
काठमाडौं। पर्यटनमन्त्री सुदन किरातीले नेपालका लागि कोरियाली राजदूत प्राक तेइयुङसँग नेपाल-कोरिया सिधा उडानको प्रस्ताव राखेका छन्। बिहीबार भएको औपचारिक भेटमा उनले नेपाल-कोरिया सिधा उडानको प्रस्ताव गरेका हुन्।
यस्तै उनले इपीएसअन्तर्गत कोरिया रोजगारीमा गएका नेपालीको सुविधा र सुरक्षाको विषयमा पनि छलफल गरेको मन्त्री सचिवालयले जनाएको छ।
‘नेपाल-कोरियाको दुईतर्फी पर्यटन प्रवर्द्धनसँगै सिधा हवाई उडान, रोजगारीमा जाने नेपाली युवाको सुविधा र सुरक्षाको विषयमा छलफल भएको थियो’, सचिवालयका एक कर्मचारीले भने, ‘छलफल भएका विषयमा राजदूत तेइयुङले कुटनीतिक रुपमा यी प्रक्रिया अघि बढाउने बताउनुभएको छ।’
नेपाल-कोरियाबीच सन् २००४ सेप्टेम्बर २१ मा दुईपक्षीय हवाई सम्झौता भएको थियो। यसअन्तर्गत साताको ८ सय र वार्षिक ४१ हजार ६०० यात्रुलाई सेवा दिन सकिने सम्झौता भएको थियो। नेपाल वायुसेवा निगमले यसका लागि उडान प्रक्रिया सुरु गरिसकेको जनाएको छ। ‘अहिले हामी अनुमति लिने प्रक्रियामा छौं। कुटनीतिक रुपमा प्रक्रिया अघि बढिरहेको छ।’