अवसरले ल्यायो ५ अर्बको इक्विटी डाइभर्सिफाइड फण्ड, इकाइ व्यक्तिगत तवरबाट बिक्री गरिँदै

बिजमाण्डू
२०७९ फागुन २१ गते १२:५३ | Mar 5, 2023
अवसरले ल्यायो ५ अर्बको इक्विटी डाइभर्सिफाइड फण्ड, इकाइ व्यक्तिगत तवरबाट बिक्री गरिँदै

काठमाडौं। अवसर इक्विटी लिमिटेडले विशिष्टीकृत लगानी कोष नियमावली अन्तर्गत पहिलो प्राइभेट इक्विटी फण्ड सञ्चालनमा ल्याएको छ। कोष व्यवस्थापक अवसर इक्विटीले ५ अर्ब रुपैयाँको ‘अवसर इक्विटी डाइभर्सिफाइड फण्ड’ दर्ता गराएको हो।

Tata
GBIME

१० वर्षे बन्दमुखी प्रकृतिको कोष प्रति इकाई एक हजार रुपैयाँका दरले कुल ५० लाख इकाई जारी गर्ने योजना हो। अवसरका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाका अनुसार कोषको इकाई व्यक्तिगत तवरबाट बिक्री गरिनेछ। कोषमा सर्वसाधारण लगानीकर्ताको लगानी हुनेछैन।

‘प्राइभेट प्लेसमेन्टबाट कोषको इकाई बिक्री गरिँदै छ। लगानीकर्ताले चाहे अनुरुप लगानीको क्षेत्र रोजेर लागनी गरेका हुन्। त्यसैले लगानीकर्ता अनुसारको भिन्ना भिन्नै सम्झौता गरिएको छ,’ सीइओ तिमिल्सिनाले भने।

सामान्यतया यस्ता कोषहरुले लगानी उठाउँदै गर्दा प्रारम्भिक चरणमा लगानीकर्तासँग कुन क्षेत्रमा लगानी गर्ने बारे सम्झदारी गर्छन्। तोके बमोजिमको क्षेत्रमा सम्बन्धित लगानीकर्ताको लगानी सुरक्षित गरिने तिमिल्सिना बताउँछन्।

हरेक लगानीकर्तासँग प्रतिबद्धता रकम र लगानी क्षेत्र बारे वृहत् छलफलपछि ‘वान टु वान’ सम्झौता तयार गरिएको उनको भनाइ छ। विशिष्टीकृत लगानी कोष नियमावलीले यस्तो सम्झौताका बारे मौन रहे पनि अन्तर्राष्ट्रिय अभ्यासहरुलाई अवलम्बन गरि समझदारीहरु तयार गरिएको तिमिल्सिनाको दाबी छ। सम्झौता र प्रतिबद्धताले पूर्णता पाएपछि मात्र कोषलाई धितोपत्र बोर्डमा दर्ताका लागि आवेदन दिन सकिन्छ।

अधिकांश प्रतिबद्धता रकम आइसकेकाले कोषले फागुन १५ गतेबाट इकाई बिक्री सुरु गरेको हो। जसमध्ये १० प्रतिशतको प्रतिबद्धता चारवटा वाणिज्य बैंकले गरेका छन्। अवसर इक्विटीका प्रवर्द्धक सिद्धार्थ, सानिमा, कुमारी र नेपाल बैंकले ५० करोड लगानी गर्दैछन्। चैत ८ गते इकाई बिक्री बन्द हुँदैछ।

कोषले लगानीको पहिलो प्राथमिकतामा उत्पादन तथा प्रशोधन, रियल स्टेट, इ-कमर्स र आइसी, ऊर्जा, पर्यटन लगायत क्षेत्रमा राखेको छ। कोष व्यवस्थापकका अनुसार २५ प्रतिशतका दरले प्रतिफल सृजना गर्ने योजना छ। न्यूनतम ८ प्रतिशत दिने जनाएको छ।