नेपाल बैंकको नाफा ३ अर्ब २२ करोड रुपैयाँ, वितरणयोग्य नाफामा भने ठूलो गिरावट

बिजमाण्डू
२०७९ साउन २१ गते १२:४४ | Aug 6, 2022

काठमाडौं। सरकारी सवामित्वको नेपाल बैंकको नाफा १०.२९ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको अन्त्यससम्म बैंकले ३ अर्ब २२ करोड रुपैयाँ खुद नाफा कमाएको हो। जुन पोहोर असारमा २ अर्ब ९६ करोड रुपैयाँमा सीमित थियो।

Tata
GBIME

बैंकको वितरणयोग्य मुनाफा भने उल्लेख्य घटेको छ। झन्डै ५६ प्रतिशतले बैंकको वितरणयोग्य नाफा घटेको हो। बैंकको नाफा बढेपनि ६१ करोड रुपैयाँ रेगुलेटरी रिजर्भमा छुट्याउँदा बैंकको वितरणयोग्य नाफा घटेको हो।

बैंकसँग हाल एक अर्ब ५४ करोड रुपैयाँ वितरणयोग्य नाफा छ। बैंकको व्यवसायिक विस्तार राम्रै रहे पनि आम्दानी भने संन्तोषजनक देखिदैन। गत आर्थिक वर्षको अवधिमा थप २७ प्रतिशतले बैंकको कर्जा बढेको छ। यद्यपि बैंकको खुद ब्याज आम्दानीमा ७.२३ प्रतिशतको वृद्धि मात्र देखियो।

बैंकले ६ अर्ब ८८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। बैंकको फि तथा कमिसन आम्दानी भने घटेको हो। बैंकको जोखिम पूर्ण कर्जा पनि अघिल्लो आर्थिक वर्षको जति नै देखिन्छ। ४७ करोड ८७ लाख रुपैयाँ बैंकले कर्जा जोखिम व्यवस्थपनको शीर्षकमा छुट्याएको छ। खुद नाफामा देखिएको सुधारको बाबजुद बैंकको प्रति सेयर आम्दानी भने घटेको छ।

०.७६ रुपैयाँले घट्दा प्रति सेयर आम्दानी २२.६७ रुपैयाँमा कायम  भएको छ। सो अवधिमा बैंकको चुक्ता पुँजी भने बोनस सेयरका कारण १४ प्रतिशत बढेको छ। १४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजीसहितको नेपाल बैंकसँग ३ अर्ब ५६ करोड रुपैयाँ अवितरित नाफा छ। जगेडा कोषमा १७ अर्ब ८१ करोड रुपैयाँ सञ्चित छ। बैंकको प्रति सेयर नेटवर्थ १४.७७ रुपैयाँ घटेर यस अवधिमा २४८.४२ रुपैयाँ छ।