BIZMANDU
www.bizmandu.com

एम्बाप्पे आफ्ना ‘आइडल’ रोनाल्डोसँग आमनेसामने हुँदै, कस्तो छ फ्रान्स र पोर्चुगलको प्रदर्शन?

२०८१ असार २१

एम्बाप्पे आफ्ना ‘आइडल’ रोनाल्डोसँग आमनेसामने हुँदै, कस्तो छ फ्रान्स र पोर्चुगलको प्रदर्शन?
एम्बाप्पे आफ्ना ‘आइडल’ रोनाल्डोसँग आमनेसामने हुँदै, कस्तो छ फ्रान्स र पोर्चुगलको प्रदर्शन?

क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल र किलियन एम्बाप्पेको कप्तानीमा रहेको फ्रान्स आज आमनेसामने हुँदैछन्। युरो कपको आज राति हुने दोस्रो क्वाटरफाइनल खेलमा यी दुई पूर्वच्याम्पियन टोली आमनेसामने हुन लागेका हुन्।

Tata
GBIME

जर्मनीमा जारी प्रतियोगिता अन्तर्गत यो खेल हमबर्गस्थित भोल्क्सपार्क स्टेडियममा राति पौने १ बजे सुरु हुनेछ।

समूह चरणमा पोर्चुगल समूह ‘एफ’ को विजेता बन्यो। समूहको पहिलो खेलमा चेकियालाई २-१ गोलले हराएको पोर्चुगलले दोस्रो खेलमा टर्किएमाथि ३-० गोलको सहज जित निकाल्यो। तेस्रो खेलमा जर्जियासँग अप्रत्यासित २-० गोलको हार बेहोरे पनि पोर्चुगल समूह विजेता बन्दै नकआउट चरण पुग्न सफल भयो।

नकआउट चरणमा पोर्चुगलले स्लोभानियामाथि मुस्किलले जित निकाल्यो। निर्धारित समय र अतिरिक्त समय सकिंदासम्म दुबै टोलीले गोल गर्न नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जसमा ३-० गोलको जित निकाल्दै पोर्चुगल क्वाटरफाइनल पुगेको हो।

अर्कातर्फ फ्रान्स जारी प्रतियोगितामा गोल गर्नै संघर्षरत छ। चार खेल खेलिसक्दा फ्रान्सले मात्र तीन गोल गरेको छ। जसमा दुई गोल विपक्षी टोलीबाट उपहार पाएको हो।

समूह चरणमा अस्ट्रियालाई १-० गोलले हराएको फ्रान्स दोस्रो खेलमा नेदरल्याण्ड्ससँग गोलरहित र तेस्रो खेलमा पोल्याण्डसँग १-१ गोलको बराबरीमा रोकिएको थियो।

नकआउट चरणमा भने बलियो बेल्जियमसँग फ्रान्स १-० गोलको जित निकाल्दै क्वाटरफाइनल पुग्न सफल भयो। बेल्जियम र अस्ट्रियासँगको खेल फ्रान्सले विपक्षी टोलीको आत्मघाती गोलको सहायतामा जितेको हो।

दुबै टोली गोल गर्न संघर्ष गरिरहँदा पोर्चुगिच कप्तान क्रिस्टियानो रोनाल्डोले जारी प्रतियोगितामा लय लिन सकेका छैनन्। उनले अघिल्लो खेलमा अतिरिक्त समयमा पाएको पेनाल्टीको अवसर समेत सदुपयोग गर्न सकेनन्। पछि पेनाल्टी सुटआउटमा गल्ती नदोहोर्‍याएका उनी समूह चरणका खेलमा पनि गोल गर्न असफल भएका थिए।  

प्रतियोगिताअघि उपाधिको मुख्य दाबेदारका रुपमा हेरिएको फ्रान्सको आक्रमण पनि तारिफयोग्य छैन। नाकको चोटका कारण मास्क लगाएर खेलिरहेका एम्बाप्पेले सहज नभएको बताएका छन्। खेलमा अवसर सिर्जना गर्न माहिर एन्टोनी ग्रिजमन पनि यसपालि लयमा देखिएका छैनन्।

यस्तोमा पोर्चुगलका गोलकिपर डिएगो कोस्टा फ्रान्सका लागि थप समस्या बन्न सक्छन्। अघिल्लो खेलमा स्लोभानियाका खेलाडीले प्रहार गरेका तीनवटै पेनाल्टी रोकेर उनले पोर्चुगललाई क्वाटरफाइनल पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

स्टार खेलाडीहरु मैदानमा उत्रँदै गर्दा धेरै समर्थकको नजर भने रोनाल्डो र एम्बाप्पेमा नै हुनेछ। पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेज फ्रान्स बलियो टोली भए पनि उनीहरुविरुद्ध खेल्न तयार रहेको बताउँछन्। ‘उनीहरुले समस्या बनाउन सक्छन्, तर हामी धेरै अवसर बनाउने प्रयासमा हुनेछौं,’ उनले भने।

त्यस्तै फ्रेन्च टोलीका प्रशिक्षक डिडिअर डेसचाम्प आफ्नो टोलीको स्तर राम्रो भएको बताउँछन्।

फ्रेन्च कप्तान एम्बाप्पेले रोनाल्डोको विपक्षमा खेल्नु सम्मानको विषय भएको बताएका छन्। रोनाल्डो एम्बाप्पेका ‘आइडल’ खेलाडी हुन्। उनी रोनाल्डोसँग ‘टच’ मा छन्। ‘रोनाल्डोले फुटबल इतिहासमा आफ्नो ‘मार्क’ छाडेका छन्। उनले नयाँ पुस्तालाई इन्स्पायर गरेका छन्,’ एम्बाप्पेले भने।

एम्बाप्पेसँग मोनाकोमा छँदा सँगै खेलेका पोर्चुगिच स्ट्राइकर बर्नान्डो सिल्भाले रोनाल्डो र एम्बाप्पे दुवै उत्कृष्ट खेलाडी भएको भन्दै टोलीको ध्यान सेमिफाइनलमा रहेको बताए।

‘यो खेलमा रोनाल्डो उत्कृष्ट मध्येका खेलाडी हुन्। एम्बाप्पे भर्खरै करियरको मध्यतिर छन्। यो उनीहरुको तुलनाको विषय होइन। हामी अहिले सेमिफाइनल पुग्न चाहन्छौं,’ उनले भने।

यी दुई टोली आमनेसामने भएका पछिल्ला १४ खेलमा फ्रान्सले एक पटक मात्र पराजय बेहोरेको छ।   

आजै बेलुकी पौने १० बजे क्वाटरफाइनलको पहिलो खेलमा जर्मनी र स्पेन भिड्दैछन्।

सम्बन्धित समाचार: युरो कपको क्वाटरफाइनलमा आज ‘हेभिवेट’ स्पेन र जर्मनी भिड्दै, कसको प्रदर्शन कस्तो ?