प्रदेशमा नमिठो हारपछि प्रदीपको प्रतिनिधि सभामा डेब्यू, ईश्वर पोखरेलको विजय यात्रामा ‘ब्रेक’

बिजमाण्डू
२०७९ मंसिर ६ गते २०:५६ | Nov 22, 2022
प्रदेशमा नमिठो हारपछि प्रदीपको प्रतिनिधि सभामा डेब्यू, ईश्वर पोखरेलको विजय यात्रामा ‘ब्रेक’

Tata
GBIME

काठमाडौं। २०७४ सालमा तनहुँ २(क) बाट नेपाली कांग्रेसका उम्मेदवार थिए प्रदीप पौडेल। वाम गठबन्धनको रापमा पौडेल निकै कम मतान्तरमा पराजित भए। वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) की उम्मेदवार आशा कोइरालासँग पौडेल ५ मतले मात्र पराजित भए। कोइरालाले १६ हजार ६४६ मत ल्याउँदा पौडेलले १६ हजार ६४१ मत पाएका थिए।

पौडेलले पुनः मतगणनाको माग गरेर सर्वोच्चमा मुद्दा पनि दिए। जुन अहिले पनि विचाराधीन छ।

तर, ५ वर्षपछि प्रदीपले संघीय संसदको तल्लो सदनमा प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिमा डेब्यू गरेका छन्। त्यो पनि पटक पटकका संसदीय राजनीतिका खेलाडी समेत रहेका एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गरेर।

हेभिवेट उम्मेदवारसँग प्रतिस्पर्धामा रहेका पौडेलले सुरुमा चुनावी माहोल नै बनाउन सकिरहेका थिएनन्। तर, गठबन्धनभित्रका अन्य दल र उम्मेदवार नभई कांग्रेको चुनावी मोर्चा सम्हालीरहेका व्यक्तिको समेत दरिलो साथमा पौडेलले पोखरेललाई पराजित गरे।

स्थानीय तहमा तुलनात्मक रुपमा बलियो नजिता निकालेको एमालेलाई प्रतिनिधि सभाको नतिजा भने सुखद् भएन। यसअघि उक्त क्षेत्रबाट निर्वाचित भएर पनि पछिल्लो समय अलोकप्रिय छवि बनाएका पोखरेलमाथि पौडेलले भारी मतले जित निकाले।

पौडेलले १५ हजार २३७ मत पाउँदा पोखरेलले १० हजार १७२ मत पाए। मतान्तर ५ हजार ६५ रह्यो।

कोभिडको समयमा नियमन र नियन्त्रणको मुख्य कमान्ड सम्हाल्नेमध्येका एक पोखरेल पछिल्लो समयमा दलबाहिर र भित्र समेत अलोकप्रिय भइरहेका थिए। जसको परिणाम मतदाताले तनहुँबाट नयाँ क्षेत्र खोज्दै काठमाडौं आएका पौडेललाई सहज रुपमा नै अनुमोदन गरे।

हालै कांग्रेस महामन्त्रीमा पराजित भएका पौडेलको संसदीय राजनीतिमा डेब्यू हो। नेपाल विद्यार्थी संघको अध्यक्ष भइसकेका पौडेलको यो पटकको चुनाव भने सुखद बनेको हो। पछिल्लो समय राजनीतिमा युवाहरुको हस्तक्षेप माग नै भइरहेका बेला सदावहार राजनीतिज्ञ पोखरेलविरुद्ध कांग्रेसले प्रदीपलाई उतारेको थियो।

संसदीय राजनीतिक यात्रामा मिश्रित नतिजा निकालिरहेका पोखरेलका लागि यो पटकको चुनावी पनि विर्सनलायक भयो। २०५६ मा पहिलोपटक राष्ट्रिय सभा सदस्यमा निर्वाचित पोखरेल २०५६ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। पोखरेलले पनि ओखलढुङको स्थायी थातथलोको सट्टा काठमाडौंलाई राजनीतिक केन्द्र बनाएका थिए।

संविधान सभा सदस्य निर्वाचनमा कांग्रेसकै नरहरि आचार्यसँग दुईपटक पराजित पोखरेलले २०७४ मा भने वाम गठबन्धनको उम्मेदवारका रुपमा जित निकालेका थिए। कांग्रेसका प्रकाशसरण महतलाई पराजित गर्दै पोखरेल प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। तर, योपटक कांग्रेसकै युवा उम्मेदवार पौडलले पोखरेलको विजय यात्रामा रोक लगाएका हुन्।

काठमाडौं। मतगणना नसकिँदै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको हार निश्चित भएको छ। कूल ४५ हजार ९५८ मत खसेकोमा अहिलेसम्म ४१ हजार ६१८ मतगणना भइसकेको छ। 

अब ४ हजार ३४० मत गन्न बाँकी छ। 

तर, गणना सम्पन्न हुनुअघि नै पोखरेल र कांग्रेस उम्मेदवार प्रदीप पौडलबीचको मतान्तर ४ हजार ५९० पुगिसकेको छ। 

पौडेलले १४ हजार ५२ मत पाएका छन्। पोखरेलले ९ हजार ४६२ मत पाएका छन्। 

२०७४ सालको निर्वाचनमा कांग्रेसका प्रकाशरण महतलाई पराजित गर्दै पोखरेल विजयी भएका थिए।