चर्चामा डा तोसिमा कार्कीको जित, ‘स्वास्थ्य, शिक्षा, स्वरोजगार सुनिश्चितताको आधार बन्ने छु’

बिजमाण्डू
२०७९ मंसिर ८ गते ०९:५७ | Nov 24, 2022
चर्चामा डा तोसिमा कार्कीको जित, ‘स्वास्थ्य, शिक्षा, स्वरोजगार सुनिश्चितताको आधार बन्ने छु’

पाटन। नयाँ अनुहारको रुपमा ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा तोसिमा कार्की प्रतिनिधिसभामा प्रवेश गरेकी छन्। उनले ३१ हजार एक सय ६ मतसहित विजय प्राप्त गरेको निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए।

Tata
GBIME

उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का अमृत खड्काभन्दा १८ हजार एक सय ७३ भन्दा बढी मत प्राप्त गरी विजय भएकी हुन्। खड्काले १२ हजार नौ सय ६३ मत प्राप्त गरेका छन्। अर्का प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)की पम्फा भुसालले आठ हजार सात सय ६९ मत प्राप्त गरेकी छन्।

घण्टी चिह्नमा चुनाव लडेकी उनी पेसाले पाटन अस्पतालमा चिकित्सक (जनरल सर्जन) हुन्। पिता पदम बहादुर कार्की र माता दीपा कार्कीका छोरी डा तोसिमाको जन्म विसं २०४६ मा भएको हो।

ललितपुर महानगरपालिका-१८ नख्खुखोला मार्ग निवासी डा तोसिमाले कक्षा १० सम्मको अध्ययन स्थानीय शहीद धर्मभक्त विद्यालयमा गरेकी थिइन्। मोडर्न इन्डियन स्कुल, चोभारबाट कक्षा १२ तथा किष्ट मेडिकल कलेज, ललितपुरबाट एमबीबीएससम्मको अध्ययन पूरा गरेकी हुन्।

काठमाडौं विश्वविद्यालयबाट जनरल सर्जरीमा मास्टर्स तोसिमा नेपाल मेडिकल काउन्सिलको निर्वाचित केन्द्रीय सदस्य हुन्। सानैदेखि नेतृत्वदायी भूमिका रुचाउने उनले भूकम्पमा सिन्धुपाल्चोकको बतासे, रामेछाप, नुवाकोटको साल्मे, ललितपुरको ठूलादुर्लुङ लगायतका स्थानमा स्वास्थ्य तथा राहत शिविरको नेतृत्व गरेकी तोसिमा सामाजिक न्यायका अभियान र भ्रष्टाचारविरुद्धका आन्दोलनमा समेत सक्रिय छिन्।

निर्वाचनमा विजयी भएपछि उनले बोल्न नसक्नेको आवाज बन्ने, मौलिक हकअधिकार सुनिश्चितताको लागि लड्ने तथा शोषण, अन्याय, अत्याचार र हिंसाविरुद्ध सधैँ उभिने प्रतिक्रिया दिइन्।

उनले भने, ‘चुनावका लागि सार्वजनिक गरेको घोषणापत्र अनुसार म स्वास्थ्य शिक्षा स्वरोजगारको सुनिश्चितताको आधार बन्ने छु।’ रासस