राष्ट्र बैंकको चेतावनीविपरीत काठमाडौंमा दुबई प्रोपर्टी शो, डिएसपीको कमाण्डमा प्रहरी टोली सोल्टी होटल पुग्यो

बिजमाण्डू
२०७९ माघ ८ गते १६:३३ | Jan 22, 2023
राष्ट्र बैंकको चेतावनीविपरीत काठमाडौंमा दुबई प्रोपर्टी शो, डिएसपीको कमाण्डमा प्रहरी टोली सोल्टी होटल पुग्यो


काठमाडौं: नेपाल राष्ट्र बैंकको चेतावनीविपरीत दुबईको द म्याक नामक कम्पनीले काठमाडौंमा गैरकानूनी रूपमा ‘दुबई प्रोपर्टी शो’ आयोजना गरिरहेको पाइएपछि प्रहरीले चासो देखाएको छ।

Tata
GBIME
Nepal Life

जिल्ला प्रहरी परिसर काठमाडौंको टोली अहिले सोल्टीमोडस्थित सोल्टी होटलमा पुगेको छ। महानगरीय प्रहरी वृत कालिमाटीबाट डिएसपी अनिल घिमिरेको नेतृत्वमा टोली होटेल पुगेको एक उच्च प्रहरी अधिकृतले जानकारी दिए।

‘हामीलाई खबर आएपछि टोली बुझ्न पठाएका छौं। अनुमति नलिएको भए कारबाही प्रक्रिया अगाडी बढ्छ,’ ती प्रहरी अधिकृतले भने।

शनिबार र आइतबार काठमाडौंको सोल्टी होटलमा यो कार्यक्रम भइरहेको छ। स्रोतका अनुसार अहिले उक्त कार्यक्रम होटल सोल्टीमा निर्वाध रुपमा सञ्चालन भइरहेको छ। कार्यक्रम गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमती नलिएको देखिएको छ।

सिडि‌ओ कार्यालयले पनि चासो देखाएको छ। यस्ता कार्यक्रम गर्न राजस्व विभागबाट पनि अनुमति लिनुपर्ने हुन्छ। नेपालमा बसोबास गर्ने कुनै पनि नेपाल नागरिकले विदेशमा घरजग्गा, धितोपत्र, सम्पत्ति खरिद गर्न र विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्न पूर्ण बन्देज लगाइएको छ। पुँजीगत प्रकृतिका यस्ता कारोबारको प्रचार प्रसार समेत गर्न नपाइने कानूनी व्यवस्था छ। यसविपरीत दुबईको कम्पनीले राष्ट्र बैंकले तोकिदिएको व्यवस्थाबमोजिम बाहेक विदेश पैसा लैजान पाइँदैन।

लक्जरी अपार्टमेन्ट, टाउन हाउस र भिल्ला उक्त मेलामा ५ प्रतिशत रकम दिएर बुकिङ खोल्ने भन्दै उक्त कम्पनीले आक्रामक रूपमा तयारी गरिरहेको छ। उक्त कम्पनीले घर खरिद गर्नेलाई युएईको १० वर्षे गोल्डेन भिसादेखि बैंकिङ कर्जाको सुविधा दिने जनाएको छ। प्रोपर्टी बुकिङ मात्रै गरे दुई जनालाई ३ रात ४ दिन दुबई लैजाने उल्लेख गरेको छ।

राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेलले विदेशी विनियम (नियमित गर्ने) ऐन, २०१९ ले बञ्चित गरेका कुनै पनि गतिविधि गर्न नपाइने बिजमाण्डूसँग केही समय अघि बताएका थिए।

‘कानूनले के-के गर्न पाइन्छ र राष्ट्र बैंकबाट स्वीकृति लिएकोबाहेक अन्य केही गर्न पाइँदैन। विदेशी मुद्रा सञ्चितिलाई संरक्षण गर्न कानून विपरीतको काम राष्ट्र बैंकले रोक्छ। हामीले कुनै पनि संस्थालाई विदेशी विनियम नियमित गर्ने ऐनले रोकेका कार्यक्रम गर्न स्वीकृति दिएका छैनौं। राष्ट्र बैंकले त्यस्ता गतिविधिलाई रोक्छ,’ उनले भनेका थिए।

तर, निर्वाधरूपमा काठमाडौंमै गैरकानूनी गतिविधि हुँदा समेत राष्ट्र बैंक मौन बसेको छ। केही वर्षदेखि विभिन्न कम्पनीहरुले यस्ता प्रकारका गतिविधि गर्दै आएका छन्। तर, रोकिएको छैन।