‘राजनीति र भावनामा आधारित भएर पोखरा विमानस्थल बनाइयो,’ राजन पोखरेलको विचार

बिजमाण्डू
२०७९ पुष १९ गते १३:२९ | Jan 3, 2023
‘राजनीति र भावनामा आधारित भएर पोखरा विमानस्थल बनाइयो,’ राजन पोखरेलको विचार

काठमाडौं। राजनीतिक दबाब र स्थानीयको भावनाबाट निर्माण भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आइतबार उद्घाटन भएको छ।

Tata
GBIME

यो विमानस्थल निर्माणको बखतमा पनि विवादहरु भएका थिए। निर्माणका लागि चीनको एक्जिम बैंकबाट महँगो ऋण ल्याएर विमानस्थल बनाउन नहुने सरकारकै कर्मचारीले भनेका थिए। तर ती दबाबलाई लत्याएर एक्जिम बैंकबाट २१ अर्ब रुपैयाँ ऋण लिएर यो विमानस्थल बनाइयो।

 र, अब विमानस्थल उद्घाटन भएपछि लगानी भएको रकमको प्रतिफलका बारेमा बहस सुरु भएको छ। नेपालभित्र पूर्वाधार क्षेत्रमा हुने लगानीमा प्रतिफलको बहस भएको छैन। भावनामा आधारित रहेर ठूलठूला लगानी गर्ने प्रवृत्ति हाबी छ। यो प्रवृत्तिमा राजनीतिक दल मात्रै होइन हामी जनता पनि दोषी छौं।

किनभने कुनै आयोजना बन्दा पाउने प्रतिफलका बारेमा प्रश्न उठाउँदैनौं। सरकारको लगानी भनेर हामीले आँखा चिम्लिने गर्छौं। सरकारले गर्ने लगानी भनेको हामीबाटै लिएको पैसा हो। हामीले कपडादेखि दैनिक उपभोग्य गर्ने वस्तु किन्दा तिरेको पैसा नै त्यस्ता पूर्वाधार क्षेत्रमा प्रयोग हुन्छ।

हामीले छाक काटेर दिएको पैसाको उपयोग राम्रो क्षेत्रमा हुनुपर्छ भन्ने मान्यता नराख्दासम्म प्रतिफल दिने परियोजनामा लगानी हुँदैन। यी सबै विषय पोखरा क्षेत्रीय विमानस्थलसँग जोडिन्छ।

 खचाखच उडान हुँदैन

पोखरा विमानस्थल निर्माणका लागि खर्चिएको २१ अर्ब रुपैयाँ फिर्ता हुनसक्ने अवस्था छ त ? आर्थिक विषयमा म धेरै जान चाहन्न। तर यो विमानस्थल प्राविधिक रुपमा फिजिबल छ की छैन भन्ने विषयमा केन्द्रीत हुन चाहन्छु। विमानस्थलको प्राविधिक पक्षले समेत आर्थिक पाटो केलाउन सजिलो हुनेछ। प्राविधिकरूपमा भन्दा चीनसँग लिइएको ऋणको ब्याज होइन विमानस्थलको संचालन खर्च पनि उठाउन हम्मे देखिन्छ।

कारण सीमित सिरिजको जहाज। अन्तर्राष्ट्रिय उडानका लागि न्यारोबडी सिरिजको जहाजसम्मले यो विमानस्थलमा उडान संचालन गर्न सक्छन्। अन्तर्राष्ट्रियतर्फ सीमित सिरिजको जहाजमार्फत उडान अवतरण हुनुले पनि यहाँ खचाखच उडान अवतरण हुने अवस्था देखिँदैन। आन्तरिक उडानबाट मात्र ब्याज सर्भ गर्न सकिँदैन।

 यो विमानस्थलले संचालन खर्च मात्रै उठाए पनि ठूलो कुरा हो। अर्को भौगोलिक हिसाबले अन्तर्राष्ट्रिय उडानका लागि ल्याण्डिङ, टेक अफ, मिस अप्रोच प्रोसिड्योर नै कठिन छ। प्रत्येक वायुसेवा कम्पनीको प्रोसिड्योर नै फरक हुन्छ। यहाँ लागू हुँदै आएको प्रोसिड्योर हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्दै आएका विभिन्न मुलुकका वायुसेवा कम्पनीले पालना गरिहाल्ने सम्भावना कम छ।

नयाँ विमानस्थल संचालनमा आउनेवित्तिकै वायुसेवा कम्पनी अध्ययनविना उडान गर्न तयार हुँदैनन्। यो अध्ययनका लागि कम्तीमा ६ महिना लाग्छ। त्यसमाथि जहाजको आकार सीमित छ। ठूला सिरिजका जहाजको उडान-अवतरण नभइ अन्तर्राष्ट्रिय विमानस्थलको राम्रो आम्दानी हुन गाह्रो छ।

