छैन गुराँस, प्राइम र युनियन लाइफको एकिकृत कारोबारको सुरसार, अझै असोजसम्म लाग्न सक्ने

बिजमाण्डू
२०७९ साउन ८ गते १६:३७ | Jul 24, 2022
छैन गुराँस, प्राइम र युनियन लाइफको एकिकृत कारोबारको सुरसार, अझै असोजसम्म लाग्न सक्ने

काठमाडौं। झन्डै डेढ महिनाअघि मर्जर प्रक्रिया अघि बढाएका गुराँस, प्राइम र युनियन लाइफ इन्स्योरेन्सको एकिकृत कारोबार सुरु हुन अझै केही महिना लाग्ने भएको छ।

Tata
GBIME

तीन जीवन बीमा कम्पनीले गत जेठ २९ मा मर्जर सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। त्यसको झन्डै डेढ महिना बितिसकेको छ। यद्यपि, एकिकृत कारोबार सुरु भएको छैन। तीनवटै कम्पनीले असारभित्र मर्जर प्रकिया पूरा गर्ने बताएका थिए।

तीनवटै कम्पनीको अझै वित्तीय लेखापरीक्षण मूल्याङ्कन हुन बाँकी नै रहेको युनियन लाइफ इन्स्योरेन्सका सीईओ मनोजकुमार लाल कर्णले बताए।उनका अनुसार, अहिले तीनवटै कम्पनीको सम्पत्ति तथा दायित्वको मूल्यांकन (डीडीए) भइरहेकाले एकिकृत कारोबार सुरु हुन अझै समय लाग्नेछ।

निर्जीवन बीमा कम्पनीको भन्दा जीवन बीमा कम्पनीको डीडीएका लागि लामो समय लाग्ने बताइन्छ। यही कारण गुराँस, प्राइम र युनियन लाइफको मर्जरपछिको एकिकृत कारोबारका लागि अझै डेढदेखि दुई महिना लाग्ने अनुमान गरिएको छ।

यतिबेला तीनै कम्पनीको डीडीए भइरहेकाले एकिकृत कारोबारका लागि अझै केही महिना लाग्ने प्राइम लाइफका पूर्व सीइओ मनोजकुमार भट्टराईले बताए। 'मर्जर सम्झौतामा हस्ताक्षरको चार महिनाभित्र एकिकृत कारोबार गर्ने निर्णय भएको थियो,' भट्टराईले भने, 'यसैले आउँदो असोजबाट एकिकृत कारोबार थाल्ने योजना छ।'

डीडीए सम्पन्न गरेपछि मात्र स्वाप रेसियो, कम्पनीको नाम, संचालक समिति, कार्यकारी प्रमुख लगायत टुंग्याएर एकिकृत कारोबारका लागि प्रक्रिया सुरु हुने उनले बताए।

एक महिनाअघि मर्जमा गएको यी तिन कम्पनीले साउनको पहिलो सातादेखि एकिकृत कारोबार गर्ने भनेका थिए । तर प्राइम गुराँस र युनियनको भ्यालुयशन र मूल्यमा विवाद चलिरहेको एक स्रोतले बताएका छन्।

प्राइम र  गुराँस लाइफ पूरानो कम्पनी हो भने युनियन लाइफ पछिल्लो पटक संचालनमा आएको नयाँ कम्पनी हो। नयाँ र पुराना कम्पनीहरु मर्जरमा जान लागेका हुनाले भ्यालुएसन र सेयर मूल्य निर्धारणमा मतभेद चलिरहेको पनि स्रोतको भनाइ छ।

तीन कम्पनीमध्ये सबैभन्दा धेरै चुक्ता पुँजी प्राइम लाइफको छ। हाल प्राइम लाइफको चुक्ता पुँजी २ अर्ब ७७ करोड,  युनियन लाइफको २ अर्ब १५ करोड रुपैयाँ  र गुराँसको २ अर्ब ८ करोड रुपैयाँ छ। सेयर स्वाप रेसियो एकबराबर एकको अनुपातमा तय हुने हो भने मर्जपछि बन्ने नयाँ कम्पनीहरुले सात अर्ब रुपैयाँभन्दा बढी हुनेछ।

यस्तै, जगेडा कोषमा दुई अर्ब १४ करोड रुपैयाँ छ। साथै, जीवन बीमा कोषमा ४० अर्बभन्दा धेरै पुग्नेछ।

बीमा समितिले चालु आर्थिक वर्षको चैत्र मसान्तभित्र जीवन बीमा कम्पनीहरुलाई न्युनतम चुक्ता पुँजी ५ अर्ब पुर्‍याउन निर्देशन दिएको छ। सोपछि जीवन-निर्जीवन दुवै प्रकारका बीमा कम्पनीहरु धमाधम मर्जरमा जाँदै छन्।

गत आर्थिक वर्षको अन्तिम (असार मसान्त) भित्र मर्जरमा जाने कम्पनीहरुलाई समितिले पुँजीगत लाभकर, लाभांश कर र कर्मचारीहरुको अवकाश लगायतको सेवा सुविधामा कर छुट लगायत विभिन्न सुविधा दिने बताएको छ।