८० करोड नाफा विवादले सुपारी कोटा विवाद छताछुल्ल, यस्तो छ केपी ओलीसँगको कनेक्सन

अनन्तराज न्यौपाने
२०८० बैशाख २१ गते १९:०५ | May 4, 2023
८० करोड नाफा विवादले सुपारी कोटा विवाद छताछुल्ल, यस्तो छ केपी ओलीसँगको कनेक्सन

विराटनगर। सौर्य एयरलाइन्सका सञ्चालक दीपक पोखरेलको नेतृत्वमा रहेको ‘सुपारी–समूह’–का एक साझेदार प्रदीप मित्तलले २०७८ असोज महिनासम्ममा १२ हजार टन सुपारी र ३५० टन पोस्तादानाको कारोबार भएको बताएका छन्।

Tata
GBIME
Nepal Life

झापा बिर्तामोडका व्यवसायी मित्तलले उद्योग संगठन मोरङ र मोरङ व्यापार संघमा निवेदन दिँदै हालसम्मको कारोबारको विवरण खुलाएका हुन्। तर यसको विक्रीबाट कति प्राप्त भयो भन्ने चाहिँ उनले खुलाएका छैनन्।

मित्तलले गत हप्ता संगठन र संघमा आफ्नो ८० करोडको हिसाब विराटनगरका दुई साझेदार प्रदीप मुरारका र दिनेश राठीले नदिएको र त्यसका लागि मध्यस्थता गरिपाऊँ भन्दै निवेदन पेश गरेका थिए। संघ र संगठन दुबैले हालसम्म मित्तलको निवेदनउपर कुनै कारबाही अघि बढाएका छैनन्।

मित्तलले असोजपछि मुरारकासँग इटहरीमा हिसाबकिताबको बैठक भएको जनाएका छन्। बैठकमा मुरारका र मित्तलको चर्काचर्की परेको थियो। मित्तलले यसपछि मुरारकाले आफूलाई पाखा लगाएर अरू साझेदारसँग मिलेर आफूलाई एक्लो बनाएको दुखेसो निवेदनमा गरेका छन्।

साथै आउन बाँकी रहेको १२ हजार टन सुपारी र १ हजार ६५० टन पोस्तादानामा मुरारकाकै प्रपञ्चमा आफूलाई १८ प्रतिशतको साझेदारबाट हटाइएको पनि मित्तलले उल्लेख गरेका छन्। उनले आफूले हिसाब माग्दा मुरारका र राठीले नबुझिने गरी सानो कागजको टुक्रामा लेखेर दिएको र हिसाबको विस्तृत विवरण नखुलाइएको जनाएका छन्।

निवेदनमा खुलाइएअनुसार साझेदारहरूले २०७७ साउन १९ मा भएको बैठकबाट सुपारी आयात गर्ने सहमति गरेका थिए। यसपछि २०७७ असोजमै अर्को बैठक गरी उनीहरूबीच सेयरको बाँडफाँड भएको थियो। तर मुरारकाले एकपक्षीय रूपमा आफूलाई १८ प्रतिशतको साझेदारबाट किनारा लगाएको मित्तलको भनाइ छ।

उनले निवेदनमा झापाका चित्र कुइँकेल र होम पाण्डेका सहयोगमा केपी ओली प्रधानमन्त्री भएका वेलामा सुपारीको कोटा प्राप्त भएको बताएका छन्। त्यसपछि झापाका दीपक पोखरेल र गोविन्द सरियासहितको टिम बनेको स्पष्ट पारेका छन्। चित्र र होम दुबै पञ्चायत कालमा भद्रपुरको मेची क्याम्पस पढ्थे।

दुबैको मूलघर झापाको बिर्तामोडस्थित गरामुनि हो। हाल दुबै धेरैजसो काठमाडौँमै बस्छन् । उनीहरूको ओलीसँग घनिष्ठ सम्बन्ध छ। मेची क्याम्पसमा उनीहरू तत्कालीन माले पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुका नेता थिए। चित्र सुखानी हत्याकाण्डका सहिद कृष्ण कुइँकेलका भाइ हुन्।

बहुदल आएपछि दुबैले साझेदारीमा व्यवसाय सुरु गरेका थिए। उनीहरूले विभिन्न सिमेन्ट उद्योगमा लगानी गरेका छन्। होमले भर्खरै बिर्तामोडमा सिद्धार्थ होटल ग्रान्ड सिटी नामको ठुलो होटल पनि खोलेका छन्। मित्तलले आफू २ दशकभन्दा बढी समयदेखि सुपारीको आयातव्यापारमा संलग्न रहेको र ठूलो घाटामा परेको निवेदनमा लेखेका छन्।

उनले आफ्नो सुरुको सेयर ६ प्रतिशतबाट १८ प्रतिशत बनाइएको र फेरि अर्को बैठकमा २१ प्रतिशत सेयर दिइएको खुलाएका छन्। उनले मुरारका र राठीका तर्फबाट अन्य साझेदारलाई बेइमानी र धोका भएको आरोप पनि लगाएका छन्। मित्तलले निवेदनमा साझेदारमा विश्वासघात हुने काम किन गरियो भन्ने प्रश्न गर्दै साझेदारबीच भएको सहमतिका विपरीत नाफाका प्रलोभनमा परेर अर्को बाटोबाट सुपारी निकासी गरी सहमति किन तोडियो भन्दै आक्रोश व्यक्त गरेका छन्।

तर निवेदनमा कुन बाटोबाट सुपारी निकासी गर्ने सहमति भएको थियो र कुन बाटो प्रयोग गरेको भन्ने चाहिँ स्पष्ट पारिएको छैन।
नेपालमा इन्डोनेसियाबाट आयातित सुपारीको अधिकांश हिस्सा चोरी निकासी भएर भारत पुर्यााइन्छ। यसैबिच सुपारी समूहले गत वर्ष त्यही सुपारीलाई नेपालको हो भन्ने झुटो उत्पत्तिको प्रमाणपत्र बनाएर भारत निकासी गरेको थियो।

गत २०७८ साउनमा यसरी निकासी भइरहेको सुपारी नेपाल प्रहरीले भारतीय भूमिबाट पक्राउ गरेर इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएपछि सुपारीको अवैध धन्दा छताछुल्ल भएको थियो। उद्योग संगठनका पदाधिकारीले मित्तललाई यसरी झुटो कागज र उत्पत्तिको प्रमाणपत्र बनाएर सुपारी भारत निकासी गरेको मन नपरेको अर्थ लगाएका छन्।

मित्तलले आफूले र अन्य सबै साझेदारले आयात गरेको सुपारीको मूल्यमा किलोको २० देखि ३० रुपैयाँको अन्तर परेको बताएका छन्। उनले तर आफ्नो (मित्तलको) फरक रेसियोलाई मात्र मुरारका र राठीले हिसाब गरेको मुरारका र राठीले आफ्नो रेसियोको चाहिँ हिसाबै नगरेको भन्ने आरोप पनि लगाएका छन्।

मित्तलले आफूसित मुरारका र राठीले सुपारी र पोस्तादानाको रकम लिएर कारोबार गरेको तर हिसाबकिताबको आम्दानी चाहिँ नदिएको भन्ने दुखेसो पनि निवेदनमा गरेका छन्।