अर्घाखाँची सिमेन्टको कारोबार एक अर्बले घट्यो, अपरेटिङ प्रोफिट मार्जिन ८ % मा झर्‍यो

उन्नत सापकोटा/बिजमाण्डू
२०७९ मंसिर २९ गते १७:२२ | Dec 15, 2022
अर्घाखाँची सिमेन्टको कारोबार एक अर्बले घट्यो, अपरेटिङ प्रोफिट मार्जिन ८ % मा झर्‍यो

काठमाडौं। मन्दीका कारण विकास निर्माण सुस्त हुँदा ठूला लगानीमा स्थापित निर्माणजन्य उद्योगको कारोबारमा ठूलो गिरावट आउन थालेको छ। नेपालमा स्थापित भइसकेका सिमेन्ट र डन्डी उद्योगको ठूलो गिरावट भएकै कारण संकटउन्मुख देखिएका छन्।

Tata
GBIME
Nepal Life

सेयर बजारमा सूचीकृत शिवम् सिमेन्टको नाफा ५१ प्रतिशतले घटेको थियो। त्यस्तै अर्घाखाँची सिमेन्टको कारोबार पनि एक अर्ब रुपैयाँले घटेको छ। रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार अर्घाखाँची सिमेन्टले २०२१/२२ मा ७ अर्ब ७० करोड १० लाख रुपैयाँको कारोबार (अपरिष्कृत) गरेको छ। 

२०२० मा कम्पनीले ७ अर्ब ३७ करोड ९० लाख, २०१९ मा ९ अर्ब ८१ करोड ७० लाख र २०१८ मा ५ अर्ब ८९ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो। 

विश्वव्यापी रुपमा कोइला र इन्धनको मूल्यमा भएको वृद्धिका कारण कम्पनीको उत्पादन लागत महँगिन पुगेको थियो। यसका साथै स्थानीय बजारमा सिमेन्टको मागमा ऐतिहासिक गिरावट देखिँदा कम्पनीको आम्दानी मै धक्का पुगेको रेटिङ विवरणमा उल्लेख छ। माग घट्दा कम्पनीको अपरेटिङ प्रोफिट मार्जिन (ओपीएम) २०२२ मा ८ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष २०२१ मा यो २३ प्रतिशत थियो। यसका साथै चुनढुंगा उत्खननको लागतसमेत महँगिदा अर्घाखाँचीको व्यापारमा प्रतिकुल असर देखिएको छ। 

यस्तै, कारोबार खुम्चिएसँगै इक्राले अर्घाखाँची सिमेन्टलाई यसअघि दिएको रेटिङसमेत घटुवा गरिदिएको छ। ५ अर्ब २२ करोड ६० लाख रुपैयाँ बैंकिङ कर्जाका लागि कम्पनीले रेटिङ पाएको छ। १ अर्ब ७४ करोड ७० लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि कम्पनीको रेटिङ एल ट्रिपल प्लसबाट घटेर ए ट्रिपल बी माइनसमा झरेको छ। 

३ अर्ब ४७ करोड ९० लाख रुपैयाँ अल्पकालीन कर्जाका लागि एनपी ए थ्री प्लस रेटिङ घटेर एनपी ए थ्री पाएको छ। अर्घाखाँची सिमेन्टमा सिद्धार्थ, मुरारका र केडिया समूहको लगानी छ। सिद्धार्थ समूहको ३५ प्रतिशत, मुरारका समूहको ३० प्रतिशत र केडिया समूहको १७.५ प्रतिशत स्वामित्व अर्घाखाँची सिमेन्टमा छ। यसका साथै भारतीय कम्पनी उमा सिमेन्ट इन्टरनेसनलको १७.५ प्रतिशत हिस्सा अर्घाखाँची सिमेन्टमा छ। 

रुपन्देहीको मैनहियामा अर्घाखाँचीको प्लान्ट छ। कम्पनीले अर्घाखाँची सिमेन्टको ब्राण्डमा ओपीसी र पीपीसी सिमेन्ट बेच्छ। अर्घाखाँची सिमेन्टको जस्तै मन्दी अन्य सिमेन्ट, डन्डीसँगै निर्माण सामग्री उद्योगहरुले खेपिरहेका छन्।