
काठमाडौं। नेपाल राष्ट्र बैंकले डेढ प्रतिशत बिन्दुले घटाएको ओभर नाइट तरलता सुविधाले बैंकहरुको लागत घटेर ऋण सस्तो हुने जनाएको छ।
शुक्रबार सार्वजनिक मौद्रिक समिक्षाका बारेमा प्रष्टिकरण दिन आयोजित पत्रकार सम्मेलनलाई संबोधन गर्दै राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले सेयर बजारका बारेमा पनि बताएका छन्।
सेयर बजारलाई किन सहजीकरण नगरेको भनेर सोधिएको प्रश्नमा उनले समष्टीगत आर्थिक अवस्था हेरेर राष्ट्र बैंकले निर्णय गर्ने भएको हुँदा अहिले सम्पति बजार सम्बन्धि पुरानो नीतिलाई निरन्तरता दिएको बताए।
अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले बजारमा बढ्दो तरलताले सेयर बजारलगायतका क्षेत्रलाई सकारात्मक प्रभाव पार्ने बताए। उनले अहिले सम्पति बजार बढाउने खालको नीति लिँदा माग बढेर आयात बृद्धी भइ बाह्य क्षेत्र सन्तुलन बिग्रिन सक्ने जोखिम औंल्याए।
श्रेष्ठले ऋणीलाई सहजीकरण गर्न पुनर्तालिकीकरण र पुनर्संरचनाको सुविधा दिइएको बताए। उनले ऋण तिर्ने समय थपले उद्यमी व्यवसायीलाई सहयोग गर्ने बताए।
उनले अहिले नै मौद्रिक नीति खुकुलो पार्ने अवस्था नरहेको बताए। बाह्य क्षेत्रमा सुधार देखिए पनि अन्तर्राष्ट्रिय परिदृश्य सहज नदेखिएकाले पुरानो कार्यदिशालाई निरन्तरता दिइएको श्रेष्ठले बताए।
आगामी दिनमा अवस्था सहज हुँदै गए मौद्रिक नीतिको कार्यदिशा पनि खुकुलो बनाउन सहयोग पुग्ने उनले बताए।