बन्दीपुरमा सवारीचालक लाइसेन्सको ट्रायल सेन्टर र सवारी साधन भाडामा लिन प्रस्ताव आह्‍वान

बिजमाण्डू
२०७९ भदौ १९ गते ०९:३९ | Sep 4, 2022

काठमाडौं। बन्दीपुरमा रहेको लाइसेन्सको लागि ट्रायल सेन्टर र सवारी साधान भाडामा लिन प्रस्ताव आह्वान गरिएको छ।

Tata
GBIME

यातायात व्यवस्था कार्यालय डुम्रे तनहुँले आइतबार एक सूचना जारी गर्दै सवारी चालक अनुमतिपत्र लाइसेन्स गर्ने प्रयोजनको लागि प्रयोगात्मक परीक्षा संचालन गर्न ट्रायल सेन्टर तथा सवारी साधान भाडामा लिन प्रस्ताव आह्वान गरेको हो।

उक्त सूचनामा लिखित परीक्षाको लागि परीक्षा हलको पनि आवश्यकता रहेको र त्यसको लागि पनि भाडामा लिन प्रस्ताव आह्वान गरिएको उल्लेख गरिएको छ। यसका लागि सूचना जारी भएको १५ दिनभित्र प्रस्ताव पेस गर्नुपर्ने बताइएको छ।

अहिले तनहुँको बन्दिपुर गाउँपालिकास्थित डुम्रे बजारमा रहेको यातायात व्यवस्था कार्यालयमा सवारीसाधन दर्ता हुने गरेको छ। यसअघि सवारीसाधन दर्ताको लागि पोखरामा जानुपर्ने बाध्यता थियो।

अबदेखि लाइसेन्सका लागि परीक्षा र ट्रायल लिने र पास गरेकालाई लाइसेन्स वितरण गरिने कार्यालय जनाएको छ। यातायात व्यवस्था कार्यालय काठमाडौंले अनलाइनमा फाराम खुलाएपछि कार्यालयसँग समन्वय गरी बन्दीपुरमा ट्रायल र लाइसेन्स दिने व्यवस्था मिलाइएको हो।

कार्यालयबाट लाइसेन्सको वितरण, नवीकरण, ट्रायल सेन्टर, लिखित परीक्षा तथा बिलबुक नवीकरण सेवा सुरु भएपछि तनहुँ, लमजुङ, गोरखा, मनाङका बासिन्दाले पोखरा, चितवन र काठमाडौं धाउनु पर्ने छैन।