तेल आयात कटौतीको निर्णयसँगै बढ्यो कच्चा तेलको मूल्य, प्रति ब्यारल ११९.४२ डलर पुग्यो

बिजमाण्डू
२०७९ जेठ १७ गते १५:१७ | May 31, 2022
तेल आयात कटौतीको निर्णयसँगै बढ्यो कच्चा तेलको मूल्य, प्रति ब्यारल ११९.४२ डलर पुग्यो

काठमाडौं। युरोपेली युनियनका नेताहरुले २०२२ को अन्त्यसम्म ९० प्रतिशतले रुसी कच्चा तेल माथि प्रतिबन्ध लगाउनेसम्बन्धी सम्झौतामा सोमबार हस्ताक्षर गरेपछि तेलको मूल्य बढेको छ।

Tata
GBIME

मंगलबार एसिया आवर्सको समयमा जुलाईका लागि अमेरिकी कच्चा तेलको मूल्य ३.५३ प्रतिशतले बढ्दै प्रति ब्यारल ११९.१२ अमेरिकी डलर र ब्रेन्ट कच्चा तेलको मूल्य १.८७ प्रतिशतले बढ्दै १२३.९५ अमेरिकी डलर पुगेको बताइएको छ।  

रेफिनिटिभ डेटाका अनुसार अमेरिकी कच्चा तेलको मूल्य बढेर ११९.४२ डलर पुगेको र यो १२ साताको उच्चतम विन्दुमा पुगेको छ। त्यसैगरी अगस्टका लागि भएको कच्चा तेलको व्यापार पनि उच्च विन्दुमा भएको बताइएको छ। डब्लूटीआइ कच्चा तेलको मूल्य ३.६६ प्रतिशतले बढेर प्रतिब्यारल ११६.३४ अमेरिकी डलर पुगेको छ। ब्रेन्ट भने २ प्रतिशतले बढेर ११९.९६ प्रतिशत ब्यारल पुगेको बताइएको छ। 

रुसी कच्चा तेलको मुख्य प्रयोगक्ता हंगेरी हो। हंगेरीका नेता भिक्टर ओर्बानको सम्बन्ध रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग राम्रो रहेको बताइन्छ। 
युरोपियन परिषद्का अध्यक्ष चार्ल्स मिचेलले इयुका नेताहरुको सम्झौताले तत्कालै रुसी तेलको आयातमा ७५ प्रतिशत धक्का पुग्ने बताएका छन्।
युक्रेन माथि थालेको आक्रमण पछि इयुको पछिल्लो पछिल्लो कदम रुस माथि लगाएको छैटौं प्रकारको प्रतिबन्ध हो। मे महिनाको सुरुवातदेखिनै इयु रुसको कच्चा तेल खरिद माथि प्रतिबन्ध लगाउने विषयमा छलफल गर्दै आएको छ।

‘युरोपियन परिषद् रुसको कच्चा तेल खरिद नगर्ने विषयलाई छैटौं प्रतिबन्धको रुपमा कार्यान्वयन गर्न सहमत भएको छ। रुसबाट इयुका सदस्य राष्ट्रहरुमा डेलिभरी हुने कच्चा तेलसँगै पेट्रोलियम पदार्थ माथि प्रतिबन्ध लगाइनेछ। पाइपलाइनबाट डेलिभरी हुने कच्चा पदार्थलाई भने अस्थायी छुट दिइनेछ,’ मे ३१ युरोपेली परिषद्ले जारी गरेको वक्तव्यमा उल्लेख छ।

इयुले आयात गर्ने कुल तेलको ३६ प्रतिशत हिस्सा रुसबाट आयात हुँदै आएको छ। विश्व तेल बजारमा रुसको भूमिका महत्वपूर्ण छ।