सेयर बजारमा ६ महिना यताकै उच्च कारोबार, यी हुन् टप कारोबार गर्ने कम्पनी

बिजमाण्डू
२०८० असार १० गते १६:२३ | Jun 25, 2023
सेयर बजारमा ६ महिना यताकै उच्च कारोबार, यी हुन् टप कारोबार गर्ने कम्पनी

काठमाडौं। आइतबार सेयर कारोबारमा ६ महिना यताकै उच्च कारोबार भएको छ। बजार रफ्तारमा बढ्दा कारोबारमा पनि निकै सुधार देखिएको हो।

Tata
GBIME
Nepal Life

आइतबार ६ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको छ। जुन करिब ६ महिना यताकै उच्च कारोबार हो। यसअघि गत पुस २६ गते ७ अर्ब ६५ करोड बराबकरो कारोबार भएको थियो। उक्त दिन सेयर बजार २२७७ विन्दुमा पुगेको थियो।

त्यसयता बजारसँगै कारोबार पनि निरन्तर घट्दा वैशाख २८ गते ५७ करोड रुपैयाँको मात्र कारोबार भएको थियो। जेठ १ गते नेप्से परिसूचक १८०७ विन्दुमा आइपुगेको थियो।

तथापि जेठ २ गतेबाट निरन्तर बढ्न सुरु गरेको नेप्से परिसूचक आइतबार करिब चार महिना यताकै उच्च विन्दुमा पुगेको छ। आज नेप्से परिसूचक ६२.२१ अंकले बढेर २११७.७३ विन्दुमा आइपुगेको छ। यसअघि गत फागुन २ गते नेप्से परिसूचक सोही विन्दुमा थियो।

यी हुन् कारोबार हुने टपटेन कम्पनी

आज कारोबारका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा छ। कम्पनीको ४९ करोड रुपैयाँको कारोबार भएको छ। जसकारण कम्पनीको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ। आज कम्पनीको सेयर मूल्य प्रति कित्ता ५५ रुपैयाँले बढेको छ। शिवम् जेठ महिनामा सर्वाधिक कारोबार गर्ने कम्पनी हो। कम्पनीले जेठमा २ अर्ब ७५ करोड रुपैयाँ बराबरको कारोबार गरेको थियो।

यस्तै सोल्टी होटलको ३८ करोड बराबरको सेयर किनबेच भएको छ। पर्यटक आगमन बढ्नाले हाल कम्पनीले व्यवसाय बढिरहेको छ। कम्पनीले आफ्नो सेयर मूल्यमा नयाँ रेकर्ड बनाउँदै छ। कारोबारसँगै होटलको सेयर मूल्य पनि प्रति कित्ता ३.७० रुपैयाँले बढेको छ।

‍आइतबार हिमालयन डिष्ट्रिलरीको २४ करोड, आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्सको २१ करोड, नेपाल लाइफ इन्स्योरेन्सको २० करोड, नेपाल टेलिकमको १८ करोड, सूर्यज्योति लाइफ इन्स्योरेन्सको १७ करोड, एशियन लाइफ इन्स्योरेन्सको १५ करोड, नागरिक लगानी कोषको १४ करोड र हिमालयन एभरेष्ट इन्स्योरेन्सको १३ करोड रुपैयाँबराबरको सेयर कारोबार गरेको छ।

बजार बढ्दा एक दर्जन कम्पनीको मूल्यमा सर्किट

आइतबार सेयर बजारले ६२ अंकको छलाङ मार्दा एक दर्नज कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

आज विभिन्न कम्पनी तथा म्युचुअल फन्डहरुको मूल्य करिब १० प्रतिशतले बढेको छ। लाइफ इन्स्योरेन्स कर्पोरेशन, हिमालयन लाइफ इन्स्योरेन्स, सामलिङ पावर कम्पनी, प्रभु लाइफ इन्स्योरेन्सलगायत एक दर्जन कम्पनीको सेयर मूल्य बढेको हो।

आज सबैभन्दा बढी कमाउने कम्पनीमा लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल रहेको छ। यस कम्पनीको सेयर मूल्य प्रति कित्ता १५८ रुपैयाँ(१०%)  ले बढेको हो। यसैगरि हिमालयन लाईफ इन्स्योरेन्सको १० प्रतिशत, एनएमबी-५० को इकाइको मूल्य १० प्रतिशतले बढेको छ।

यस्तै, सामलिङ पावर कम्पनी, बिपीडब्लू लघुवित्त, सिटी होटल, शिवम् सिमेन्ट, हिमालय ऊर्जा विकास लिमिटेड, नेपाल इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको सेयर मूल्य पनि करिब १० प्रतिशतले बढेको हो।