सुपारी नाफामा व्यवसायीबीच मारामार, ८० करोडमा मुरारका र राठीविरुद्ध उजुरी



अनन्तराज न्यौपाने
२०८० बैशाख १७ गते ०९:०३ | Apr 30, 2023
सुपारी नाफामा व्यवसायीबीच मारामार, ८० करोडमा मुरारका र राठीविरुद्ध उजुरी

विराटनगर। सौर्य एयरलाइन्सका सञ्चालक दीपक पोखरेलका नेतृत्वमा रहको ‘सुपारी समूह’ मा हिसाबकिताब र लेनदेनको झगडा उत्कर्षमा पुगेको छ।

Tata
GBIME
Nepal Life

समूहका एक साझेदार झापाका प्रदीप मित्तलले आफूले पाउनुपर्ने ८० करोड रुपैयाँ आफ्ना दुई साझेदारले नदिएको भन्दै निवेदन दिएका छन्।

यही निवेदनपछि झगडा सतहमा आएको हो। मित्तलले उद्योग संगठन मोरङ र मोरङ व्यापार संघमा निवेदन दिएका हुन्। उनले निवेदनमा विराटनगरका साझेदारले आफ्नो (मित्तलको) ८० करोडको हिसाब नबुझाएको भन्दै आवश्यक पहल गरिदिन अनुरोध गरेका हुन्।

मित्तलले आरोपित गरेका साझेदारमा प्रदीप मुरारका र दिनेश राठी छन्। उनले सुपारीको कारोबारबाट समूहलाई ५ सय करोडभन्दा बढी फाइदा भएको निवेदनमा खुलाएका छन्। व्यापार संघका अध्यक्ष नवीन रिजालले संघमा मित्तलले निवेदन दिएको पुष्टि गरे।

अध्यक्ष रिजालले आफूले दुवै पक्षलाई बोलाउने र आए भने कुरा गराइदिने बताए। ‘हामीले दुवै पक्षलाई बोलाउने हो,’ रिजालले भने, ‘आए भने कुरा गराइदिन सक्छौं। यहाँभन्दा बढी त उहाँहरूको हिसाबकिताबमा हामीले कसरी हस्तक्षेप गर्नु ?’

निवेदक मित्तलले आफू सोमवारसम्म केही बोल्ने पक्षमा नरहेको जनाए। ‘व्यापार संघका अध्यक्ष रिजालजीले आइतवार–सोमवारसम्ममा यो समस्याको समाधान गर्छु भन्ने वचन दिनुभएको छ,’ उनले बिजमाण्डूसँग भने, ‘त्यसैले सोमवारसम्म पर्खन्छु।’

उद्योग संगठनका उपाध्यक्ष नन्दकिशोर राठीले यो विषय उद्योगसँग सम्बन्धित नभएकाले संगठनले केही गर्न नसक्ने जानकारी दिए। राठीको भनाइ थियो, ‘यो व्यापारिक लेनदेनको विषय हो। उद्योग संगठनले हेर्ने गरेको छैन।’

मित्तलले आरोपित गरेका मुरारका र राठी बिजमाण्डूको सम्पर्कमा आउन चाहेनन्। केपी ओली प्रधानमन्त्री भएका बेला पोखरेलको समूहले २५ हजार टन सुपारी आयात गर्ने कोटा पाएको थियो। जसमा अम्बे ट्रेडिङ, राठी ट्रेडिङ, ग्लोबल विराट इन्टरनेशनल, पीके ट्रेडर्स, नेसनल मोटर्स र तिरुपति ट्रेड लिंकले सुपारी आयात अनुमति पाएका थिए।

समूहमा व्यवसायी पोखरेलसहित विराटनगरका व्यवसायी दिनेश राठी, प्रदीप मुरारका र सञ्जय अग्रवाल तथा झापाका गोविन्द सरिया र प्रदीप मित्तल छन्। समूहले इन्डोनेसियाबाट सुपारीको आयात गरेको थियो। इन्डोनेसियाबाट आयात गरेको सुपारीलाई यही समूहले विराटनगरका नवीन घिमिरेका नाममा रहेको मनकामना ट्रेडर्सबाट भारत निकासीसमेत गरेको छ। घिमिरे पोखरेलका नातेदार हुन्।

समूहले उक्त सुपारी नेपालमा उत्पादन भएको भन्ने झुठो उत्पत्तिको प्रमाणपत्र बनाएर भारत निर्यात गरेको हो। विराटनगर भन्सारका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा विराटनगर नाका हुँदै ९० करोड ६७ लाख बराबरको २२ लाख ४८ हजार ८ सय ५ किलो सुपारी भारततर्फ निकासी गरिएको छ।

गत साउन ५ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयको दबाबमा नेपाल प्रहरीले भारत निर्यात भइरहेको ८ ट्रक सुपारी पक्राउ गरेर राजस्व अनुसन्धान कार्यालय, इटहरीमा बुझाएको थियो। राजस्व अनुसन्धान विभागले सुपारी छाड्न निर्देशन दिएको भन्दै इटहरीस्थित कार्यालयले असोज १३ गते उक्त सुपारी छाडेको थियो। त्यसपछि हालसम्म विराटनगर नाकाबाट सुपारीको निकासी भएको छैन।