन्तिम पटक किनबेच भयो।

बजार ह्वात्तै घट्न थालेपछि लगानीकर्तामा अन्योल भने बढ्दो छ। जसले गर्दा बजारमा किनबेच केहि सुस्त छ। बुधबार जम्मा २ अर्ब ४३ करोडको सेयर खरिद बिक्री भयो। १०० रुपैयाँका दरले बुधबार ग्लोबल आइएमई बैंकको १५ लाख १२ हजार ५३९ कित्ता संस्थापक सेयर किनबेच भयो।