साढे दुई वर्षपछि एनएसीले बुझायो जहाज किन्न लिएको ऋणको किस्ता, ६० किस्तामध्ये बल्ल १८ वटा चुक्ता

बिजमाण्डू
२०७९ साउन ५ गते १७:२२ | Jul 21, 2022
साढे दुई वर्षपछि एनएसीले बुझायो जहाज किन्न लिएको ऋणको किस्ता, ६० किस्तामध्ये बल्ल १८ वटा चुक्ता

काठमाडौं। नेपाल वायुसेवा निगमले नागरिक लगानी कोष र सञ्चय कोषलाई ऋणको किस्ता बुझाएको छ। निगमले अढाई वर्षपछि जहाज खरिद गर्दा लिएको ऋणवापतको किस्तास्वरुप एक अर्ब ३५ करोड रुपैयाँ बुझाएको हो।

Tata
GBIME

'हामीले २०७६ पुसपछि किस्ता बुझाउन बुझाउन सकेका थिएनौँ। असारमा न्यारोबडी र वाइडबढी जहाज खरिद गर्दा लिएको ऋणवापत एक अर्ब ३५ करोड रुपैयाँ बुझाएका हौँ,' निगमका प्रवक्ता अर्चना खड्काले भनिन्, 'किस्ता तिर्न धेरै नै बाँकी छ। यसको हिसाब निकाल्न बाँकी नै रहेको छ।'

हालसम्म न्यारोबडी जहाजको १८औं र वाइडबडी जहाजको तेस्रो किस्ता बुझाइएको उनले जानकारी दिइन्। उनका अनुसार दुवै जहाज खरिदको ऋण जम्मा ६० किस्तामा तिर्नुपर्ने सम्झौता छ।

कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका लागि ऋण लिएकोमा सञ्चय कोषको हकमा न्यारोवडी जहाज खरिद वापतको ४५ करोड र वाइडबडी जहाज खरिद वापतको ४५ करोड रुपैयाँ गरी जम्मा ९० करोड किस्ता वापतको रकम भुक्तानी गरिएको उनले जानकारी दिइन्। यसैगरी नागरिक लगानी कोषको हकमा पनि बाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ता वापतको ४५ करोड रुपैयाँ भुक्तानी गरिएको हो।'

विगतमा विश्वव्यापी कोरोना महामारीका कारण विश्व उड्डयन बजार नै धराशायी हुँदा निगम पनि अप्ठ्यारो समयबाट गुज्रिनु परेको यथार्थका बीच व्यवसायमा आएको तत्कालीन शिथिलताले आम्दानीको स्रोतमा समेत नकारात्मक असर पर्न गएको थियो,' उनले भनिन्, 'पछिल्लो समय सीट अकुपेन्सी दरमा सुधार, उडानमा भएको सामान्यीकरण तथा नियमिततासँगै आम्दानीमा समेत तुलनात्मक बढोत्तरी भएको कारण उक्त किस्ता तिर्न सहज भएको हो।'

हाल निगमले तीनवटा ट्विनअटरमध्ये दुईवटाले आन्तरिक उडान गर्दै आएको छ। यस्तै, अन्तरराष्ट्रियतर्फको उडान एयरबसको न्यारोबडी तथा वाइडबडी गरी चार जहाजमार्फत दोहा, रियाद, क्वालालाम्पुर, बैंगलोर, मुम्बाई, दिल्ली, हङकङ, नारिता लगायत गन्तव्यहरुमा नियमित उडान गर्दै आएको छ।