विमानस्थल तयार भए पनि विभिन्न मुलुकका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका न्यारोबडी सिरिजका जहाजले नियमित उडान सुरु गरिहाल्ने निश्चित छैन। सबै मुलुकका वायुसेवा कम्पनीको आ-आफ्नै उडान प्रावधान बनाइएको हुन्छ।

त्यसमाथि अन्तर्राष्ट्रिय उडानका लागि न्यारोबडी सिरिजको जहाज प्रयोग गर्ने वायुसेवा कम्पनी सीमित हुन्छन्। यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान अवतरणका लागि रुटको हिसाबले चुनौतीपूर्ण नरहे पनि भौगोलिक हिसाबका कारण न्यारोबडी जहाजबाट हुने अन्तर्राष्ट्रिय उडान सहज छैन।

यता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आम्दानी मनग्य छ। त्यही आम्दानीलाई पोखरा विमानस्थलमा सब्सिडाइज गर्नु पनि उपयुक्त हुँदैन। हामीले त्यहाँ उडान गरिरहेका र नयाँ कम्पनीलाई पोखरा विमानस्थलमा ल्याउन सकियो भने मात्रै त्यसको उपादेयता रहन्छ। यो विमानस्थल औपचारिक रुपमा संचालनमा आएसँगै पोखराका लागि अन्तर्राष्ट्रिय भन्दा पनि आन्तरिक उडान-अवतरणका लागि व्यवस्थापन गरिएको छ।

आजका दिनसम्म नेपाल भ्रमणका लागि आउने पर्यटक काठमाडौंहुँदै पोखरा गइरहेका छन्। पोखरा विदेशी पर्यटकको पनि गन्तव्य हो। तर, त्यही आधारमा विदेशी पर्यटक सिधै त्यहीँ जान्छन् भन्ने कुनै ग्यारेन्टी छैन।

अब भैरहवामा पनि बुद्धको भूमि भनेर विमानस्थल उद्घाटन गरिएको थियो। भैरहवामा नियमित उडान गर्ने दुई कम्पनीले मौसमलाई दोष देखाएर रोकिसकेका छन्। अरु कम्पनी गएका छैनन्। त्यो आधारमा नामलाई टार्गेट गरेर मात्र विमानस्थल संचालनमा आउन सक्दैन भन्ने यही विमानस्थलबाट पुष्टि भइसकेको छ।

नौलो केही छैन

पोखरा विमानस्थलमा जडान भएको उपकरणमध्ये बोर्डिङ व्रिजबाहेक अधिकांश प्रविधि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सरहको छ। दुवै विमानस्थलमा आइएलएस प्रविधि जडान गरिएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्याप्त प्रविधि भए पनि भौगोलिक संचरनाका कारण सहज अन्तर्राष्ट्रिय उडान लागि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी सहजै आउन कुराको ग्यारेन्टी छैन।

नियमितभन्दा पनि पर्यटक आउजाउका लागि चार्टर उडानको सम्भावना छ।

कसरी तिर्ने ऋण ?

थोरै संख्यामा अन्तर्राष्ट्रिय उडान भएर अर्बौं रुपैयाँको कर्जा तिर्न सकिँदैन। चीनकै इच्छा अनुसार ऋण र ठेक्का भएर विमानस्थल निर्माण भएको हो।

चीन सरकारकै इच्छाएको आधारमा ऋण, अनुदान र ठेक्का दिएर यो  विमानस्थल तयार भएको हो। चीनसँगको सम्बन्ध बलियो बनाउन भन्दै तत्कालिन सरकारको राजनीतिक दबाबमा यो विमानस्थलका लागि ऋण लिइयो। कुल २२ अर्ब रुपैयाँमध्ये ७५ प्रतिशत ऋण र २५ प्रतिशत अनुदान लिइएको थियो।

ऋण ग्यारेन्टीका लागि चीनले संचालनमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट उठेको आम्दानीबाट किस्ता तिर्न सर्त राखेको थियो। तर, तात्कालिन महानिर्देशक सञ्जीव गौतमले यो सर्त अस्वीकार गरे। ऋण रोक्ने ल्याकत भने भएन।

सरकारी कर्मचारीले ऋण लिन नहुने अड्डी कस्दा ऋणलाई अनुदानमा परिणत गर्ने आश्वासन दिँदै तत्कालिन सरकारले सम्झौता गरेको थियो। अहिले विमानस्थल बनेपछि त्यही ऋण गलपासो बन्ने देखिएको छ। (पोखरेल नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक हुन्।)