नेपाल आयल निगमको मनपरी: नाफामा जाने भएपछि चुपचाप, घटेर आएको नयाँ मूल्यसूची समेत सार्वजनिक गरेन

शुक्र गिरी
२०७९ असोज २३ गते १७:४१ | Oct 9, 2022
नेपाल आयल निगमको मनपरी: नाफामा जाने भएपछि चुपचाप, घटेर आएको नयाँ मूल्यसूची समेत सार्वजनिक गरेन

काठमाडौं। नेपाल आयल निगमले भारतबाट तेल (पेट्रोलियम पदार्थ) को मूल्य घटेर आएको ९ दिन बितिसक्दा समेत नयाँ मूल्य सूची सार्वजनिक गरेको छैन। मूल्य घटेर आउँदा घटाउन दबाब पर्ने भएकाले सूची लुकाएको हो।

Tata
GBIME

यसभन्दा अघिल्लो पटक मूल्य बढेर आएको बेला निगमले रातरात डिजल र मट्टितेलको मूल्य प्रति लिटर ६/६ रुपैयाँले बढाएको थियो।

महँगीले सर्वसाधारणको ढाड सेकिरहेका बेला निगम भने आफ्नो नाफा बढाउने ध्याउन्नमा लागेको छ। त्यही भएर उसले घटेको मूल्य सूची लुकाएर मूल्य तल झार्न नखोजेको हो।

यसपालि इन्डियन आयल कर्पोरेसन (आईओसी) ले अक्टोबरमा पठाएको मूल्यमा निगमलाई पेट्रोल लिटरमा ६ रुपैयाँ ४५ पैसा र डिजल लिटरमा लगभग १२ रुपैयाँ नाफा हुनेछ। निगमका वितरण विभाग निर्देशक वीरेन्द्र गोइतले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेकाले निगम डेढ वर्षपछि मासिक डेढ अर्ब रुपैयाँ नाफामा गएको जानकारी दिएका थिए।

आइओसीले दसैं अघि पठाएको मूल्य अनुसार १५ दिनमा निगमलाई ८० करोड रुपैयाँ नाफा हुने अनुमान रहेको र निगमलाई धेरैपछि अन्तर्राष्ट्रिय मूल्यले साथ दिएको गोइतले बिजमाण्डूलाई बताएका थिए।

तर निगमले भने तेलको मूल्य घटाउने वा स्थिर राख्ने भन्ने विषयमा अहिलेसम्म निर्णय लिन सकेको छैन। निगमका एक कर्मचारीका अनुसार अन्तर्राष्ट्रिय बजारको ट्रेन्डलाई ३/४ दिन हेरेर मात्र मूल्य के गर्ने भन्ने बारेमा निगमले निर्णय गर्नेछ। अब अर्को नयाँ मूल्य सूची आउन अब लगभग ६ दिन मात्र बाँकी छ।

निगम नाफामा गएपछि मूल्य घटाउने दबाब पनि पर्न थालेको छ। सामाजिक सञ्जालमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्दा पनि निगमले नघटाएर ठूलो नाफा लिएको भन्दै आलोचना भइरहेको छ।

'निगमले अहिले अन्तर्राष्ट्रिय बजारको ट्रेन्डलाई हेरिरहेको छ,' ती कर्मचारीले भने, 'निगमभित्र पनि यस बारेमा छलफल चलिरहेको छ। तर, अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेकाले घटाएर बेच्न नसकिने पनि निगमको प्रक्षेपण छ।'

उनका अनुसार अब १६ तारिखमा आउने नयाँ मूल्य बढेर आउने पक्का भएको छ। त्यसैले यो पटक तेलको मूल्य घटाउन आलटाल गरिएको उनको भनाइ छ। 'अहिले दुई रुपैयाँ घटाएर पछि १६ तारिखमा आउने नयाँ मूल्य बढेर आएमा फेरि बढाउन जनता मान्छन् त?,' उनले भने, 'त्यसैले अहिले निगम मूल्य नघटाउने पक्षमा छ।'

निगमले आइतबार यसै बारेमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र सचिव तोयम रायासँग छलफल गर्ने जनाएको थियो। तर निगमका उच्च अधिकारी भने ओपेकले दैनिक २० लाख ब्यारल तेल उत्पादन कटौतीको घोषणा गरेपछि मूल्य उकालो लागेको भन्दै भाउ नघटाउने पक्षमा रहेकाले उक्त छलफल समेत हुन नसकेको ती कर्मचारीले बताए।

यो निगमको मासिक नाफा मात्रै हो। डेढ वर्षको अवधिमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकासिँदा निगमले ५५ अर्ब गुमाएको थियो। निगमले यो अवधिमा तेल ल्याउनका लागि ४० अर्ब ऋण बोकिरहेको छ। ४० अर्बमध्ये झण्डै २५ अर्ब आइओसीलाई र १० अर्ब रुपैयाँ सरकार र वाणिज्य बैंकबाट ऋण लिएर तेल आपूर्ति गरेको थियो।