सिद्धार्थ र प्रिमियर इस्योरेन्स १:१ को अनुपातमा मर्ज हुने, चुक्ता पुँजी साढे २ अर्ब पुग्ने

बिजमाण्डू
२०७९ असार २७ गते २०:१६ | Jul 11, 2022
सिद्धार्थ र प्रिमियर इस्योरेन्स १:१ को अनुपातमा मर्ज हुने, चुक्ता पुँजी साढे २ अर्ब पुग्ने

काठमाडौं। सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इस्योरेन्सले मर्जरमा जाने प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। सोमबार दुवै इन्स्योरेन्सका अध्यक्षले विशेष समारोहबीच मर्जरमा जान समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । 

Tata
GBIME

सिद्धार्थ इन्स्योरेन्सका तर्फबाट अध्यक्ष रतनलाल केडिया र प्रिमियरका तर्फबाट अध्यक्ष सुरेशलाल श्रेष्ठले मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

यी दुई कम्पनी एक बराबर एक (१:१) को अनुपातमा सेयर स्वाप हुने सहमतिका साथ मर्जरमा जान लागेको दुवै कम्पनीले जनाएका छन्।  

यस अनुपातमा गाभिँदा बन्ने एकिकृत कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ माथि पुग्नेछ। पछिल्लो तथ्यांकअनुसार सिद्धार्थ इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब २८ करोड रुपैयाँ छ भने प्रिमियर इस्योरेन्सको चुक्ता पुँजी एक अर्ब २२ करोड रुपैयाँ छ। 

यस्तै, मर्जरपछि स्थापना हुने कम्पनीको एकीकृत जगेडा कोषको आकार ६१ करोड १६ लाख रुपैयाँ हुनेछ। मर्जरपश्चात कम्पनीको बीमा शुल्क आर्जन २ अर्ब ६ करोड रुपैयाँ अधिक हुनेछ भने महाविपत्ति कोषमा १४ करोड अधिक हुने देखिन्छ। 

मर्जरपछिको सिनर्जीले कम्पनीको कुल पुँजी ५ अर्ब ३२ करोड रुपैयाँभन्दा धेरै हुने बताइएको छ।       

नियामक बीमा समितिले दिएको पुँजी वृद्धिको निर्देशन बमोजिम इन्स्योरेन्स कम्पनीहरु पुँजी वृद्धि गर्न धमाधम मर्जरमा जाँदै छन्। समितिले जीवन बीमा कम्पनीहरुलाई ५ अर्ब रुपैयाँ र निर्जीवन बीमालाई साढे २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउन निर्देशन दिएको हो।   

सो बमोजिम बीमा कम्पनीहरुले २०७९ चैत मसान्तभित्र तोकिएको  पुँजी पुर्‍याउनु पर्नेछ। स्वयं पुँजीको जोहो गर्न नसक्नेहरुले मर्जरको बाटो अपनाउन समितिले निर्देशन दिएको हो।    

हालसम्म निर्जीवन बीमा कम्पनीतर्फ हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले मर्जरमा जान नियामकको सैद्धान्तिक सहमति समेत पाइसकेका छन्। अन्य जीवन तथा निर्जीवन बीमा कम्पनीहरु पनि मर्जरको प्रक्रियामा अघि बढेका छन्।