नाडाको सहकार्यमा अटोमोवाइल्स व्यवसायीलाई कर र भन्सार सम्बन्धि प्रशिक्षण प्रदान

बिजमाण्डू
२०७९ जेठ २८ गते १२:२१ | Jun 11, 2022

काठमाडौं।  सवारीसाधन र पाटपुर्जा व्यवसायीले कर, भन्सार तथा भिसीटीएस सम्बन्धी तालिम लिएका छन्। लुम्बिनी र नेपालगन्ज क्षेत्रका व्यवसायीका लागि लुम्बिनी अटोमोवाइल्स एशोसिएशनले बुटवलमा गरेको आयोजनालाई नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले सघाएको हो।

Tata
GBIME
Nepal Life

व्यवसायीलाई भन्सार र करका कामहरु सधैं परिरहन्छ। त्यसका प्रक्रियाबारे जानकार बनाउन तालिम आयोजना गरिएको नाडाले जनाएको छ। कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि नाडाका अध्यक्ष ध्रुव थापाले देशभर छरिएर रहेका सदस्यहरुको समस्यासँग जुध्न र क्षमता अभिवृद्धि गर्न नाडा लागिपरेको धारणा राखे। सबै क्षेत्रका व्यवसायीको व्यवसायिक कार्यक्षमता अभिवृद्धि आवश्यक रहेको उनले बताए।

भैरहवा भन्सार प्रमुख ज्ञानेन्द्र ढकालले भन्सार क्षेत्रको विद्यमान व्यवस्था र व्यवसायीहरुले अपनाउनुपर्ने प्रक्रियाबारे बताए। भन्सार प्रशासनलाई चुस्त बनाउन पनि व्यवसायीको भूमिका महत्वपूर्ण हुने उनले बताए।

त्यसैगरी आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख मुक्ति आचार्यले राजस्व प्रशासनका विषयमा जानकारी दिए। कति व्यवसायीले जानेर वा नजानेर पनि करमा समस्या हुने गरेको बताउँदै उनले यस्ता कार्यक्रमले व्यवसायीलाई सचेत बनाउने भनाइ राखे। 

राजस्व अनुसन्धानका अधिकृत होमबहादुर पाण्डेले भीसीटीएस व्यवसायीकै हकहितको लागि भएको बताउँदै, सबैलाई यसको विषयमा जानकार हुनुपर्ने बताए। कर छल्ने प्रवृत्ति पूर्णरूपमा हट्नुपर्ने विषयमा व्यवसायीलाई सचेत गराउँदै उनले कर छलीमा राजस्व अनुसन्धानले शून्य सहनशीलताको नीति अपनाउने धारणा समेत राखे।

लुम्बिनी अटोमोवाइल्सका अध्यक्ष गणेशप्रसाद भट्टराईले नाडाको सहयोगले आफ्ना सदस्यहरुको वृत्तिविकासमा महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै आगामी दिनमा सहकार्यमा व्यवसायीहरुका लागि यस्ता अरु कार्यक्रमहरु पनि ल्याइने भनाइ राखे।  

बुटवलको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा शुक्रबार आयोजित तालिममा नाडा सदस्य र आमन्त्रित सदस्यहरुसहित १२५ जनाको सहभागिता थियो।