चिनियाँ नाका खुल्ने अनिश्चित भएपछि व्यवसायीले धमाधम डाइभर्ट गर्दै सामान ल्याउन थाले

सरला सुवेदी/बिजमाण्डू
२०७९ भदौ १४ गते ०६:४८ | Aug 30, 2022
चिनियाँ नाका खुल्ने अनिश्चित भएपछि व्यवसायीले धमाधम डाइभर्ट गर्दै सामान ल्याउन थाले

काठमाडौं। कोभिडसँगै नेपाल- चीन व्यापारिक नाका अनिश्चितकालका लागि बन्द भएपछि व्यवसायीले धमाधम सामान डाइभर्ट गरेर ल्याउन थालेका छन्। 

Tata
GBIME

जाडोका लागि ल्याउन लागिएको सामान नाका बन्दसँगै रोकिएको थियो। व्यवसायीका अनुसार नाका बन्द हुँदा पाँच अर्ब रुपैयाँ बराबरको ४ सय भन्दा बढी सामान बोकेका कन्टेनर रोकिएका थिए। तातोपानी भन्सारका प्रमुख नारद गौतमले नाका नखुल्ने देखिएपछि व्यवसायीले डाइभर्ट गरेर ल्याउन थालेको जानकारी दिए। दसैंका लागि अर्डर गरेका सामान भने केही मात्रै नाकामा रोकिएको छ।

तिब्बतमाा कोभिड संक्रमण बढेको भन्दै चीनले दुबै नाका बन्द गरेको थियो। नाका बन्द भएको झण्डै एक महिना पुग्न लागिसकेको छ। तर खुल्ने कुनै संकेत छैन। नेपाल हिमालय सीमापार व्यापार संघका वरिष्ठ उपाध्यक्ष रामहरि कार्कीले नाका नखुल्ने भएपछि सामान डाइभर्ट गरेर ल्याउन थालेको जानकारी दिए।

'दुबै नाका खुल्ने संकेत देखिएन। चाडपर्वका लागि आयात गरेको सामान थन्क्याएर राखेर नोक्सानी ब्योहोर्नु पनि भएन,' उनले बिजमाण्डूसँग भने, 'त्यही भएर हामीले खर्च बढ्ने भएपनि सामान डाइभर्ट गरेर समुन्द्रिक नाका हुँदै ल्याउन थालेका हौं।'

भारतीय बाटो हुँदै पानीजहाजमा ल्याउँदा थप महँगो हुन्छ। पानीजहाजबाट सामान ल्याउन झण्डै ४० दिन लाग्छ। दसैं आउन अब ३५ दिन बाँकी छ। कार्कीका अनुसार नाकामा रोकिएका सामान धेरै जाडोको छ। 'दसैंका धेरै सामान आइसकेका छन्। दसैंका लागि दुई महिना अघिनै सामान अर्डर हुन्छ। केही व्यवसायीको मात्रै दसैंका सामान नाकामा अड्किएका छन्,' कार्कीले भने।

उनका अनुसार दसैंका लागि तयारी पोशाक र जुत्ताचप्पलको भने अभाव हुँदैन। 'अहिले सबै क्षेत्र डामाडोल छ। त्यही भएर दसैंको समयमा कारोबार उत्साहजनक हुने पनि देखिँदैन,' उनले भने, 'अहिले नेपाल भित्रिएका कपडाहरुनै प्रर्याप्त हुन्छन्।' कार्कीका अनुसार कतिपय स्वदेशी कपडाले पनि दसैंको माग धान्ने देखिएको छ। 'अहिले चीनबाट कपडा मगाएर यही सिलाएर बेच्ने पनि धेरै छन्। उनीहरुले पनि अहिलेको माग धान्न सक्छन्', उनले भने।