नेशनल लाइफ इन्स्योरेन्स: टप टायर कम्पनीमा नाफा आकर्षक, कम्पनीको सेयर मूल्य घट्दो

बिजमाण्डू
२०७९ भदौ २५ गते १७:३८ | Sep 10, 2022
नेशनल लाइफ इन्स्योरेन्स: टप टायर कम्पनीमा नाफा आकर्षक, कम्पनीको सेयर मूल्य घट्दो

काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (एनएलआईसीएल) नेपालको जीवन बीमा इन्डष्ट्रीको शीर्ष तीन खेलाडीहरू मध्ये एक हो। प्रिमियम कलेक्सन अनुसार इन्डष्ट्रीमा कम्पनीको मात्र १० प्रतिशत बढीको योगदान देखिन्छ।

Tata
GBIME
Nepal Life

जीवन बीमामध्ये सबैभन्दा बढी नाफा गर्ने कम्पनी पनि एनएलआईसीएल नै हो। गत आर्थिक वर्षको अन्त्यसम्म यसले ४० करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन संचालनमा रहेका १९ वटा लाइफ इन्स्योरेन्समा सर्वाधिक हो।

सो अवधिमा लाइफ इन्स्योरेन्स कम्पनीहरुले कमाएको कुल २ अर्ब ५२ करोड रुपैयाँ खुद नाफाको झन्डै १६ प्रतिशत भाग हो। इन्डष्ट्री एभरेज भन्दा तीन गुणा बढी नाफा आर्जन गरेको छ एनएलआईसीएलले।

बर्सेनि १७ प्रतिशत भन्दा बढीले बढ्ने गरेको एनएलआईसीएलको व्यवसायका बाबजुद पछिल्लो समय नाफामा भने कम्पनीको ग्रोथ त्यति सन्तोषजनक देखिदैन। कम्पनीको प्रथम बीमा शुल्क आर्जनको ट्रयाक रेकर्ड पनि बलियो नै देखिन्छ।

गत आर्थिक वर्षको अन्त्यसम्म इन्स्योरेन्स ४ अर्ब ६८ करोड रुपैयाँ प्रथम बीमा शुल्कबाट आर्जन गर्‍यो। नेपाल लाइफ पछिको सबैभन्दा बढी प्रथम बीमा शुल्क संकलन हो। यस्तै, इन्डष्ट्रीले आर्जन गरेको कुल प्रथम बीमा शुल्कको ११ प्रतिशत हिस्सा एनएलआईसीएलको छ। ९ अर्ब ६५ करोड रुपैयाँ बराबरका बीमा शुल्क कायम पोलिसी नवीकरण हुँदा उठेको हो।

हाल किस्तामा आधारित प्रिमियम संकलनले कम्पनीको कुल प्रिमियम वृद्धिमा बलियो समर्थन गरेको छ। त्यही सिंगल प्रिमियम पोलिसीको कार्यसम्पादनले उद्योगमा एनएलआईसीएलको बजार हिस्साको सुधारमा योगदान पुर्‍याएको हो।

कर्जा लगानी र अन्यबाट आर्जन गरेको आम्दानी पनि बढेको छ। तरलता संकट गहिरिँदै जाँदा बैंकहरुले निक्षेपको दर पनि बढाउने निश्चित छ। यसले इन्स्योरेन्सहरुको संस्थागत निक्षेपको ब्याजदर पनि बढ्ने अनुमान गर्न सकिन्छ। गत आर्थिक वर्षको अन्त्यसम्म ३६ अर्ब रुपैयाँ कम्पनीले दीर्घकालिन लगानीका विभिन्न स्रोतहरुमा बाँडेको छ।

आम्दानीको अनुपातमा नाफाको सुधारमा कमजोर देखिएको हो। विशेषगरी लामो ट्रयाक रेकर्ड र बलियो नेटवर्क हुँदाहुँदै पनि कम्पनीको नाफामा अपेक्षित प्रगति लगानीकर्ताले देखेनन्। स्रोत व्यवस्थापनमा कम्पनीलाई अझै पनि कठिनाइ रहेको देखिन्छ। बर्सेनि १६ प्रतिशतले बढ्ने गरेको व्यवस्थपन खर्चलाई समाधान आवश्यक छ। प्रत्येक वर्ष बढ्ने कर्मचारीको तलब भत्तालाई पनि जायज वृद्धि दिन आवश्यक हुन्छ।

