काठमाडौं महानगरको दैनिक सफाइमा थपिए जनशक्ति, १५० जना ५ क्षेत्रमा बाँडेर परिचालन 

बिजमाण्डू
२०७९ असार २१ गते १२:०१ | Jul 5, 2022
काठमाडौं महानगरको दैनिक सफाइमा थपिए जनशक्ति, १५० जना ५ क्षेत्रमा बाँडेर परिचालन 

काठमाडौं। काठमाडौं महानगरपालिकाले सहरी सरसफाइका लागि थप १ सय ५० जनाको थप जनशक्ति परिचालन गरेको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आएका र दैनिक ज्यालादारीमा लिएर जनशक्ति थपेको हो।  

Tata
GBIME
Nepal Life

यसअघि नियमित सरसफाईमा काम गर्ने करिब ६ सय कर्मचारी परिचालन भइरहेका थिए। सहरी व्यवस्थापनमा नगर प्रहरी बल परिचालनका लागि महानगरलाई ५ क्षेत्रमा बाँडिएको छ । पूर्व क्षेत्र ६, ७, ८, ९, १०, ३१  र ३२ वडा छन्।  

पश्चिम क्षेत्र १३, १४, १५, १६, १७ वडा छन्। उत्तर क्षेत्र १, २, ३, ४, ५, २६ र ३० वडा तथा मध्य क्षेत्र ११, १२, १८, १९, २०, २१, २२, २३, २४, २५, २७, २८ र २९ वडा छन्।। यही क्षेत्रका आधारमा जनशक्ति परिचालन गरिएको छ ।

‘एउटा समूहमा २० देखि २२ जनासम्मलाई खटाइएको छ। रत्नपार्क, रानीपोखरी, कमलपोखरी तथा ट्राफिक आइल्याण्डहरुको सफाइमा छुट्टै समूह बनाइएको छ। यस्तै तत्काल परिचालन गर्न सकिने गरी १५ जना जनशक्ति राखिएको छ,’ सरसफाइ तथा अनुगमन शाखा प्रमुख नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टले भने।

यसरी खटाइएका जनशक्तिले सडक र किनारा सफाइ गर्ने, फोहोर बटुल्ने, किनाराको झार उखेल्ने, बर्खे पानी बग्ने नालीमा जम्मा भएको माटो निकाल्ने, बोटविरुवा गोडमेल र काँटछाँट गर्नेजस्ता काम गर्ने गरेका छन् ।