दुई महिनामा अमेरिकाका तीन प्रमुख बैंक टाट पल्टिए, सोमबार फर्स्ट रिपब्लिकलाई जेपी मोर्गनले किन्यो

बिजमाण्डू
२०८० बैशाख १८ गते १६:४० | May 1, 2023
दुई महिनामा अमेरिकाका तीन प्रमुख बैंक टाट पल्टिए, सोमबार फर्स्ट रिपब्लिकलाई जेपी मोर्गनले किन्यो

काठमाडौं। दुई महिनाको अन्तरालमै अमेरिकाका तीन प्रमुख बैंक टाट पल्टिएका छन्। सिलिकन भ्याली बैंक, सिग्नेचरपछि फर्स्ट रिपब्लिक पनि टाट पल्टिएको छ।

Tata
GBIME
Nepal Life

इन्भेष्टमेन्ट बैंकिंङको टप टायर कम्पनी जेपी मोर्गनले समस्याग्रस्त अमेरिकी बैंक फर्स्ट रिपब्लिकलाई किन्ने तयारी गरेको छ। अमेरिकाको सबैभन्दा ठूलो बैंक जेपी मोर्गन एक्विजिसनपछि अझ ठूलो बन्ने भएको छ।

बैंकलाई टाट उल्टिनबाट जोगाउन मार्चमा अमेरिकाका ११ ठूला बैंकले संयुक्त रुपमा ३० अर्ब डलर दिएका थिए। सम्पत्तिको आधारमा यो वासिङट्न म्युचुअलपछि पतन हुने दोस्रो ठूलो अमेरिकी बैंकको हो। जुन सन् २००८ को वित्तीय संकटको समयमा पतन भएको थियो।

फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन (एफडीआइसी) ले विज्ञप्तिमा जारी गर्दै फर्स्ट रिपब्लिक बैंक सोमबार टाट पल्टिएको घोषणा गरेको हो। नियामकले शुक्रबार नियन्त्रणमा लिएको बैंक सोमबारै बिक्री भइसकेको छ।

जसअनुसार अब जेपी मोर्गनले फर्स्ट रिपब्लिक बैंकको सबै निक्षेप र सम्पत्तिहरू नियन्त्रणमा लिनेछ। एफडीआइसीले फर्स्ट रिपब्लिकको सम्पत्तिहरूको लागि जेपी मोर्गनले लगाएको बिड अनुमोदन गरेको हो। बैंकसँग २२९ अर्ब डलर बराबरको सम्पत्ति छ।

सम्झौता अनुसार आठवटा प्रदेशमा रहेको फर्स्ट रिपब्लिक बैंकको ८४ वटा कार्यालयहरू जेपी मोर्गनको नामबाट सञ्चालन हुनेछन्। 

एफडीआइसीको अनुमान अनुसार बैंकको घाटा कभर गर्न इन्स्योरेन्सले लगभग १३ अर्ब डलर तिर्नुपर्नेछ। सिलिकन भ्यालीको भ्यालुएसन २० अर्ब डलर थियो।

बैंक अफ अमेरिकाका अनुसार निक्षेपको लगभग ७० प्रतिशत निक्षेप बीमा थिएन। जुन एफडीआइसीको दुई लाख ५० हजार डलरको ग्यारेन्टी सीमा भन्दा ठूलो छन्।

सनफ्रान्सिस्कोस्थित बैंकको सेयर गत हप्ता ७५ प्रतिशतभन्दा बढीले घट्यो। मार्चमा मात्रै बैंकका ग्राहकहरूले १०० अर्ब निक्षेप निकालेको खुलेको थियो।

मार्चमा सिलिकन भ्याली बैंकको पतनले बैंकिङ संकटको डरलाई फराकिलो बनाएको जानकारहरुको टिप्पणी छ। सिलिकन भ्याली बैंकपछि ध्यान फर्स्ट रिपब्लिकमा तानिएको थियो।

बैंकले पनि सिलिकन भ्याली जस्तै, टेक स्टार्टअप समुदायलाई अत्यधिक कर्जा प्रवाह गर्ने प्रमुख मध्ये थियो। बैंकले धनाढ्यलाई बढी प्राथमिकता दिने गरेको थियो। उनीहरूलाई बैंकमा निक्षेप राखे बापत कम मूल्यांकनको धितो राखेर कर्जा लगानी दिने गरेको थियो।

तर त्यो मोडेलको व्यवसाय सिलिकन भ्याली टाट पल्टिए लगत्तै खुलासा भयो। जसले फर्स्ट रिपब्लिकलाई त्यतिबेलै अप्ठेरोमा पारिसकेको थियो। चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणमा बैंकका क्लाइन्टहरूले १०२ अर्ब डलरभन्दा बढी निक्षेप फिर्ता लिएको देखिएको थियो। जसयता बैंकको सेयर व्यापक रुपमा घटेको हो।

असुरक्षित निक्षेपहरू बाहेक फर्स्ट रिपब्लिकले फिक्स्ड लङ टर्म ब्याजदरमा धेरै ऋणहरू प्रवाह पनि गरेको थियो। जुन फेडरल रिजर्भले बारम्बार ब्याजदर बढाएको कारण ब्याकफायर हुन पुग्यो।

२०२२ को अन्त्यसम्म बैंकसँग १७६ अर्ब डलर निक्षेप थियो। तर, गत सोमबारसम्म बैंकबाट १०२ अर्ब निस्किसकेको थियो। पोर्टफोलियोको ४० प्रतिशत रकम पहिलो तीन महिनामै निस्किएको हो। स्थिति नाजुक हुन थालेपछि बैंकले ९२ अर्बको अन्तिम ऋणदाता सुविधा पनि उपयोग गर्नुपरेको थियो।

सन् १९८५ मा स्थापना भएको फर्स्ट रिपब्लिक अमेरिकाको १४ औं ठूलो बैंक थियो। अन्य दुई असफल बैंक सिलिकन भ्याली र सिग्नेचर जस्तै फर्स्ट रिपब्लिक ऋण र लगानीको असन्तुलित भारले थिचिएर समाप्त भयो। मुद्रास्फीति नियन्त्रण गर्न केन्द्रीय बैंक फेडरल रिजर्भले तीव्र रूपमा ब्याज दरहरू बढाउँदा अर्बौं डलरको लगानी गुमाएको थियो।