तर समग्रमा हेर्दा टप टायर इन्स्योरेन्सहरुको तुलनामा भने नाफालाई आकर्षक नै मान्नु पर्ने देखिन्छ। नेपाल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेसनले सोही अवधिमा घाटा ब्योहोरेका छन्।

दुई ठूला प्रतिस्पर्धी नै कमजोर साबित हुँदा एनएलआईसीएलले इन्डष्ट्री लिड गर्न सफल भएको हो। पछिल्लो पुस्ताका इन्स्योरेन्सहरुको एग्रेसिभ व्यवसाय विस्तारले गर्दा टप टायर इन्स्योरेन्सहरु बजार हिस्सा गुमाउँदै समेत छन्। बीमा शुल्क आर्जन, नाफा र जारी पोलिसी संख्यामा पछिल्लो पुस्ता धेरै अघि बढिसकेको हो।

पछिल्लो समय बीमा शुल्क आर्जन र नाफामा एनएलआईसीएल र अन्य दुई शीर्ष रहँदै आएपनि पोलिसी बिक्रीमा पछिल्लो पुस्ताले तीन वटैलाई पछि परिसकेका छन्। केहीले पछ्याउन थालिसके। पूर्णतया बीमाको पहुँच मुलुकभर नपुगेको वर्तमानको अवस्थामा बलिया मानिएका खेलाडी पनि पछि पर्ने अवस्था नआउँला भन्न सकिन्न।

यसै दौरान पोलिसी सरेण्डरको सर्वाधिक चपेटामा पनि इन्डष्ट्री लिडरहरु नै छन्। नयाँ प्लेयरहरुको इन्ट्रीले गर्दा पनि पुरानाहरुको पोलिसी सरेण्डरको दर बढ्दो छ। एनएलआईसीएलले गत आर्थिक वर्षको ४ लाख २७ हजार नयाँ पोलिसी थप बिक्री गरेपनि ठुलो पोर्टफोलियोको ७५ सय वटा पोलिसी सरेण्डर भए। जस बापत ८५ करोड ९७ लाख रुपैयाँ बराबरको प्रिमियम इन्स्योरेन्सले गुमाएको छ।

यस कारण पनि सिंगल प्रिमियम पोलिसीमा कम्पनीले विशेष जोड दिन जरुरी देखिन्छ। किस्तामा आधारित पोलिसी सरेण्डरको सम्भावना जहिले पनि धेरै हुन्छ। यस्तै, पोलिसी बिक्रीको मुख्य च्यानलमा एनएलआईसीएल व्यक्तिगत एजेन्टहरूमा धेरै निर्भर छ। जबकी बैंकास्योरेन्स वृद्धि गर्ने सकिने व्यापारको सीमा एक्सप्लोर गर्न एनएलआईसीएलले अझै बाँकी छ।

बैंकिंग च्यानलको प्रयोग कम हुँदा पछिल्लो पाँच आर्थिक वर्षको तथ्यांक अनुसार कम्पनीले दिने अभिकर्ता कमिसन बर्सेनि २० प्रतिशतभन्दा बढी बढ्ने गरेको छ। सोही अवधिमा पोलिसी बिक्रीलाई हेर्दा मात्र १५ प्रतिशतको वार्षिक वृद्धि छ।

उद्योगमा सबैभन्दा पुरानो खेलाडी भएको र परिपक्क हुने पोलिसीहरुको भुक्तानी दर पनि औसत भन्दा उच्च रहन्छ। त्यसैगरी मृत्यु दाबी र सरेण्डरको भुक्तानी पनि अन्य खेलाडीहरुको अनुपातमा माथि नै हुने गर्छ। गत आर्थिक वर्षको अन्त्यसम्म मात्र इन्स्योरेन्सले करिब ६ अर्ब रुपैयाँ बराबरको दाबीबापत भुक्तनी दियो। पछिल्लो पाँच आर्थिक वर्षको तथ्यांक अनुसार २४ प्रतिशत बढीले बर्सेनि कम्पनीको दाबी भुक्तानी बढ्ने गरेको छ।

