सोनापुर सिमेन्टले एक वर्षमै करिब ३ अर्बको सिमेन्ट बेच्यो, प्रतिष्पर्धा बढ्दा क्षमता अझ विस्तार

बिजमाण्डू
२०७९ असार १५ गते १३:२७ | Jun 29, 2022
सोनापुर सिमेन्टले एक वर्षमै करिब ३ अर्बको सिमेन्ट बेच्यो, प्रतिष्पर्धा बढ्दा क्षमता अझ विस्तार


काठमाडौं। तायल समूहको लगानी रहेको सोनापुर मिनरल्सले २०२१ मा २ अर्ब ९२ करोड २० लाख रुपैयाँ कारोबार गरेको छ। २०२० को तुलनामा कम्पनी कारोबार २०२१ मा ९.४७ प्रतिशतले बढेको छ। 

Tata
GBIME

सोना सिमेन्ट ओपीसी, सोना श्री र सोनाटेक पीपीसी ब्राण्डको सिमेन्ट उत्पादन गर्दै आएको कम्पनीसँग दैनिक १२ सय ५० टन क्लिंकर र २३ सय टन ग्राइन्डिङको जडित क्षमता छ। 

कम्पनीले अहिले क्षमता विस्तार गरिरहेको छ। फेब्रुअरी २०२२ मा कम्पनीले ग्राइन्डिङ युनिटको क्षमता विस्तारको काम सम्पन्न गरिसकेको छ। विस्तारपछि क्लिंकर युनिटले दैनिक १६ सय ५० टन र ग्राइन्डिङ युनिट २३ सय टन पुग्ने कम्पनीले जनाएको छ। 

२०२० जुलाईमा पब्लिक कम्पनी बनेको सोनापुरले २०२० मा २ अर्ब ६६ करोड ९० लाख रुपैयाँ र २०१९ मा ३ अर्ब २२ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो। 

आव २०२२ को १० महिनामा कम्पनीले १ अर्ब ९७ करोड ७० लाख रुपैयाँको सिमेन्ट बिक्री गरेको छ। २०२१ मा कुल बिक्रीको ४० प्रतिशत हिस्सा क्लिंकर बिक्रीबाट आर्जन गरेको छ। सिमेन्ट बजारमा बढ्दो प्रतिष्पर्धाका कारण कम्पनीको कुल बिक्री २०२१ मा १६ प्रतिशतले मात्रै बढेको बताइएको छ।   

कम्पनीले उत्पादन क्षमता विस्तार गर्न २ अर्ब ५१ करोड ११ लाख रुपैयाँ खर्चिँदै छ। ८० प्रतिशत बैंकिङ कर्जा र २० प्रतिशत सेयरधनीहरुले इक्विटी लगानी गरिरहेको रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले जनाएको छ। 

कोइला, लाइमस्टोन, जिप्सम, माटो, आइरन ओर, फ्लाइ एस कम्पनीलाई आवश्यक प्रमुख कच्चा पदार्थ हुन्। २०२१ मा कुल कच्चा पदार्थ खपतको ५८ प्रतिशत हिस्सा कोइलाको छ। कोइला कम्पनीले दक्षिण अफ्रिकाबाट आयात गर्दै आएको छ।  कम्पनीको अध्यक्ष रतनलाल तयाल र प्रबन्ध निर्देशक निपेश तयाल छन्। 

७ अर्ब २८ करोड ७० लाख रुपैयाँको बैंकिङ कर्जाका लागि केयर रेटिङ्स नेपालले रेटिङ पुन: पुष्टि गरेको छ। ३ अर्ब ९३ करोड ३१ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि एनपी डबल बी प्लस र तीन अर्ब ३५ करोड ६० लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी ए फोर प्लस रेटिङ पुन: पुष्टि गरेको छ। 

कम्पनीले २ करोड कित्ता सेयर स्थानीय बासिन्दा तथा सर्वसाधारणलाई जारी गर्नेगरी एनआइबीएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको थियो। कम्पनीले प्रिमियममा सेयर जारी गर्ने तयारी छ।