बीवाइडीको एटो-३ पनि सय किलोवाट भन्दा कमको आउँदै, साइमेक्सले थाल्यो प्रक्रिया

शुक्र गिरी/बिजमाण्डू
२०७९ पुष ३ गते १५:५५ | Dec 18, 2022
बीवाइडीको एटो-३ पनि सय किलोवाट भन्दा कमको आउँदै, साइमेक्सले थाल्यो प्रक्रिया

काठमाडौं। सय किलोवाट भन्दा बढीको गाडी बिक्री हुन कठिन भएपछि बीवाइडीको नेपालको आधिकारिक बिक्रेता साइमेक्स इन्कले सय किलोवाटको एटो-३ आयात गर्ने प्रक्रिया अगाडि बढाएको छ।

Tata
GBIME
Nepal Life

चालु आर्थिक वर्षको बजेटमार्फत सय किलोवाट भन्दा माथिको विद्युतीय गाडीको कर बढाएपछि एटो-३ को मूल्य ९० लाख पुगेको थियो। १५० किलोवाटको एटो-३ को मूल्य करोडको हाराहारीमा पुगेपछि बिक्री सोचे अनुसार भएन। त्यसपछि साइमेक्सले सय किलोवाट भन्दा कमको गाडी उत्पादन गरेर पठाउन बीवाइडीलाई औपचारिक आग्रह गरेको छ।

साइमेक्समा कार्यरत एक कर्मचारीका अनुसार बीवाइडीको ‘साउथ एसिया रिजनल मिट’ नेपालमा भएको बेला नै साइमेक्सले औपचारिक आग्रह गरेको थियो। यो भेलामा बीवाईडी हेडक्वार्टरबाट समेत उच्च अधिकारीहरु आएका थिए। बीवाइडीका उच्च अधिकारीले गाडी बिक्री राम्रो हुने भए सय किलोवाटको उत्पादन गरेर नेपाल पठाउन सकिने बताएका थिए।

'वार्षिक टार्गेट लिएर सय किलोवाटको एटो-३ उत्पादनका लागि आग्रह गर्दैछौं। यो टार्गेटकै कारण उनीहरु उत्पादन गर्न सहमत भएका छन्', ती कर्मचारीले भने, ''यो गाडीको इन्टेरियर तथा एक्स्टेरियर केही परिवर्तन हुने छैन। तर यसको पावर मात्र कम हुनेछ।' कम्पनीले सय किलोवाट भन्दा कमको एटो-३ ६० लाख रुपैयाँ हाराहारीमा बेच्न सकिन्छ।

यसभन्दा अघि एमजीले पनि उत्पादक कम्पनीलाई १०० किलोवाटभन्दा कम क्षमताको इभी निर्माण गर्न प्रस्ताव गरिसकेको छ। एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले गाडी ५०० युनिट नेपाल ल्याउने गरी योजना बनाएर औपचारिक प्रस्ताव गरेको हो।

कर बढेपछि बिक्री छैन

 सय किलोवाट भन्दा माथिको कर बढेसँगै विभिन्न विद्युतीय गाडीको मूल्य ३० देखि ७५ लाख रुपैयाँसम्म महँगिएको छ। हुन्डाईको आयोनिक ५, एमजीको जेडएस इभी, बिवाइडीको एटो-३ र टेस्लाको मूल्यमा ठुलो अन्तर आएको छ। जसमा हुन्डाईको आयोनिक ५ को मूल्य १ करोड १६ लाख रुपैयाँ रहेको छ। गत वर्ष यो गाडीको मूल्य ८० लाख ९६ हजार रुपैयाँ थियो।

कर बढेपछि यो गाडीको मूल्य ३६ लाख रुपैयाँले बढेको छ। मूल्य बढेपछि ग्राहक आउनै छाडेको छ।

ती कर्मचारीका अनुसार पछिल्लो समय कोना किन्नेको संख्या बढेको छ। सय किलोवाट भन्दा कम भएकोले कोनाको मूल्य बढेको छैन। हालसम्म कोना ४०० युनिटभन्दा बढी बिक्री भएको छ। तर आयोनिक ५ को भने ८० युनिट बिक्री भएको कम्पनीले जनाएको छ। यो पनि कर बढ्नु अगाडि ७० प्रतिशतले बिक्री भएको थियो। तर करपछि ३० प्रतिशतले बिक्री हुन पनि कठिन भएको छ।

यस्तै एमजी इभीको बुकिङमा पनि पहिलेको जस्तो क्रेज छैन। एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सका अनुसार करले गर्दा एमजी जेडएस इभीको बुकिङ गर्ने क्रेज घटेको हो।

कम्पनीले कर बढाउन अघि ५०० युनिटभन्दा धेरै इभीको बुकिङ लिएको थियो। तर कर बढेपछि धेरै जस्तो बुकिङहरु फिर्ता गरिएको थियो। उनीहरुले करभन्दा अगाडि एमजी जेडएस इभीका लागि ५१ लाख ९९ हजारमा कारोबार भइरहेको थियो। करपछिको मूल्य ८१ लाख ९९ हजार तोकेर बुकिङ खुल्ला गरिएको थियो। 

नयाँ मूल्यमा गाडी बुकिङ गर्नेको संख्यामा गिरावट आएको कम्पनीले जनाएको छ। कम्पनीले बुकिङ खुलाएको एक महिना भइसकेको छ। तर हालसम्म कम्पनीले सोचेको जस्तो बुकिङ प्राप्त गर्न सकेको छैन। कर बढ्नु अघि ५०० भन्दा धेरै गाडी बुकिङ लिएको एमजीले हाल १०० वटा समेतको बुकिङ लिन सकेको छैन।

यो वर्षको चार महिनामा १०० किलोवाट भन्दा माथिका इभिहरु जम्मा २८ वटा नेपाल भित्रिएका छन्।