लालबन्दी-सलेमपुर प्रसारणलाइन निर्माणको तयारी, २० किमि विद्युत पूर्वाधारले ३८ हेक्टर ओगट्ने

बिजमाण्डू
२०७९ असार १८ गते १५:२९ | Jul 2, 2022
लालबन्दी-सलेमपुर प्रसारणलाइन निर्माणको तयारी, २० किमि विद्युत पूर्वाधारले ३८ हेक्टर ओगट्ने

काठमाडौं। विद्युत प्राधिकरणले सर्लाही जिल्लामा लालबन्दी-सलेमपुर १३२ केभी प्रसारणलाइन निर्माण गर्ने भएको छ। यो प्रसारणलाइन १९.८५ किलोमिटर लम्बाइको हुनेछ।

Tata
GBIME

यसले लालबन्दी (साबिक नेत्रगन्ज) मा सञ्चालित नवलपुर सबस्टेसनबाट सुरु भइ हरिपुर र कविलासी नगरहुँदै चक्रघट्टा गापा (साबिक औरही)को चैनपुरामा प्रस्तावित १३२/३३ केभीको सलेमपुर सबस्टेसनलाई जोड्ने विद्युत विकास विभागले जनाएको छ। 

७० वटाको संख्यामा रहने प्रसारणलाइनका टावरहरु जमिनबाट करिब ३२ मिटर उचाइको हुनेछन्। टावरहरु बीचको दुरी ३३० मिटर हुनेछ भने यसका लागि आयोजनाले ३८.७६२ हेक्टर जग्गा ओगट्ने छ। 

स्थायी टावरका लागि १.५७५ हेक्टर, सबस्टेसनका लागि ३.०४४ हेक्टर र विद्युतमार्गको क्षेत्राधिकारका लागि ३४.१४३ हेक्टर जग्गा उपयोग हुने विभागको सूचनामा उल्लेख छ।

काम थालेको ३० महिनाभित्र निर्माण पुरा हुने लक्ष्य लिएको उक्त आयोजना बन्दा कुनै प्रतिकूल असर पर्ने भए उक्त क्षेत्रका बासिन्दाले ३५ दिनभित्र लिखित प्रतिक्रिया बुझाउन सक्ने विभागको सूचनामा छ। 

१३२ किलोभोल्टको यो प्रसारणलाइन डबल सर्किट रहने र २०० मेगावाटसम्मको विद्युत प्रसार गर्न सक्ने प्राधिकरणले जनाएको छ।