त्यस्तै घट्दो बजार हिस्सेदारीसँगै नयाँ क्यापिटल इन्जेक्सनले जीवन बीमामा चुनौती खडा गरेको छ। एनएलआईसीएल स्वयंलाई थप २४ प्रतिशत पुँजीको आवश्यक छ। सम्भवतः नेट वर्थमा अपेक्षित तीव्र वृद्धिका कारण आगामी केही वर्षहरूका लागि पुँजीगत प्रतिफल दबाबमा रहनेछ। जसको परिणाम हाल नेपाल लाइफले महसुस गरिरहेको छ।

८ अर्ब अधिकको चुक्ता पुँजीको स्रोत परिचालन कुशलतापूर्वक नहुँदा कम्पनीको सम्पत्तिगत रिटर्न र पुँजीगत प्रतिफल दुवै ऋणात्मक छन्। एनएलआईसीएलको पुँजीगत प्रतिफल भने ८.०९ प्रतिशत छ। जुन इण्डस्ट्री एभरेजभन्दा दुई गुणा हो। तर स्रोत परिचालनमा कठिनाइ सामना गरिरहेको एनएलआईसीएलको रिटर्न अन एसेट भने त्यति सन्तोषजनक देखिदैन।

यस्तै बर्सेनि १९.५ प्रतिशतले बढ्ने गरेको चुक्ता पुँजीको अनुपातमा मात्र साढे ६ प्रतिशत बढ्ने गरेको कम्पनीको खुद नाफाले पनि नयाँ चुनौती खडा गरिदिएको छ। चुक्ता पुँजीको अनुपातमा खुद नाफा नबढ्दा प्रति सेयर आम्दानी बर्सेनि ११ प्रतिशतका दरले खुम्चिँदो छ। सो अवधिमा कम्पनीको नेटवर्थ पनि साँघुरिने क्रममा देखिन्छ।

लगानीकर्ताहरुमाझ निकै लाकप्रिय यो बीमा कम्पनीको सेयर मूल्य भने पछिल्लो करिब डेढ वर्ष यता घट्दो देखिन्छ। जसकारण पछिल्लो करीब डेढ वर्षमा कम्पनीले आफ्नो सेयर मूल्यको करीब ६५.३४ प्रतिशत गुमाएको छ।

तर २०७७ वैशाख ३१ गतेबाट उकालो लागेको कम्पनीको सेयर मूल्य करिब १० महिना निरन्तर बढेर २२६.७६% को वृद्धि कायम गर्न सफल भएको थियो। ४७५ रुपैयाँको न्यून बिन्दुबाट बढ्ने यात्रा तयार गरेको कम्पनीको सेयर मूल्यले करीब १० महिनासम्म १३५२ रुपैयाँ सम्मको कीर्तिमान छलाङको यात्रा तय गरेको पाइएको छ ।

४७५ रुपैयाँबाट उभो लाग्न लागेको कम्पनीको सेयर मूल्य २०७६/७७ को वित्तीय विवरण सार्वजनिक गर्नुका साथै संस्थापक सेयरलाई सर्वसाधारणमा परिणत गर्ने घोषणा गरेको थियो। तर जब कम्पनीको सेयर मूल्य १४११ रुपैयाँमा पुग्यो तब नाफा बुक गरेर उम्किन खोज्ने बिक्रीकर्ताको चाप बढेको छ। दुई महिना कम्पनीको सेयर मूल्य २७.२९ प्रतिशतले घट्यो।

२०७८ साउन १४ गतेबाट भने कम्पनीको सेयर मूल्य लाभांश वितरणको घोषणा गर्नु अघि निरन्तर ४०.३७ प्रतिशतले घट्यो। ११७९ रुपैयाँबाट घट्न थालेको हाल कम्पनीको सेयर मूल्य ५४५ रहेको छ।